अघिल्लो आवमा २८ वटा संस्थान नाफामा र १५ वटा नोक्सानीमा थिए ।
काठमाडौं — नेपालमा अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये नाफा कमाउने संस्थान २७ वटा रहेका छन् । बाँकी १६ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेको सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले देखाएको छ ।
अघिल्लो आवमा २८ वटा संस्थान नाफामा र १५ वटा नोक्सानीमा थिए । २०८२ असार मसान्तसम्म सार्वजनिक संस्थानको कुल सम्पत्ति ९.५ प्रतिशतले वृद्धि भई ३२ खर्ब ६ अर्ब ९१ करोड पुगेको र यो कुल गार्हस्थ उत्पादनको अनुपातमा ५० प्रतिशतभन्दा बढी रहेको सर्वेक्षणमा भनिएको छ ।
‘नाफामा सञ्चालन भएका संस्थानबाट आव २०८१/८२ मा सरकारले ८ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ लाभांस प्राप्त गरेको छ,’ सर्वेक्षणमा उल्लेख छ, ‘आव २०८१/८२ मा सार्वजनिक संस्थानको खुद नाफा १२.० प्रतिशतले वृद्धि भई ४५ अर्ब ८ करोड ४९ लाख पुगेको छ । यस अवधिमा नाफामा रहेका संस्थानको खुद नाफा ४८ अर्ब ८९ करोड ६ लाख र नोक्सानमा रहेका संस्थानको खुद नोक्सन ३ अर्ब ८० करोड ५७ लाख रहेको छ ।’
नाफामा रहेका संस्थानको खुद नाफा १०.६ प्रतिशतले बढेको र नोक्सानमा रहेका संस्थानको खुद नोक्सन ४.१ प्रतिशतले घटेको उल्लेख छ ।
