साउदीमा तलब नपाएका श्रमिकलाई बिमाबाट भुक्तानी

तलब नपाएका ४ सय ६९ नेपाली श्रमिकमध्ये ६९ जना नेपाली श्रमिकलाई २ करोड २९ लाख रकम भुक्तानी

कार्तिक २९, २०८२

होम कार्की

Insurance payments to unpaid workers in Saudi Arabia

What you should know

काठमाडौँ — साउदी अरबले रोजगारदाताबाट तलब नपाएका ६९ जना नेपाली श्रमिकलाई बिमाबाट २ करोड २९ लाख ४७ हजार रुपैयाँ (६ लाख ५ हजार रियाल) भुक्तानी गरेको छ । रोजगारदाताबाट रोकिएको तलब सरकारी बिमाबाट पाउने यो नेपाली श्रमिकको पहिलो समूह हो ।

रियादस्थित नेपाली दूतावासले तलब नपाएका ४ सय ६९ नेपाली श्रमिकको दाबी पेस गरेकोमा साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सामाजिक बिमा सार्वजनिक संस्थान (गोसी) सँगको सहकार्यमा पहिलो चरणमा ६९ जनालाई भुक्तानी दिएको हो । दूतावासले ४ सय ६९ जना श्रमिकले नपाएको १४ करोड ६१ लाख रुपैयाँ तलब दिलाइदिन मानव संसाधन मन्त्रालयलाई अनुरोध गरेको थियो ।

ती श्रमिक सेन्दान इन्टरनेसनल कम्पनीमार्फत साउदी अरबको पेट्रोलियम उत्पादन र प्रशोधन गर्ने कम्पनी साउदी आरम्को आयोजनामा काम गर्थे । सेन्दान कम्पनी टाट पल्टिएपछि नेपालीसहित अन्य देशका श्रमिक पनि कामविहीन बनेपछि तलब पाउनबाट वञ्चित भएका थिए । उनीहरूले गत वर्षको अगस्टदेखि नै नियमित तलब पाउन छाडेका थिए । तलब नपाउने र घर फिर्न पनि नपाएपछि उनीहरू गत मार्चदेखि नै काम बन्द गरेर साउदीको पूर्वी क्षेत्रस्थित कम्पनीले उपलब्ध गराएको क्याम्पमा बस्दै आएका थिए । जसमध्ये केहीले साउदी छोडिसकेका छन् । केही रोजगारदाता कम्पनी परिवर्तन गरेर साउदीमै कार्यरत छन् ।

साउदीले कम्पनी टाट पल्टिए वा ६ महिनासम्म लगातार तलब नपाएका श्रमिकलाई ‘आप्रवासी श्रमिकको तलब बिमा सेवा’ बाट तलब भुक्तानी गर्ने कार्यविधि जारी गरेको थियो । साउदीका लागि श्रम काउन्सिलर कविराज उप्रेतीका अनुसार आप्रवासी श्रमिकको तलब बिमा सेवासँग सम्बन्धित कार्यविधिभित्र पर्ने श्रमिकले तलब पाउनबाट वञ्चित हुनुपर्ने छैन । ‘हामीले कामविहीन भएर बसेका श्रमिकको भुक्तानी हुन बाँकी तलब दिलाउन साउदीको संकट विभागसँग नियमित छलफलमा छौं । अहिलेसम्म ६९ जनाको भुक्तानी भएको छ,’ उनले भने, ‘बाँकी श्रमिकले पनि बिमाबाट तलब पाउनेमा सकारात्मक छौं ।’

मानव संसाधन मन्त्रालयले बिमा कम्पनीमार्फत नेपाल भएका श्रमिकलाई चेक जारी गरिएको छ । ६९ जनामध्ये ३१ जना साउदी बाहिर छन् । बिमाबाट ६ सय ८५ देखि ६१ हजार ६ सय ८ रियाल (२२ लाख ७९ हजार रुपैयाँ) सम्म भुक्तानी गरिएको छ । संखुवासभाका बलराम राईका अनुसार कार्यस्थल (साइट) अनुसार तलबको बक्यौता र उपदान गरी फरक–फरक छ । ‘आरम्कोको फरक–फरक साइटमा काम गर्दै आएका थियौं । यहाँ साइटअनुसार तलब पाउने महिना पनि फरक–फरक छ । कसैले त १० महिना अगाडिदेखि नै पाएका छैनन् । धेरैजसो ८ महिनासम्मको तलब नपाउनेहरू थिए,’ उनले भने, ‘साउदीले सबै श्रमिकलाई रकम दिन्छ भन्नेमा आशावादी छौं ।’

नेपाली दूतावासका अनुसार अब साउदीमा नेपाली श्रमिकले नपाएको रकम दिलाउन सहज हुने बताए ।

२०३४ को विश्वकप आयोजना गर्न गइरहेको साउदीलाई आप्रवासी श्रमिकको पक्षमा काम गर्न अन्तर्राष्ट्रिय दबाब छ । साउदीले कम्पनीबाट छुटेका र वित्तीय संकटमा परेका कम्पनीबाट पीडित भएका श्रमिकलाई रकम भुक्तानी गर्न थालेको जनाएको छ । मानव संसाधन मन्त्रालयको एक सूचनाअनुसार गत सेप्टेम्बरमा मात्रै निजी क्षेत्रका ५० रोजगारदाता कम्पनीका श्रमिकलाई १ करोड ५० लाख साउदी रियाल बढी भुक्तानी गरेको जनाएको छ । मन्त्रालयले साउदी श्रम बजारलाई थप स्थिर, श्रमिकको हकहितलाई सुरक्षित र वित्तीय संकटले पर्ने प्रभावलाई न्यून बनाउन यो नीति लिइएको जनाएको छ । ‘निश्चित अवधिसम्म तलब–भत्ता तिर्न नसके पनि विदेशी श्रमिकले आफ्नो पारिश्रमिक र अन्य हकहित पाउने गरी सुनिश्चित गर्छ,’ मन्त्रालयको सूचनामा भनिएको छ, ‘यो सुविधाका लागि साउदीका सबै अनुमति पाएका रोजगारदाता कम्पनीले लिनका लागि गोसोमा आबद्ध हुनुपर्छ ।’

बिमाबाट रोकिएको तलबसहित हवाई टिकटबापत एक हजार रियालसम्म दिने गर्छ । यसका लागि श्रमिकले एक्जिट भिसासहित सबै प्रस्थान प्रक्रिया पूरा भएको प्रमाण बुझाउनुपर्नेछ । यो सुविधा सबैले पाउने छैनन् । जसमा पूर्णरूपमा सरकारी स्वामित्वमा रहेका संस्थान, परीक्षणकालमा रहेका श्रमिक, घरेलु श्रमिक, मौसमी तथा अस्थायी श्रमिक, खेल क्लबका खेलाडी, कृषि तथा पशुपालन (गोठाला) श्रमिक र निश्चित कार्यकालका लागि भर्ना गरिएका श्रमिक रहेका छन् । बिमा सुरु हुनुअघिदेखि नै संघर्ष वा संकटमा फसेका श्रमिक यो बिमाको दायरामा पर्दैनन् ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully