साउदीमा अलपत्र ४ सय ६९ जनाको रोकिएको तलब र टिकट दिलाउन बिमामा दाबी

जेष्ठ ८, २०८२

होम कार्की

469 people stranded in Saudi Arabia claim withheld salary and insurance to get tickets

काठमाडौँ — साउदी अरेबियाको सेन्दान इन्टरनेशनल कम्पनी लिमिटेडमा ८ महिनादेखि तलबविहीन भएका ४ सय ६९ जना नेपालीको तलब र घरफिर्ती टिकट बिमामार्फत दिलाउन दाबी गरिएको छ ।

रियादस्थित नेपाली दूतावासले साउदीको श्रम मन्त्रालयलाई बिमा मार्फत रोकिएको तलब र घरफिर्ती टिकट दिलाउने प्रक्रिया अगाडि बढाइएको हो । गत डिसेम्बर २४ देखि कम्पनी पूर्णरुपमा बन्द भएको हो ।

‘संकटग्रस्त भएका कम्पनी र ६ महिनासम्म नियमित तलब नपाएको अवस्थामा बिमामार्फत दाबी गर्न सकिने विषय साउदी सरकारकै निर्देशिकामा उल्लेख गरिएको छ । त्यसलाई आधार मानेर हामीले रोकिएको तलब र टिकटको दाबी गरेका छौं,’ श्रम काउन्सेलर कविराज उप्रेतीले कान्तिपुरलाई भने, ‘यसको लागि दूतावासबाट साउदीको श्रम मन्त्रालयको संकट विभागसँग नियमित सर्म्पकमा छौं ।’

बिमा दाबी गर्न दूतावासले श्रम कार्यालयमा श्रमिकको तर्फबाट मुद्दा दायरा गरिसकेको छ । ‘बिमा दाबी गर्न श्रम कार्यालयमा कम्पनी र श्रमिकबीच सौहार्द वातावरणमा छलफल हुँदा तलब नपाएको प्रमाण चाहिँदोरहेछ । कम्पनीले तलब र टिकट दिलाउन सक्ने अवस्था छैन । कामदारको अवस्थाबारे बुझ्न यहाँको जवाजत (अध्यागमन) कार्यालयको प्रतिनिधि क्याम्पमा गइसकेका छन्,’ उनले भने,‘अब यसबाट तलब दिलाउन सकिनेमा हामी आशावादी छौं ।’

सेन्दानमा कम्पनीको लेवर क्याम्पमा ४ सय  ६९ जना नेपाल तलब लिएर नेपाल जाने प्रतिक्षामा बसिरहेका छन् । कम्पनी टाट पल्टिएकोले कामसमेत पाएका छैनन् । दूतावासका अनुसार कामविहीन भएकामध्ये तीन सय २ जना नेपाल फर्किन चाहेका छन् भने बाँकी कम्पनी परिवर्तन गरी साउदीकै अर्को कम्पनीमा रोजगारी गर्ने प्रक्रियामा छन् ।

‘स्वदेश फर्किन चाहेका तीनसय २ जनालाई एक्जिट परमिट जारी गर्न साउदीको श्रम मन्त्रालयलाई विवरण पठाइसकेका छौं,’ उनले भने, ‘साउदीमै अर्को कम्पनीमा काम गर्न खोज्नेलाई रोजगार परिवर्तनको लागि सहजीकरण भइरहेको छ ।’

साउदीबाट इद अगाडि नै उद्धार गरी पठाउने तयारीमा दूतावास लागेको उप्रेतीले बताए । ‘सबैको एक्जिट पेपर आएपछि घर जान पाउने बाटो खुल्छ । त्यसबेला नै बिमा मार्फत तलब दिलाउने हाम्रो पहलकदमी भइरहेको छ,’ उनले भने,‘यसमा हामी सकारात्मक छौं ।’

साउदी अरेबियाको पूर्वी क्षेत्र जुवेलस्थित सेन्दान इन्टरनेशनल कम्पनी दुई देखि १६ वर्षसम्म काम गरेका नेपाली कामदार रहेका छन् । उनीहरुलाई कम्पनीले बिहान बेलुका दाल र भात भने दिइरहेको छ । उनीहरु सबैको आवासीय भिसाको म्याद ग्रुजेको छ । उनीहरुको आवासीय भिसाको म्याद समाप्त भएको पनि ७ देखि ९ महिना भइसकेको छ ।

‘जरिवाना मिनाह गरेर एक्जिट परमीट निकाल्नुपर्नेछ,’ उप्रेतीले भने,‘जरिवाना मिनाहा गर्न साउदी सरकारलाई पत्राचार भइसकेको छ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully