साउदी आरम्कोमा कार्यरत नेपाली भन्छन्, ‘गर्मीले शरीर ढल्छ’

फेयर स्क्वायरको प्रतिवेदनले भनेको छ, ‘विदेशी श्रमिकलाई अत्यधिक गर्मीमा लामो समयसम्म काम गराइने, असुरक्षित आवासस्थलमा राखिने, पर्याप्त आराम र खाना नदिइने, दुर्घटना वा मृत्यु हुँदा समेत उचित क्षतिपूर्ति नपाइने अवस्था छ ।’   

जेष्ठ १०, २०८३

होम कार्की

Nepali workers working at Saudi Aramco say, 'The heat makes their bodies melt'

What you should know

काठमाडौं — साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरम्कोको परियोजनामा काम गर्ने नेपालीसहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एक अन्तराष्ट्रिय अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

आप्रवासी श्रमिकको मानव अधिकारसम्बन्धी अनुसन्धान गर्ने लण्डनस्थित संस्था फेयर स्क्वायरद्वारा हालै सार्वजनिक प्रतिवेदनअनुसार साउदी आरम्को परियोजनामा कार्यरत नेपालीसहित विदेशी श्रमिकलाई अत्यधिक गर्मीमा लामो समयसम्म काम गराइने, असुरक्षित आवासस्थलमा राखिने, पर्याप्त आराम र खाना नदिने, दुर्घटना वा मृत्यु हुँदा समेत उचित क्षतिपूर्ति नपाइने अवस्था छ ।

आम्दानीका आधारमा यो विश्वकै चौथो ठूलो कम्पनीमध्ये पर्छ । कम्पनीसँग विश्वकै दोस्रो ठूलो प्रमाणित कच्चा तेल भण्डार छ र अहिले पनि विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता मानिन्छ । आरम्कोमा साउदी सरकार र सार्वजनिक लगानी कोषको करिब ९८ प्रतिशत स्वामित्व छ । आरम्कोले तेल बिक्रीबाट कमाउने आम्दानी साउदी सरकारको कुल राजस्वको करिब २ तिहाइ हिस्सा मानिन्छ ।

'द वाल स्ट्रिट जर्नल'का अनुसार अराम्कोसँग साउदीभित्र मात्रै १० हजारभन्दा बढी आपूर्तिकर्ता कम्पनी छन् । ती कम्पनीअन्तर्गत विभिन्न उपठेकेदारमार्फत श्रमिक भर्ना गरिन्छ । यही जटिल संरचनाका कारण श्रमिकमाथि हुने शोषणमा जिम्मेवारी निर्धारण गर्न कठिन हुने गरेको प्रतिवेदनले जनाएको छ । यी परियोजनामा साउदीको निर्माण क्षेत्रमा कार्यरत नेपाली श्रमिकको करिब २० प्रतिशत  कार्यरत छन् ।

अराम्कोका विभिन्न परियोजनामा काम गर्ने श्रमिकहरूले ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा दैनिक १२ देखि १४ घण्टासम्म काम गर्नुपरेको बताएका छन् । धेरै श्रमिक गर्मीका कारण कार्यस्थलमै बेहोस हुने प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ मा साउदी पुगेका २७ वर्षीय कमलले (नाम परिवर्तन) होटलमा काम पाइने भन्दै गएको बताए । त्यसका लागि उनले एक लाख ५० हजार रुपैयाँ खर्च गरेका थिए । तर, साउदी पुगेपछि उनलाई अराम्कोको ग्यास प्लान्टसँग सम्बन्धित निर्माण परियोजनामा खटाइयो । ‘हामीले विदेश गएपछि राम्रो काम पाइन्छ भन्ने सोचेका थियौं । तर, त्यहाँ पुग्दा वास्तविकता अर्कै रहेछ । पुगेलगत्तै राहदानी जफत गरियो । चर्को घाममा दैनिक १२ घण्टासम्म काम गर्न बाध्य बनाइयो,’ उनले भने, ‘हामीसँग काम गर्ने धेरै साथी गर्मीका कारण कार्यस्थलमै ढलेको देखेँ । मलाई गर्मीमा बाहिर काम गर्न निकै कठिन भयो । १० महिना काम गरेपछि साउदी छाडे ।’

