अध्यादेशको विरोध, विस्थापित तथा भूमिहीनका समस्या र बजेटमा सीमान्तकृत निम्न वर्गको उपेक्षाजस्ता गम्भीर विषयमा बहस भइरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहको पोस्टले ध्यान अन्तैतर्फ मोड्ने प्रयास गरेको देखिन्छ ।
What you should know
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुकमा पोस्ट गरेको एउटा स्टाटसले सामाजिक सञ्जालमा बहस सुरु गरेको छ । शाहले आफ्नो आधिकारिक फेसबुक अकाउन्ट 'बालेन शाह'बाट शनिबार राति सवा १० बजे 'मलाई पनि एम्बेस्डर बन्न मन छ, पीएमको नम्बर छ भने यस्सो दिनुस् न ??' भन्दै पोस्ट गरे ।
उक्त पोस्टमा मन्त्री तथा सांसदहरुले ठट्यौली कमेन्ट गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले कमेन्टमा 'म्यासेज गर्दिम्' लेखेका छन् ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य टीका संग्रौला (ज्वाला संग्रौला)ले 'म सँग छ तर दिन्न' लेखेका छन् भने, रञ्जु दर्शनाले पनि कमेन्टमा 'पीएम पनि एम्बेस्डर पनि बन्न पाइँदैन । एउटा चुज गर्नुस् पहिला !' लेखेका छन् ।
गत बिहीबार (जेठ २१) प्रधानमन्त्रीलाई म्यासेज गरेको भन्दै सचिव कृष्णहरि पुष्करलाई प्रहरीले डाकेर सोधपुछ गरेको थियो । ‘चेन अफ कमाण्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि सिधै प्रधानमन्त्री वालेन्द्र शाहलाई म्यासेज पठाएको आरोपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई नियन्त्रणामा लिइएको थियो । यही विषयमा प्रधानमन्त्री शाहले व्यंग्य कसेका थिए ।
प्रधानमन्त्रीले राति यसरी पोस्ट गर्ने र त्यसमा जिम्मेवार व्यक्तिहरुले ठट्टामा कमेन्ट गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षबीच बहस भइरहेको छ ।
प्रधानमन्त्रीको स्टाटसमाथि जेन-जी आन्दोलनका केही अगुवाहरुले पनि टिप्पणी गरेका छन् । जेन-जी अगुवा अर्णव चौधरीले सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको टुक्का प्रवृत्तिसँग तुलना गरेर तर्क गरेका छन् । 'एकताका केपी ओली पनि उखान भन्थे, टुक्का हान्थे, कटाक्ष गर्थे, मजाक पनि गर्थे । अनि मानिसहरू वाह क्या जानेको हाँस्दै भन्थे । अनि समर्थकहरू त्यो उखान, त्यो टुक्का, त्यो कटाक्ष, त्यो मजाकको देश निर्माणको कुरा हो भनेर पुष्टि गर्न दौड धूप गर्थे,' चौधरीले फेसबुकमा लेखेका छन्, '...मजाक रमाइलो भन्ने त हुन्छ तर कहाँ कसले कति बेला भन्ने पनि होला ।'
जेन-जी अगुवा तनुजा पाण्डेले कान्तिपुरसँगको संवादमा प्रधानमन्त्रीले स्टेट अफेयर र पर्सनल अफेयर छुट्याउन नसकेको बताइन् । 'डिप्लोमेटहरू चुज गर्ने जस्तो एकदमै संवेदनशील कुराहरूमा उहाँहरूले ख्याल ठट्टा मजाक गरेर,' उनले भनिन्, 'त्यो उहाँको पर्सनल कुरा हैन, त्यो त स्टेट अफेयर्सको कुरा हो । त्यो छुट्याउन नसक्नु दु:खद् कुरा हो ।'
यो स्टाटसको आलोचना मात्रै भएको छैन, कतिपयले प्रधानमन्त्रीको पनि व्यक्तिगत जीवन हुने भन्दै तर्क गरेका छन् । अर्की जेन-जी अभियन्ता भावना राउतले प्रधानमन्त्रीको पनि व्यक्तिगत जीवन र फेसबुक चलाउने अधिकार हुने तर्क गर्दै फेसबुकमा लेखेकी छन्, 'हामीले पुराना नेताहरूको अनुहार हेर्ने बानी परेकाले युवा नेताहरूले मान्छे जस्तो व्यवहार गर्दा अनौठो मानेका हौँ । नेतृत्वको मूल्यांकन उसको निर्णय र कार्यसम्पादनबाट गरिनुपर्छ, शनिबार रातिको पोस्टबाट होइन ।'
