राजस्वले सार्वजनिक दायित्व भुक्तानी गर्न पनि नपुग्ने भएपछि सरकारले आफ्नो आम्दानीको स्रोतका रूपमा धेरै ऋण लिनुपर्ने अवस्था आएको छ ।
काठमाडौँ — हाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही संख्या ३६ लाख ४१ हजार पुगको छ । बुधबार सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्यांकअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकमध्ये ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक ४६.१४ प्रतिशत रहेको छ ।
यसरी करिब आधा हाराहारीमा ज्येष्ठ नागरिक रहनुको अर्थ नेपालमा आश्रित जनसंख्या बढ्दो क्रममा रहेको र आर्थिक रूपमा सक्षम जनसंख्या घट्दै गएको देखिन्छ ।
अहिले सरकारी ढुकुटी घाटामा रहेकाले सरकारले केही काम नगरेर सुतेर बस्दा पनि ऋण लिनुपर्ने बाध्यता रहेको अर्थमन्त्री स्वर्णिम वाग्ले बताए । 'अहिले सरकारको अनिवार्य सार्वजनिक दायित्व १३ खर्ब ३० अर्ब छ भने ११ खर्ब ८० अर्ब मात्र राजस्व उठेको थियो । यसकारण सरकारले अनिवार्य दायित्व पूरा गर्न पनि ऋण लिनुपर्ने बाध्यता छ,' अर्थमन्त्री वाग्लेले भने । राजस्वले सार्वजनिक दायित्व भुक्तानी गर्न पनि नपुग्ने भएपछि सरकारले आफ्नो आम्दानीको स्रोतका रूपमा धेरै ऋण लिनुपर्ने अवस्था आएको छ ।
'अहिले सार्वजनिक ऋण धेरै नलिन र लिएको ऋण पनि उत्पादनमूलक क्षेत्रमा खर्च गर भन्ने सुझाव दिनुभएको भएको छ, जुन मनासिब छ तर ऋण नै नलिऔँ भन्नुभयो भने सबै ठप्प हुने अवस्था छ,' अर्थमन्त्री वाग्लेले भने ।
