उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन गृह मन्त्रालयको चेतावनी

गृहमन्त्री ओमप्रकाश अर्यालसहितको सुरक्षा बैठकले निर्वाचन सुरक्षालाई प्रतिकूल असर पुग्ने गरी विभिन्न जिल्लामा भएका गतिविधिप्रति ध्यानाकर्षण भएको भन्दै कानुनले दण्डनीय मानेका गतिविधि नगर्न सचेत गराएको हो ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

Home Ministry warns against provocative and inflammatory statements

What you should know

काठमाडौँ — गृह मन्त्रालयले निर्वाचनलाई असर पुग्ने गरी उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन चेतावनी दिएको छ । 

गृहमन्त्री ओमप्रकाश अर्यालसहितको सुरक्षा बैठकले निर्वाचन सुरक्षालाई प्रतिकूल असर पुग्ने गरी विभिन्न जिल्लामा भएका गतिविधिप्रति ध्यानाकर्षण भएको भन्दै कानुनले दण्डनीय मानेका गतिविधि नगर्न सचेत गराएको हो ।

पछिल्ला केहीदिनयता विभिन्न राजनीतिक दलका चुनाव केन्द्रीत कार्यक्रममा उत्तेजक अभिव्यक्ति दिने, प्रतिस्पर्धि दलबीच आरोपप्रत्यारोप गर्ने, राजनीतिक दलका झण्डा जलाउने, त्यसको विरोधमा राँके जुलुस, टायर बाल्नेलगायत गतिविधि बढ्दै गएका छन् ।

रास्वपा र एमालेका नेताहरु चुनावी प्रचारका क्रममा सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । त्यस क्रममा उत्तेजक र भड्काउ अभिव्यक्ति समेत दिएका छन् ।

त्यस्तै, चुनावको विपक्षमा पनि विभिन्न पक्षबाट अभिव्यक्ति आइरहेका छन् । यसप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कानुनले निषेध गरेका गतिविधि नगर्न सम्वद्ध पक्षलाई ध्यानाकर्षण गरेको हो ।

निर्वाचन प्रचारप्रसारका क्रममा दिइएका उत्तेजक अभिव्यक्तिसहित चुनावी सुरक्षालाई अवरोध गर्ने गतिविधि सहृय नहुने भन्दै कानुनको दायरा र निर्वाचन आचारसंहिताभित्र रहन पनि गृह मन्त्रालयले चेतावनी दिएको छ ।

‘विभिन्न जिल्लाहरुमा निर्वाचन विरोधी गतिविधि गर्ने, प्रचारप्रसार कार्यमा राजनीतिक दल तथा व्यक्तिका विरुद्ध लाञ्छना लगाउने, टायर बाल्ने, राँके ज्लुस निकाल्ने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने तथा हिंसात्मक क्रियाकलाप गरी शान्ति सुव्यवस्था तथा वातावरणमा गम्भीर असर पुर्‍याउनेलगायत घटनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ,’ सुरक्षा बैठकपछि गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले भनिन्, ‘उल्लेखित कार्य कानुनद्वारा बर्जित र दण्डनीय भएकोले त्यस्तो कार्य गर्ने जोकोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कारबाही गरिन्छ ।’

विभिन्न जिल्लामा धार्मिक, साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, राजनीतिक दलका नेताहरुबीच उत्तेजक र भड्काउ अभिव्यक्ति दिने कार्य बढेपछि आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु सम्मिलित बैठक बसेको थियो ।

त्यस क्रममा गृहमन्त्री अर्यालले चुनावलाई असर गर्ने गतिविधि नियन्त्रण गर्न र कसुरमा संलग्नलाई कारबाही दायरामा ल्याउन निर्देशन दिएका थिए ।

गृह मन्त्रालयले संविधानमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, सार्वजनिक शान्ति र व्यवस्थामा खलल गर्ने कार्यलाई निषेध गरिएको र दण्डनीय कार्यका लागि उक्साउने, गरी ‘नभएका–नगरेका अफवाह फैलाउन प्रचारप्रसार गर्न वा नाराजुलुस गर्नेमाथि निर्मम भएर कारबाही गर्न पनि प्रहरी र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

कान्तिपुर

Link copied successfully