सामुदायिक विद्यालयको संख्या घट्दै, निजी बढ्दै

आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार देशभर ३५ हजार ९५१ विद्यालय छन् । जसमा २५ हजार ६२३ सामुदायिक, ८ हजार ९४१ निजी र १ हजार ३८७ वटा सामुदायिक प्रकृतिका परम्परागत/धार्मिक विद्यालय रहेका छन् ।

जेष्ठ १३, २०८३

सुदीप कैनी

Number of community schools decreasing, private schools increasing

What you should know

काठमाडौं — देशभर सामुदायिक विद्यालयको संख्या घट्दो क्रममा छ भने निजी विद्यालयको संख्या बढ्दै गएको पाइएको छ । 

आर्थिक सर्वेक्षण २०८२/०८३ का अनुसार देशभर ३५ हजार ९५१ विद्यालय रहेका छन । जसमा २५ हजार ६२३ सामुदायिक, ८ हजार ९४१ निजी र १ हजार ३८७ वटा सामुदायिक प्रकृतिका परम्परागत/धार्मिक विद्यालय रहेका छन् । शैक्षिक सत्र २०८२ मा कुल विद्यालयमध्ये सामुदायिक विद्यालय ७१.२७ प्रतिशत, संस्थागत विद्यालय २४.८७ प्रतिशत र परम्परागत/धार्मिक विद्यालय ३.८६ प्रतिशत रहेका छन् ।

२०८१ मा सामुदायिक विद्यालयको प्रतिशत ७३, निजीको २३ र धार्मिक विद्यालय ४ प्रतिशत रहेका थिए । ‘निजी विद्यलायको हिस्सा बढ्दो क्रममा रहेको छ । सामुदायिक विद्यालय समायोजन (मर्ज) भएका कारण शैक्षिक सत्र २०८१ को तुलनामा शैक्षिक सत्र २०८२ मा सामुदायिक विद्यालयको संख्या कमी आएको हो,’ बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

एक दशकदेखि सामुदायिक विद्यालयको संख्या क्रमशः घट्दो र निजीको विद्यालयको संख्या बढ्दै गएको छ । सरकारले विद्यार्थी संख्या थोरै भएका सामुदायिक विद्यालय समायोजन गर्ने नीति लिएपछि संख्या क्रमःश घट्दै गएको हो । यसले विद्यालय शिक्षामा निजीकरणलाई थप बढ्वा दिएको भन्दै सरोकारवाला तथा शिक्षाविद्ले चिन्ता व्यक्त गर्दै आएका छन् ।

सामुदायिक विद्यालयको संख्या घटे पनि प्रारम्भिक बालविकास केन्द्र (इसीडी) को संख्या भने बढेको छ । २०८१ मा देशभर ४१ हजार २८४ केन्द्र रहेकोमा २०८२ मा त्यसको संख्या वृद्धि भएर ४२ हजार ६१९ पुगेको छ । एक वर्षमै १ हजार ३३५ केन्द्र थप भएका हुन् । जसमा ८१ प्रतिशत सामुदायिक प्रकृतिका बालविकास केन्द्र छन् भने १९ प्रतिशत निजी प्रकृतिका बालविकास केन्द्र हुन् । ती बालविकास केन्द्रमा १२ लाख २० हजार ५३८ बालबालिका अध्ययनरत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

बालविकास केन्द्रको संख्या थप भएपनि विद्यार्थीको संख्या भने घट्दो छ । शैक्षिक सत्र २०८१ मा बालविकास केन्द्रमा १३ लाख १ हजार ४२८ बालबालिका भर्ना भएका थिए । इसीडीमा अध्ययन गर्ने छात्रछात्राको संख्या अघिल्लो वर्षको तुलनामा ८० हजार ८ सय ९० जनाले थोरै हो । इसीडी कक्षाको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिका साढे ७७ प्रतिशत रहेको छ ।

इसीडीको अनुभवसहित कक्षा १ मा भर्ना हुने विद्यार्थी प्रतिशत वर्षेनी बढ्दै गएको छ । ५ वर्षअघि २०७८ मा इसीडीको अनुभवसहित कक्षा १ मा भर्ना हुने विद्यार्थीको संख्या ७५ प्रतिशत थियो । ५५ प्रतिशत छात्रा र ४५ प्रतिशत छात्रा इसीडीमा भर्ना भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully