प्रधानमन्त्रीको पोस्टले बढायो डीडीसीको व्यापार

प्रधानमन्त्री शाहको पोस्टपछि याक चिजको माग ३० प्रतिशतभन्दा बढीले बढेको डीडीसीका अधिकारीहरूको भनाइ

जेष्ठ ६, २०८३

कृष्णा प्रसाईं

Prime Minister's post boosts DDC's business

What you should know

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार दिउँसो सामाजिक सञ्‍जालमा आफ्नो फोटो पोस्ट गरे, जहाँ उनी एउटा प्लेटमा चिजका टुक्राहरू र याक चिजको प्याकेटका साथ देखिएका छन् । उनको स्टाटसको पहिलो लाइनमा ‘से चीज’ लेखिएको थियो भने अर्को लाइनमा ‘डीडीसीको चिज’ ।

भाइरल भएको प्रधानमन्त्रीको उक्त पोस्टमा चौबीस घण्टामा फेसबुक र एक्समा ४ लाख ६३ हजार लाइक, ४६ हजार कमेन्ट आएको थियो भने ४ हजारभन्दा बढी पटक सेयर भएको थियो । उक्त पोस्टमा मिश्रित प्रतिक्रिया पनि आयो । केहीले उक्त पोस्टलाई स्वदेशी ब्रान्ड प्रवर्द्धन गर्ने पहल भन्दै स्वागत गरे भने केहीले डीडीसी उत्पादनको गुणस्तरलाई लिएर आलोचना ।

तर प्रधानमन्त्री शाहको पोस्टको सबैभन्दा ठूलो प्रभाव सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा देखियो । उनले फोटो राखेपछि सुपरमार्केट र उपभोक्ताहरू उत्पादन किन्न हतारिँदा आइतबार याक चिजको माग ३० प्रतिशतभन्दा बढीले बढेको डीडीसीका अधिकारीहरू बताउँछन् । ‘माग ह्वात्तै बढ्दा व्यवस्थापन गर्न गाह्रो भइरहेको छ,’ डीडीसीका बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले भने, ‘सुपरमार्केटहरूले आपूर्ति बढाइदिन भन्दै फोन गरिरहेका छन् ।’

बिगमार्टले आइतबार नै परिमाण बढाएर डीडीसीसँग याक चिज माग गरिसकेको छ भने डीडीसीका उत्पादनका सबैभन्दा ठूलो खुद्रा विक्रेतामध्ये एक भाटभटेनीमा पनि ग्राहकको चासो बढेको छ । यो आकस्मिक आकर्षणले युवा र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ प्रधानमन्त्री शाहको निरन्तर प्रभावलाई झल्काउँछ ।

Prime Minister's post boosts DDC's business

याक चिज प्रायः पर्यटक र हिमाली समुदायहरूले मात्र उपभोग गर्थे । त्यसकारण सहरी क्षेत्रमा चिजका सीमित उपभोक्ता थिए । लामो इतिहास र निर्यात सम्भावनाका बाबजुद याक चिज नेपाली उपभोक्तामाझ लोकप्रिय हुन सकेको थिएन । याक चिज नेपालको उच्च हिमाली क्षेत्रमा पाइने चौपाया हिमाली याकको दूधबाट बनाइन्छ । ‘रिच र नटी’ स्वादका लागि परिचित याक चिज हिमाली समुदायमा प्रोटिनको महत्त्वपूर्ण स्रोतसँगै त्यहाँका किसानहरूको आम्दानीको मुख्य माध्यम रहँदै आएको छ ।

प्रधानमन्त्री शाहको पोस्टपछि याक चिजको माग ३० प्रतिशतभन्दा बढीले बढेको डीडीसीका अधिकारीहरूको भनाइ।नेपालको हिमाली क्षेत्रमा चिज बनाउने चलन दशकौं पुरानो हो । मुख्यतया चिसो उच्च हिमाली क्षेत्रमा दूध संरक्षण गर्ने एउटा तरिका पनि हो । चिजको आधुनिक व्यावसायिक उत्पादन भने सन् १९५० को दशकमा सुरु भएको हो । नेपालको पहिलो याक चिज कारखाना सन् १९५५ मा स्विस प्राविधिकको सहयोगमा लाङटाङ उपत्यकाको क्यान्जिन गोम्पामा स्थापना गरिएको थियो । सन् १९५२ मा संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले चिज उद्योगको विकासमा सहयोग गर्न स्विस दुग्ध विज्ञ वर्नर शुल्थेसलाई नेपाल पठाएका थिए ।