वर्षको दुई महिना ५० डिग्रीभन्दा बढी तापक्रम Nepali workers working at Saudi Aramco say, 'The heat makes their bodies melt'

प्रतिवेदनमा अराम्कोको २१ अर्ब अमेरिकी डलर लागतको ‘मार्जन इन्क्रिमेन्ट’ परियोजनामा काम गरेका श्रमिकका अनुसार यहाँ जुन र जुलाई महिनामा तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गर्छ । पानीको कमी र अत्यधिक गर्मीका कारण धेरै श्रमिक बेहोस हुने गरेका छन् । ‘धेरै जना गर्मीले ढल्थे । शरीरका अंगले काम गर्न सक्दैनथ्यो,' उनले भने ।

जिजानस्थित परियोजनामा काम गरेका अर्का नेपाली श्रमिकका अनुसार एक नेपाली साथी हिड्दा हिड्दै बेहोस भएर ढले । ‘गाडी आयो, पानी छर्कियो र उनलाई एयर कन्डिसन भएको कोठामा लगियो । कोही बेहोस् भए उनीहरूलाई कोठामा एक्लै छाडिन्छ,' उनले भने,‘त्यहाँ जे पनि हुन सक्छ ।’

उनका अनुसार तापक्रम ५० डिग्रीभन्दा माथि पुगे मात्रै काम रोकिन्छ । त्यसबाहेक श्रमिकलाई छायाँमा बसेर भए पनि काम गर्न लगाइन्छ । गोरखाका ४० वर्षीय प्रसाद (नाम परिवर्तन) ले दमामस्थित ग्यास प्लान्टसँग सम्बन्धित पाइपलाइन परियोजनामा १३ वर्ष काम गरेका थिए । उनका अनुसार सुरक्षा अधिकारीहरूले आराम गर्न भने पनि फोरम्यानहरूले लगातार काम गर्न दबाब दिने गर्थे । सुरक्षा अधिकारीहरूले १ घण्टा काम गरेपछि १५ मिनेट आराम गर्न भने पनि व्यवहारमा त्यो सम्भव नभएको उनले बताए ।

‘सेफ्टीका मान्छेले लगातार काम नगर, एक घण्टा काम गरेर १५ मिनेट आराम गर’ भन्थे । तर, फोरम्यानले जबर्जस्ती काम लगाउँथे । त्यसैले निरन्तर काम गर्नुपर्थ्यो,’ उनले भने, ‘लामो समय चर्को गर्मीमा काम गरेपछि स्वास्थ्य बिग्रियो । मलाई मिर्गौला रोग लागिसकेछ ।’

यति गम्भीर अवस्थामा पनि उनको रोजगारदाताले फर्किएपछि एकपटक पनि सम्पर्क गरेन । क्षतिपूर्तिको विषयमा कुनै छलफलसमेत भएन । ‘त्यतिबेला मेरो स्वास्थ्य यति खराब थियो कि पहिले ज्यान जोगाउनुपर्छ भन्ने लाग्यो । क्षतिपूर्तिको कुरापछि सोचौंला भन्ने भयो,’ उनले भने, ‘अराम्को साउदीकै सबैभन्दा धनी कम्पनी हो । हामीजस्ता श्रमिकले काम गरेर नै त्यो धनी भएको हो । तर, आज म बिरामी हुँदा उसले केही गरेन ।’

सिराहाका विशाल (नाम परिवर्तन) अराम्कोसँग सम्बन्धित इन्धन ढुवानी कम्पनीमा चालक थिए । उनका अनुसार दैनिक १८–१९ घण्टासम्म ट्यांकर चलाउनु सामान्यजस्तै थियो । उनका अनुसार चालकहरूको अवस्था र सुरक्षाप्रति कम्पनीको कुनै चासो थिएन ।

‘हामीले खाना खायौं कि खाएनौं, ट्राफिकमा फस्यौं कि फसेनौं, कसैलाई मतलब हुँदैनथ्यो । कसैले वास्ता गर्दैनथे,’ उनले भने,‘हामीलाई साप्ताहिक बिदा हुँदैनथ्यो । हामी ३० दिन लगातार काम गर्थ्यौं । सार्वजनिक बिदासमेत हुँदैनथ्यो ।’

