उच्च शिक्षामा भर्ना हुने विद्यार्थी बढे 

शैक्षिक सत्र २०८१ मा ६ लाख ७२ हजार ४८९ विद्यार्थी उच्चशिक्षामा भर्ना भएकोमा २०८२ मा ७ लाख ४५ हजार ७७० जना भर्ना भएका छन् ।

जेष्ठ १३, २०८३

कान्तिपुर संवाददाता

Students enrolling in higher education have increased

काठमाडौं — उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या क्रमशः बढ्दै गएको छ । 

सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ०८१/२०८२ मा उच्चशिक्षामा भर्ना हुने विद्यार्थीको संख्या १०.९ प्रतिशतले वृद्धि भएको छ । शैक्षिकसत्र २०८१ मा ६ लाख ७२ हजार ४८९ विद्यार्थी उच्च शिक्षामा भर्ना भएकोमा २०८२ मा ७ लाख ४५ हजार ७७० भर्ना भएका हुन् ।

उच्चशिक्षामा भर्ना भएकामध्ये साढे ५० प्रतिशत विद्यार्थीले व्यवस्थापन संकायअर्न्तगतका विषय रोज्ने गरेको पाइएको छ । प्राविधिक धारतर्फ मेडिकल, चिकित्सा, विज्ञान तथा प्रविधि, कृषि लगायत प्राविधिक धारमा २० प्रतिशत र व्यवस्थापन, शिक्षा, मानविकीलगायत साधारण धारतर्फ ८० प्रतिशत विद्यार्थी भर्ना हुने गरेका छन् । सरकारले प्राविधिक धारतर्फको शिक्षामा जोड दिए पनि त्यसतर्फ विद्यार्थीको आर्कषण भने बढ्न सकेको छैन ।

आर्थिक सर्वेक्षणअनुसार उच्च शिक्षाका लागि देशभर २१ विश्वविद्यालय र ८ स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् । पछिल्ला वर्षमा ६ प्रादेशिक विश्वविद्यालय र २ प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठान थप भएका छन् । १५ केन्द्रीय र ६ प्रादेशिक गरी २१ विश्वविद्यालय र संघका ६ वटा तथा २ प्रादेशिक गरी ८ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएका छन् ।

विश्वविद्यालय र प्रतिष्ठानको संख्या थपिँदै गएपछि ७५.३ प्रतिशत विद्यार्थी भने त्रिभुवन विश्वविद्यालयमा नै अध्ययरत रहेको देखिन्छ । त्रिविमा विद्यार्थीभार क्रमशः कम हुँदै गएको देखिए पनि काठमाडौं बाहिर विश्वविद्यालय प्रतिष्ठानको संख्या थपिँदै गर्दा अपेक्षाअनुसार विद्यार्थीको आर्कषण बढ्न नसकेको प्राध्यापकहरू बताउँछन् ।

आर्थिक सर्वेक्षण ०८२/८३

कान्तिपुर

Link copied successfully