अहिले नेपालका ९ केन्द्रमा याक चिज उत्पादन हुन्छ । रसुवामा ६ र दोलखा, सोलुखुम्बु तथा रामेछापमा १–१ केन्द्र छन् । जिल्लाका विभिन्न स्थानमा बनेका चिज काठमाडौंको लैनचौरमा आउने र गुणस्तर हेरेर प्याकेजिङ गरी बजारमा पठाउने गरेको डीडीसीका महाप्रबन्धक शरणकुमार पाण्डेले बताए ।

डीडीसीले वार्षिक ५५ देखि ६० टन याक चिज उत्पादन गरी करिब १० करोड रुपैयाँ आम्दानी गर्दै आएको छ । चिजको उत्पादन मुख्यतया अप्रिल र अक्टोबरको बीचमा हुने गर्छ । याक चिजले ५ वर्षअघि अर्गानिक प्रमाणीकरण प्राप्त गरेपछि अन्तर्राष्ट्रिय बजारमा पनि आकर्षण थपिएको छ । अहिले १०० ग्रामको चिजको प्याकेटको मूल्य २ सय रूपैयाँ पर्छ भने २०० ग्रामको मूल्य ३९५ रुपैयाँ र ५०० ग्रामको मूल्य ९६० रुपैयाँ पर्छ । काठमाडौंमा प्रतिकिलो चिजको मूल्य १ हजार ८ सय ८० रुपैयाँ पर्छ ।

Prime Minister's post boosts DDC's business

डीडीसीका अनुसार चिज सबैभन्दा बढी नाफा दिने दुग्धजन्य वस्तुहरूमध्ये एक हो । चिजतर्फको नयाँ आकर्षण सरकारी स्वामित्वको दुग्ध कम्पनीका लागि निकै महत्त्वपूर्ण समयमा आएको छ । सन् २०२४ मा डीडीसीले दूध, बटर, धुलो दूध र घिउको माग तीव्र रूपमा घटेपछि नेपालको दुग्ध उद्योगले वर्षौयताकै सबैभन्दा खराब मन्दीको सामना गरिरहेको भन्दै चेतावनी दिएको थियो । त्यतिबेला बिक्री नभएका उत्पादनले गोदाम भरिएका थिए भने उपभोक्ताको घट्दो खर्चले बजारलाई सुस्त बनाएको थियो ।

सामाजिक सञ्चालको यो प्रवर्द्धनले कम्पनीमा सकरात्मक आशा जगाएको महाप्रबन्धक पाण्डेले बताए । कम्पनीले उत्पादनको सिजनमा दूध संकलनका लागि याक किसानलाई वार्षिक ५० करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्छ । किसानलाई प्रायः अग्रिम भुक्तानी दिने गरिन्छ ।

काठमाडौंस्थित शंखमूलमा जिरीको डीडीसी याक चिज आपूर्ति गर्ने ‘जिरी लेकाली हाट घर’ का सञ्चालक लीलाराम खड्काले धेरैजसो नेपालीले विदेशमा रहेका साथीभाइ र आफन्तलाई उपहार दिन याक चिज किन्ने गरेको बताए । ‘हामीले मासिक रूपमा २० देखि ३० किलो याक चिज बेचिरहेका छौं,’ उनले भने । दूधको मूल्यमा उल्लेख्य वृद्धि भए पनि माग उस्तै छ । विशेषगरी न्यून आय भएका मानिसहरूलाई दूध र चिज जस्ता अन्य दुग्धजन्य पदार्थ उपभोग गर्न कठिन भएको छ ।

Prime Minister's post boosts DDC's business

डीडीसीले वार्षिक ५५ देखि ६० टन याक चिज उत्पादन गरी करिब १० करोड रुपैयाँ आम्दानी गर्दै आएको छ । याक चिज उत्पादन लामो र संवेदनशील प्रक्रिया हो । काँचो दूधलाई फिल्टर गर्ने, तताउने र चिसो पार्नुअघि यसको अम्लीयपन, फ्याटको मात्रा र मिसावटको परीक्षण गरिन्छ । त्यसपछि चिजलाई उपभोगका लागि तयार हुनुअघि ४५ देखि १२० दिनसम्म प्राकृतिक रूपमा ‘एजिङ’ गरिन्छ ।

डीडीसीका अधिकारीहरूका अनुसार याकको चिजमा कुनै पनि प्रिजर्भेटिभ (संरक्षक रसायन) वा कृत्रिम शेल्फ–लाइफ बढाउने तत्त्वहरू नराख्ने हुँदा निर्यातको अवसर सीमित भएको छ ।

बढ्दो अन्तर्राष्ट्रिय चासोका बाबजुद नेपालले थोरै परिमाणमा मात्रै चिज निर्यात गरिरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा मुख्यतया अमेरिका र भारतमा १ करोड ९० लाख १० हजार रुपैयाँ बराबरको ५० टन चिज निर्यात गरेको छ । ‘चिजको माग त छ, तर ठूलो परिमाणमा निर्यात गर्न हामीसँग प्राविधिक विकास र उचित संरक्षण प्रणालीको अभाव छ,’ डीडीसीका बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले भने, ‘विश्वव्यापी रूपमा बजार विस्तार गर्न प्राविधिक हस्तक्षेप नै आवश्यक छ ।’