इन्धनले भरिएको ट्यांकर चलाउनु आफैंमा अत्यन्त जोखिमपूर्ण काम भएको उनले बताए । ‘त्यो काम बम बोकेर हिँडेजस्तै हो,’ उनले भने ।

प्रतिवेदनले श्रमिकहरूको बसोबास अवस्था पनि दयनीय रहेको जनाएको छ । धेरै श्रमिक कन्टेनरमा कोचिएर बस्न बाध्य छन् । पानी पर्दा करेन्ट लाग्ने, शौचालय सफा नहुने र गुणस्तरहीन खाना दिइने उनीहरूको गुनासो छ । सबैभन्दा गम्भीर विषय भने कामकै क्रममा मृत्यु वा गम्भीर बिरामी भए श्रमिकका परिवारले न्याय नपाउनु रहेको प्रतिवेदनमा उल्लेख छ । अध्ययन गरिएका ६ घटनामध्ये एक परिवारले मात्रै उचित क्षतिपूर्ति पाएको पाइएको छ । कामकै क्रममा पक्षघात भएका एक श्रमिककी पत्नीले भनिन्, ‘कम्पनीले केही सहयोग गरेन । हामीसँग उपचार गर्ने पैसा छैन ।'

अर्का मृतक श्रमिककी पत्नीले श्रीमानको मृत्युको कारणसमेत स्पष्ट नबताइएको गुनासो गरिन् । साउदी श्रम कानुनअनुसार कामका क्रममा मृत्यु वा स्थायी अशक्तता भए क्षतिपूर्ति दिनुपर्ने व्यवस्था भए पनि प्रक्रिया जटिल भएकाले धेरै परिवार न्यायबाट वञ्चित हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

फेयर स्क्वायरले अराम्कोसँग साझेदारी गरेका अन्तर्राष्ट्रिय खेलकुद संस्थामाथि पनि प्रश्न उठाएको छ । फियर स्क्वायरका निर्देशक निक म्याकगीहानले फिफा फेरी श्रमिकको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारीको सवालमा प्रश्न उठेको बताए । ‘अराम्को साउदी अरबको व्यावसायिक इन्जिन हो । यसमा निर्भर श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी र प्रभाव दुबै छ,’ उनले भने,‘यी निष्कर्षहरूले अराम्कोसग मात्र होइन, समग्र रूपमा साउदी अरबसँग फिफाको बढ्दो निकट सम्बन्धबारे गम्भीर चिन्ता फेरि उठाएको छ ।’

फेयर स्क्वायरले यी विषयमा अराम्कोसँग प्रतिक्रिया मागे पनि अहिलेसम्म जवाफ नआएको जनाएको छ । अराम्को कम्पनीमा ७५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । यसबाहेक विभिन्न परियोजनामा कार्यरत न्युन तलवमा काम गर्ने लाखौं श्रमिक संलग्न छन् । जसलाई ५० भन्दा बढी देशका सहायक कम्पनी, साझेदारी र संयुक्त कम्पनीमार्फत लगाइरहेको छ ।

सन् २०२५ को मध्यसम्म साउदी अरबमा कार्यरत १ करोड ८२ लाख श्रमिकमध्ये करिब १ करोड ४१ लाख विदेशी श्रमिक रहेका छन् । यो कुल श्रमिक शक्तिको ७७ प्रतिशत हो । सन् २०१९ मा विदेशी श्रमिकको संख्या ९४ लाख थियो । यीमध्ये अधिकांश दक्षिण एसियाली श्रमिक कम तलब काम गर्न बाध्य छन् । २०२४ मा निर्माण क्षेत्र मात्रै हेर्दा सन् करिब २४ लाख ७० हजार विदेशी पुरुष श्रमिक कार्यरत थिए । साउदीमा नेपालीको संख्या चार लाख रहेको छन् ।

सम्बन्धित समाचार 

नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर, नेपाली श्रमिकलाई थप अवसर

साउदीमा अलपत्र ४ सय ६९ जनाको रोकिएको तलब र टिकट दिलाउन बिमामा दाबी

साउदीका उच्च पदबाट बाहिरिँदै नेपाली श्रमिक

साउदीमा तलब नपाएका श्रमिकलाई बिमाबाट भुक्तानी

साउदीमा कागजातविहीन श्रमिकको लागि ‘सेल्फ–डिपोर्टेसन प्लाटफर्म’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully