म्यासेज पठाएको भरमा बहालवाला सचिव नै पक्राउ परेको घटनाले कर्मचारी वृत्तमा तरंग ल्याएको छ ।
What you should know
काठमाडौँ — उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर (कर्ण) सचिवको पाँचवर्षे पदावधि पूरा गरेर अर्को महिना २४ असारमा अवकाशमा जाँदै छन् । उनीसहितका सचिवहरू आठ महिनाअघि मुख्य सचिव बन्ने दौडमा थिए । तर सुशीला कार्की नेतृत्वको सरकारले सुमनराज अर्याललाई रोज्यो ।
काम गर्ने हुटहुटी छँदै अवकाशमा जानुपर्ने भएको भन्दै उनले केही दिनदेखि गृहजिल्लाका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्ने कोसिस गरिरहेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरूलाई भेटाइदिन भन्दै अनुरोध गरे, सचिवालयका सदस्यहरूलाई समेत गुहारे । तर, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी पुष्करले प्रधानमन्त्री शाहलाई भेट्न पाएनन् ।
भेट्ने अवसर नपाएपछि उनले बिहीबार कार्यालय जानुअगावै आफूसँग भएको प्रधानमन्त्री शाहको नम्बरमा एउटा सन्देश पठाए ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार । नेपाल सरकारका सचिवको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ । सम्माननीयज्यू, यसरी हेर्दा मुख्य सचिव पदमा हजुरको विशेष ध्यान भए मात्रै, नत्र कुनै सम्भावना छैन हजुर । यही भएर मेरो सेवा निवृत्ति आगामी २४ असारमा सुनिश्चित छ । यसैबीच राजदूत पदका लागि विज्ञापन हेरें, हजुर । यस सम्बन्धमा हजुरको जानकारी, मार्गदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु,’ पुष्करले पठाएको सन्देशमा भनिएको छ ।
अन्तिममा उनले आफूलाई ‘आज्ञाकारी’ भन्दै स्थायी ठेगाना ‘जलेश्वर–४, सुगा, महोत्तरी’ लेखेका थिए ।
सन्देश पठाएपछि उनी लैनचौरस्थित उपराष्ट्रपति कार्यालय पुगेका थिए । सन्देशको जवाफ दिनभर आएन । बेलुकी एकै पटक घरमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट एक जना प्रहरी निरीक्षकको टोली पुग्यो ।
‘तपाईंसँग केही सोध्नु छ, कार्यालय जानुपर्ने भयो,’ सुन्नेबित्तिकै पुष्कर छक्क परे । सुरुमा त प्रहरी नै आएर लैजानुपर्ने गरी आफूले त्यस्तो के गरें भन्दै उनी चकित परे । केहीबेरमा पुष्करले थाहा पाए, टेकुस्थित प्रहरी कार्यालय पुर्याउने कारण बिहान प्रधानमन्त्री वालेन्द्र शाहलाई लेखेको म्यासेज रहेछ ।
राजनीतिक नेतृत्वको आदेशपछि प्रहरीले सचिव पुष्करलाई पक्राउ गरेर त ल्यायो, तर प्रधानमन्त्रीलाई सन्देश पठाएकै आधारमा मुद्दा चलाउन मिल्ने आधार थिएन । त्यसैले प्रहरीले बिहीबार राति अबेर श्रीमती आभा श्रेष्ठको जिम्मा लगाएको थियो । म्यासेज पठाएको भरमा बहालवाला सचिव नै पक्राउ परेको घटनाले कर्मचारी वृत्तमा तरंग ल्याएको छ ।
विगतमा प्रधानमन्त्रीहरूले मन्त्रालयको कर्मचारी प्रशासन नेतृत्व गर्ने सचिवहरूलाई कुनै समस्या परे सम्पर्क गर्नुहोला भनेर भन्ने चलन थियो । अहिलेका प्रधानमन्त्रीले त्यो कुरालाई क्रमभंग गर्न खोज्नुभएको हो भने पहिले नै प्रधानमन्त्री कार्यालयबाट आफूलाई सिधै सम्पर्क नगर्न, मुख्य सचिवमार्फत आउन भन्नुपर्थ्यो । त्यस्तो निर्देशन दिएको नसुनिएको अवस्थामा बाहिर आएको म्यासेजकै भरमा उहाँलाई त्यसरी नियन्त्रणमा लिइएको हो भने त्यो ठीक भएन : पूर्वसचिव द्वारिकानाथ ढुंगेल पूर्वसचिव द्वारिकानाथ ढुंगेलका अनुसार विगतमा प्रधानमन्त्रीहरूले मन्त्रालयको कर्मचारी प्रशासन नेतृत्व गर्ने सचिवहरूलाई कुनै समस्या परे सम्पर्क गर्नुहोला भनेर भन्ने चलन थियो ।