Prime Minister's post boosts DDC's business

निर्यातमा मात्रै नभई चिज उद्योगले स्वदेशमै पनि बढ्दो चुनौती सामना गरिरहेको छ । कमजोर पूर्वाधार, भेटेरिनरी सेवा तथा चरन क्षेत्रको अभाव र राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चरिचरनमा लगाइएको करका कारण मुलुकमा याक किसानहरूको संख्या घट्दै गएको छ । याकमा लम्पी स्किन रोगको प्रकोपका कारण पनि उत्पादन प्रभावित भएको छ । यद्यपि नेपालको चिज बजार बिस्तारै विस्तार भइरहेको छ । नेपालमा झन्डै ५० डेरी उद्योगमार्फत २८ प्रकारका चिज उत्पादन हुने गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल बताउँछन् ।

‘विशेष गरी पिज्जा जस्ता फास्ट–फुडको ट्रेन्ड र चिजकेक जस्ता डेजर्टका कारण नेपालमा चिजको खपत बर्सेनि करिब १० प्रतिशतले बढिरहेको छ,’ दाहालले भने । कुल चिजको मागको करिब ४० प्रतिशत आयातले धान्दै आएको छ । आयातित चिज मुख्यतया ठूला होटल र रेस्टुरेन्टहरूमा प्रयोग हुन्छ । बाँकी ६० प्रतिशत चिजको माग स्वदेशी उत्पादनले नै परिपूर्ति गर्दै आएको छ ।

Prime Minister's post boosts DDC's business

चिजको माग बढ्दो रहे पनि उत्पादन सीमित रहेको डीडीसीले जनाएको छ । चिजको उत्पादन वर्षमा ८/१० टन मात्रै बढाउन सकिने पाण्डेले बताए । ‘अन्य निकायसँग समन्वय गरेर याकको संख्या बढाउनेलगायतमा लबिइङ गरी वार्षिक ८/१० टन बढाउन सकिन्छ होला, ठूलो सम्भावना छैन,’ उनले भने ।

डीडीसीले याक चिजलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न ‘माउन्टेन पार्टनरसिप’ कार्यक्रमअन्तर्गत संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनसँग साझेदारी गरेको छ । यो पहलले डीडीसीलाई प्रमाणीकरणपछि आफ्नो प्याकेजिङमा विश्वव्यापी रूपमा मान्यता प्राप्त ‘माउन्टेन पार्टनरसिप’ लोगो प्रयोग गर्न अनुमति दिनेछ । अहिलेका लागि कुनै अन्तर्राष्ट्रिय अभियान नभए पनि प्रधानमन्त्रीको एउटै सामाजिक सञ्जालको पोस्टले चिजलाई वर्षौंयताकै सबैभन्दा ठूलो मार्केटिङ बुस्ट (बजार प्रवर्द्धन) गरिदिएको छ ।

अहिले १०० ग्रामको चिजको प्याकेटको मूल्य २ सय रुपैयाँ पर्छ भने २०० ग्रामको मूल्य ३९५ रुपैयाँ र ५०० ग्रामको मूल्य ९६० रुपैयाँ पर्छ । काठमाडौंमा प्रतिकिलो चिजको मूल्य १ हजार ८ सय ८० रुपैयाँ पर्छ ।नेपाल कमर्स क्याम्पस (एनसीसी) मा स्नातक तहकी विद्यार्थी २६ वर्षीया सविना बस्नेत कहिलेकाहीं मात्र चिज खान्थिन् । तर शनिबार प्रधानमन्त्रीको पोस्ट भाइरल भएपछि उनी डीडीसीको चिज नखाई बस्न सकिनन् । ‘सोमबार दिउँसो एउटा किराना पसलमा गएकी थिएँ । मैले पसलमा चिज देखें । त्यसपछि चिजबारे पीएमको भाइरल पोस्टको सम्झना दिलायो । अनि मैले एउटा सानो प्याक चिज किन्ने सोचें,’ उनले काठमाडौं पोस्टसँगको कुराकानीमा भनिन् ।

याक चिज नाफामूलक भए पनि डीडीसी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेको छ । प्रधानमन्त्री शाहले डीडीसीको प्रवर्द्धन गर्न राजनीतिक रणनीति वा केवल व्यक्तिगत सामाजिक सञ्जालको बानीका कारण उक्त पोस्ट गरेका हुन् भन्ने कुरा स्पष्ट छैन । यद्यपि उनको पार्टी रास्वपाले आफ्नो वाचापत्रमा सरकारी उद्योगहरूको प्रवर्द्धनमा चासो देखाएको छ ।