वालेन्द्रको स्टाटस सेयर गर्दै अञ्जली सुवेदीले बचाउ गरेकी छन् । उनले लेखेकी छन्, 'प्रधानमन्त्रीले शनिबार पनि यस्तो पोस्ट गर्नु हुँदैन भन्ने सोच आफैंमा एउटा पूर्वनिर्धारित मानसिकता हो । चिल । प्रधानमन्त्रीले गर्न नहुने कुरा भनेको दुईवटा अनुहार बोकेर हिँड्नु हो, जसरी संसारका धेरै नेताहरूले गरेका छन् …खुसी रहौं । स्वतन्त्र रहौं । मानवीय बनौं । धन्यवाद ।'
यो घटनामा त सचिवले म्यासेज लेखेकै आधारमा धरपकड गर्ने विषयलाई लिएर पूर्वसचिवहरुले यसको विरोध गरेका थिए । त्यसकाबीच प्रधानमन्त्रीको स्टाटसले बहस प्रधानमन्त्रीले के लेख्न मिल्न के लेख्न नमिल्ने भन्नेतर्फ मोडिएको छ ।
यसरी कर्मचारीलाई गरिएको व्यवहारले लोकतन्त्रको मजाक उडाइएको जेन-जी अगुवा माजिद अन्सारीले कान्तिपुरलाई बताए । 'प्रहरी प्रधानमन्त्रीको मुड अनुसार चल्ने होइन, कानुन बमोजिम चल्नुपर्छ तर अहिले कर्मचारीमाथि भइरहेको व्यवहारले लोकतन्त्रकै मजाक उडाएको देखिन्छ,' उनी भन्छन्, 'गम्भीर सार्वजनिक बहसलाई मोड्नका लागि प्रहरीको दुरुपयोग र कर्मचारीको अपमान गर्ने कार्य प्रधानमन्त्रीबाट भइरहेको छ, जुन जनतालाई अलमल्याउने रणनीति मात्र हो ।'
अर्का जेन-जी अगुवा अमित ऊर्जाले प्रधानमन्त्री आफूविरुद्धका मुद्दा भुल्याउन सक्ने क्षमता रहेको व्यंग्यात्मक तर्क गरे । 'उनी सामाजिक सञ्जालका विज्ञ हुन् र एल्गोरिदम राम्ररी बुझ्छन्, त्यसैले पुरानो विवादलाई भुल्याउन उनी नयाँ र लोकप्रिय देखिने मुद्दाहरू अगाडि सारेर जनताको ध्यान तान्न जान्दछन्,' ऊर्जाले कान्तिपुरसँग भने, 'कुनै पनि विवादित मुद्दालाई जनमानसमा धेरै समयसम्म 'ह्याङओभर' हुन नदिन उनी छिटो-छिटो विषय परिवर्तन गर्ने र मुद्दालाई विषयान्तर गर्न सिपालु छन् ।'
ऊर्जाले भनेझैं जेन-जी अगुवा तनुजा पाण्डे पनि प्रधानमन्त्रीले 'क्लाउटिङ कल्चर'लाई क्यापिटलाइज गरिरहेका तर्क गर्छन् । 'उहाँको सुरुदेखि नै केही मुद्दा आयो भने र त्यो अलिकति विवादित हुने बित्तिकै त्यसलाई डाइभर्ट गर्नको लागि केही अर्को पोस्ट गरिहाल्छन्,' उनी भन्छिन्, 'हाम्रो पीएमले एकदमै मज्जाले त्यो क्लाउटिङ कल्चरलाई क्यापिटलाइज गर्न खोजिराख्नुभएको देखिन्छ ।' (क्लाउटिङ कल्चर क्लाउट चेसर शब्दबाट आएको हो । जसको अर्थ प्रसिद्धि, चर्चा वा सामाजिक प्रभाव (क्लाउट) प्राप्त गर्न अत्यधिक लालायित व्यक्तिलाई जनाउने आलोचनात्मक शब्द हो । यस्ता व्यक्तिले चर्चामा आउन, सामाजिक सञ्जालमा ध्यान खिच्न वा आफूलाई चिनाउनका लागि चर्चित व्यक्तिसँगको निकटता देखाउने, अनावश्यक विवाद सिर्जना गर्ने, वा जोखिमपूर्ण गतिविधिसमेत गर्ने गर्छन् ।)
सामाजिक सञ्जालमा प्रधानमन्त्रीले यसरी लेखेको विषयमा बहसमा आएको पहिलोपटक भने हैन् । सरकारले गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि त्यसको विरोध भएको थियो ।
