आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आवमा सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि ५.५३ प्रतिशत पुगेको छ । गत आवको तुलनामा ०.६५ प्रतिशत विन्दुले सुधार आएको देखिन्छ ।
काठमाडौँ — आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि ५.५३ प्रतिशत पुग्ने अनुमान गरिएको छ, गत आवमा यो ४.८८ प्रतिशत थियो ।
कुल गार्हस्थ्य उत्पादनमा पनि सूचना तथा सञ्चार क्षेत्रको योगदान चालु आवमा झिनो प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसपालि १.९३ प्रतिशत रहने अनुमान गरिएको छ भने गत आवमा यस्तो योगदान १.९२ प्रतिशत थियो ।
कम्प्युटर प्रोग्रामिंग तथा सूचना सेवाका क्रियाकलापमा भएको बढोत्तरी, इन्टरनेट सेवा प्रदायकहरूको व्यवसाय विस्तार र ताररहित सञ्चार सेवामा आएको सकारात्मक परिवर्तनका कारण सूचना प्रविधि क्षेत्रले गति लिएको सर्वेक्षणमा उल्लेख छ ।
विगत १० वर्षको तथ्यांक हेर्दा यस क्षेत्रको वार्षिक औसत वृद्धिदर ५.२२ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा औसत योगदान २.१३ प्रतिशत रहँदै आएको देखिन्छ । डिजिटल पूर्वाधारको विकास र नागरिकको प्रविधिमा पहुँच बढेका कारण यो क्षेत्रले अर्थतन्त्रमा आफ्नो हिस्सा बिस्तारै बलियो बनाउँदै लगेको छ ।
पछिल्लो एक दशकको औसत योगदानको तुलनामा चालु आवको योगदान भने न्यून नै छ ।