संसदीय प्रक्रियाको उपेक्षा गरेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीको उक्त पोस्ट आएको हो । गत साता राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनी संसद्मा जारी बैठकबाट बाहिरिएका थिए भने सांसदहरूका प्रश्नको जवाफ नदिने विकल्प रोजे । तर प्रधानमन्त्रीको उक्त पोस्टपछि सबैजना भने खुसी थिएनन् । कतिपयले असन्तुष्टि पोखे ।

सबै कुरामा प्रधानमन्त्रीको मौनताको आलोचना गर्दै आएका विराट गौतमले बालेनको पोस्टमा व्यंग्यात्मक टिप्पणी गरे, ‘खाने बेला त मुख खोल्नुस् ।’

अर्की प्रयोगकर्ता स्मृति तिमिल्सिनाले पनि लेखिन्, ‘बालेन शाहज्यू, लाज पनि लजायो होला । आफ्नै नीति तथा कार्यक्रममा उपस्थित नहुने, राष्ट्रपति बोल्दा बोल्दै उठेर बाहिर हिँडिदिने, सम्पूर्ण प्रतिपक्षले संसद्मा उपस्थित हुनुपर्‍यो भन्दा कानमा तेल हालेर बस्ने अनि फेसबुकमा यस्तो फोटो ? के यो नेपालीलाई गिज्याएको जस्तो भएन । या ते भाँडाकुटी खेलेको जस्तो भएन र ?’

Prime Minister's post boosts DDC's business

सामाजिक सञ्‍जाल ‘एक्स’ का प्रयोगकर्ता विश्वास पन्थीले पोस्टमा टिप्पणी गर्दै भने, ‘उत्कृष्ट प्रवर्द्धन, प्रधानमन्त्रीज्यू, तर के दुग्ध किसानहरूले फेरि महिनौंसम्म भुक्तानी ढिलाइको सामना गर्नु नपरोस् भन्नका लागि प्रशासनले ठोस कदम चालिरहेको छ ?’ पन्थीले भनेजस्तै डीडीसीले करिब ५० करोड रुपैयाँ किसानहरूलाई भुक्तानी दिन बाँकी छ । किसानको ५० करोड रुपैयाँ बक्यौता रहेको भन्दै डीडीसीका महाप्रबन्धक पाण्डेले संस्थानको आन्तरिक खर्च कटौतीमा निर्मम भएर लागेको बताए । संस्थानसँग ८०/९० करोडको बटरलगायत दुग्धजन्य वस्तु मौज्दात रहेकाले यसको बिक्रीलाई बढाउने तयारीमा रहेको उनले बताए । बजारबाट ३० करोड रुपैयाँभन्दा बढी रुपैयाँ उठाउन बाँकी रहेको भन्दै यी विविध उपायमार्फत पैसा उठाएर किसानको बक्यौता तिर्ने पाण्डेको दाबी छ ।

Prime Minister's post boosts DDC's business

यद्यपि अहिले डीडीसीका सीमित काउन्टरहरू भए पनि चिजको माग २/३ सय प्रतिशतले बढेको उनले बताए । ‘डीडीसीको काउन्टर लैनचौर र न्युरोडमा मात्रै छ, बाँकी भाटभटेनी, बिगमार्टजस्ता सुपरमार्केटमार्फत बिक्री हुने गरेको छ,’ उनले भने, ‘उपत्यका बाहिर चितवन, हेटौंडा र बुटवलमा मागका आधारमा पठाउँछौं ।’ अहिले देशभरबाट याक चिजसँगै अन्य वस्तु बिक्री वितरण गर्न दिन भन्दै माग आइरहेको पाण्डेले बताए । ‘वितरण काउन्टरहरूमा माग तीव्र रूपमा बढिरहेको छ भने बिक्री वितरण गर्न दिनै पनि माग बढिरहेको छ,’ उनले भने ।

डीडीसीले उत्पादन गरेका दूध तथा अन्य दुग्ध पदार्थहरू व्यावसायिक रूपमा बिक्री वितरण गर्न चाहनेका लागि भन्दै सम्पर्क व्यक्तिहरू नै तोकेर सूचना जारी गरिसकेको छ । दैनिक डीडीसीले ६०/७० हजार लिटर दूधमा काम गरिरहेको भन्दै आगामी असारसम्म १ लाख लिटर पुर्‍याउने लक्ष्य रहेको पाण्डेले जनाए ।

कृष्णा प्रसाईं काठमाडौं पोस्टकी संवाददाता हुन् । उनी अर्थ र वाणिज्यका विषयमा रिपोर्टिङ गर्छिन् ।

Link copied successfully