प्रधानमन्त्री आफैंले सिफारिस गरेर राष्ट्रपतिबाट आह्वान भइसकेको संसद् अधिवेशनसमेत स्थगित गर्दै सरकारले अध्यादेश ल्याएको थियो । संसद् छलेर अध्यादेश ल्याएको भनेर त्यसको विरोध चलिरहेकै बेला उता प्रधानमन्त्री शाहले आफ्नो फेसबुक अकाउन्ट 'बालेन' मा ९ मे २०२५ (वैशाख २६ गते) बिहान १० बजेर २४ मिनेटमा आफ्नो तस्बिर पोस्ट गरे ।
त्यसपछि सामाजिक सञ्जालमा उनको तस्बिरकै चर्चा भयो । उनको जस्तै एआई निर्मित तस्बिरहरु सञ्जालहरु फैलिए । अध्यादेशको विषयमा बहस भइरहेको सामाजिक सञ्जाल एकाएक वालेन्द्रको तस्बिरतर्फ मोडियो ।
त्यसको अर्को हप्ता अर्थात् १६ मे २०२६ (जेठ २ गते) त्यही आईडीबाट त्यही पोसाकमा 'चिज' खान खोजेको जस्तै तस्बिर पोस्ट गरे । र क्याप्सनमा लेखे, 'से चिज, डीडीसीको चिज' । कमेन्टमा उनी आफैंले लेखे, 'डीडीसी इज नेपाल सरकारको, ब्रो सिसहरु' । यो फोटो पनि सामाजिक सञ्जालमा निकै चर्चित बन्यो । यतिसम्मको उनले फोटो राखेपछि सुपरमार्केट र उपभोक्ताहरू उत्पादन किन्न हतारिँदा भोलिपल्ट याक चिजको माग ३० प्रतिशतभन्दा बढीले बढ्यो । प्रधानमन्त्रीको यो तस्बिर सञ्जालमा चलिहरँदा 'होल्डिङ सेन्टर'मा रहेका विस्थापित सुत्केरीले पोसिलो खानेकुरा नपाएको भन्दै विरोध भएको थियो ।
त्यस्तै, बजेट भाषणको दिन पनि उनले राति ९ बजेर ५४ मिनेटमा 'ढुक्क हुनुस्' भन्दै पोस्ट राखे । 'अध्यादेशको विरोध, भूमिहीनका समस्या र बजेटका प्रश्नहरूबाट ध्यान हटाउन कहिले नयाँ 'ट्रेन्ड' ल्याउने त कहिले कर्मचारीमाथि धरपकड गरेर विषयलाई विषयान्तर गरिँदैछ,' माजिद अन्सारीले भने, 'जनताले महत्त्वपूर्ण विषयमा प्रश्न सोध्ने अवसर नै नपाओस् भन्ने किसिमले बहसलाई मोडिरहनुभएको छ ।'
यसरी प्रधानमन्त्रीको मजाकमा बहस मोडिनु चिन्ताजनक कुरो रहेको तनुजा पाण्डेले बताइन् । 'असली मुद्दा भन्दा पनि अलिकति बढी चाहिँ यो फाट्ट फुट्ट कुरामा मान्छे रमाउन थाले, यो चिन्ताजनक विषय हो,' उनले भनिन्, 'महत्त्वपूर्ण इस्युलाई अगाडि ल्याएर स्पष्टीकरण दिनुको साटो यो रोइलो गर्नु भनेकोचाहिँ उहाँलाई त्यो अटेन्सन सिकिङ नेचर पनि होला, नभए योचाहिँ एकदमै अनएक्सेप्टेबल (अस्वीकार्य) हो ।'
त्यस्तै, नेपाली कांग्रेसको युथ कंग्रेसका नेता गौरव भण्डारीले पनि समाजको बहस व्यक्तिकेन्द्रित हुन थालेको तर्क गरे । 'जब महँगी, रोजगारी, बजेट, अर्थतन्त्र र युवाको भविष्यजस्ता विषयहरू सार्वजनिक बहसबाट हराएर व्यक्तिकेन्द्रित विवाद र प्रतिक्रियाहरू केन्द्रमा आउन थाल्छन्, त्यहाँ केवल राजनीति मात्र होइन, एजेण्डा सेटिङको सुनियोजित अभ्यास पनि भइरहेको हुन सक्छ,' उनले भने, 'हामीलाई कुन विषयमा सोच्न, बहस गर्न र प्रतिक्रिया दिन बाध्य बनाइँदैछ ? कहिलेकाहीँ सबैभन्दा सफल राजनीतिक रणनीति भनेको प्रश्नको उत्तर दिनु होइन, प्रश्न नै परिवर्तन गरिदिनु हो ।'
जेन-जी अगुवा चौधरी अहिलेको सरकार र पहिलेको सरकारमा खासै भिन्नता नदेखिएको तर्क गर्छन् । ‘शक्तिको केन्द्रमा रहनेले यसरी असली मुद्दालाई दिग्भ्रमित पार्ने खेल पहिलेकाले'नि गर्दै आएका थिए अहिलेकाको पनि त्यही पछ्याइरहेको देखिन्छ,’ उनले भने, ‘कानुनी राज्यलाई अनदेखा गर्दै सञ्जालमा रमिता देखाइरहेको जस्तो लाग्छ । यसले समाधानमुखि भन्दा पनि ढाकछोप मात्र गरेको देखिँदैछ ।’