‘अहिलेका प्रधानमन्त्रीले त्यो कुरालाई क्रमभंग गर्न खोज्नुभएको हो भने पहिले नै प्रधानमन्त्री कार्यालयबाट आफूलाई सिधै सम्पर्क नगर्न, मुख्य सचिवमार्फत आउन भन्नुपर्थ्यो,’ ढुंगेलले कान्तिपुरसँग भने, ‘त्यस्तो निर्देशन दिएको नसुनिएको अवस्थामा बाहिर आएको म्यासेजकै भरमा उहाँलाई त्यसरी नियन्त्रणमा लिइएको हो भने त्यो ठीक भएन ।’
म्यासेजका सन्दर्भमा बोलाएर सोध्न मिल्ने ठाउँ हुँदाहुँदै प्रहरीकहाँ लैजानुका कारण आफूले बुझ्न नसकेको उनले बताए ।
केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पुष्कर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव थिए । वालेन्द्र काठमाडौं महानगरपालिकाका मेयर थिए । महानगरका प्रशासकीय अधिकृतलाई परिवर्तन गर्न सरकारले नमानेका बेला पुष्करले नयाँ अधिकृत पठाइदिन सहयोग गरेको उनीनिकट स्रोतको दाबी छ ।
‘उहाँ मन्त्रालयमा भएकै बेला प्रदीप परियारलाई त्यहाँ पठाउने निर्णय भएको थियो, त्यसबेला राजनीतिक नेतृत्वसँग समन्वय गर्ने काम उहाँले गर्नुभएको थियो,’ स्रोतले भन्यो, ‘त्यही सम्बन्धका आधारमा पनि उहाँ प्रधानमन्त्रीलाई भेटेर आफ्नो कुरा राख्न चाहनुहुन्थ्यो, नपाएपछि पहिले कुराकानी भएको नम्बरमा म्यासेज पठाउनुभएको हो ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, त्यो म्यासेज पाउनेबित्तिकै प्रधानमन्त्री शाहले सचिवालयसँग सल्लाह गरेका थिए ।
कार्यालयका एक अधिकारीको दाबीमा, पारदर्शिता र सुशासनमा फरक छवि बनाउने गरी काम गरिरहेका बेला सचिवले ‘चेन अफ कमान्ड’ मिचेर पठाएको म्यासेज पाच्य हुने खालको थिएन । ‘त्यसरी कुनै पनि साइनो जोडेर लाभ लिन खोज्ने जोकोहीलाई सन्देश पुगोस् भनेरसमेत चुपचाप नबसिएको हो,’ उनले भने ।
लगत्तै प्रधानमन्त्री कार्यालयले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सचिव पुष्करमाथि अनुसन्धान गर्न निर्देशन दियो । त्यसपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले उनलाई नियन्त्रणमा लिएर आउन टोली खटाएका थिए ।
नेपाल प्रहरीका एक उच्च अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा आफूहरूले माथिको आदेश पालना मात्र गरेको बताए । ‘उहाँ छुटिसक्नु पनि भएको छ, त्यसैले थप केही भनिराख्नुपर्छ जस्तो लागेन,’ उनले भने ।
सचिवले म्यासेज पठाएर आपराधिक काम गरेको होइन, गरेको भए बरु अनुशासन उल्लंघन होला, त्यसमा प्रहरी लगाएर कारबाही गर्ने होइन । यो विषयमा कारबाही गर्न निजामती ऐन थियो, सिधै प्रहरी प्रयोग गर्नु गलत हो : नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भने कर्मचारीले म्यासेज पठाउनुलाई ‘आपराधिक कसुर’ जसरी हेर्न नहुने बताउँछन् । ‘सचिवले म्यासेज पठाएर आपराधिक काम गरेको होइन, गरेको भए बरु अनुशासन उल्लंघन होला, त्यसमा प्रहरी लगाएर कारबाही गर्ने होइन,’ उनले कान्तिपुरसँग भने, ‘यो विषयमा कारबाही गर्न निजामती ऐन थियो, सिधै प्रहरी प्रयोग गर्नु गलत हो ।’
