यो अन्योलको स्थितिमा प्रविधिको मात्र समस्या नरहेको उनको भनाइ छ ।
काठमाडौँ — एआई विज्ञ दोभान राईले प्रविधि मात्र समस्या नरहेको बताएकी छिन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको दोस्रो दिनको ‘संवादको चौतारी : अल्गोरिदमको उल्झन’ विषयक संवादमा राईले अल्गोरिदम हिजोको जस्तो आज नरहेको र भोलि पनि त्यस्तै हुनुपर्छ भन्ने नरहेको बताइन् ।
'अहिले देखिरहेको अल्गोरिदमको स्वरुप र अभ्यास नै त्यही छ भन्ने पनि छैन, आजको जस्तो अल्गोरिदम छ, त्यो त्यस्तै हुनुपर्छ भनेर आत्मसमर्पण गरिसकेको पनि छैन,’ उनले भनिन् ।
हामीले प्रयोग गरिरहेको सामाजिक सञ्जाल, मेटा, टिकटक वा बिग टेक कम्पनीले दिएको अल्गोरिदममा रहेको राईले बताइन् । ‘त्योचाहिँ धेरै नै समस्याग्रस्त छ । स्रोत नभएकाहरुका लागि पहुँच दिनका लागि प्रविधिको प्रयोग गर्नु पर्ने हो, भइ पनि रहेको छ,’ उनले भनिन्, ‘ठूला कम्पनीहरुले नाफालाई म्याक्सिमाइज गर्ने भयो । अल्गोरिदमले आक्रोश वा नराम्रो कुरामा धेरै इंगेजमेन्ट भएको देखेका छौं । एउटा अल्गोरिदम आफैले पनि यसमा धेरै इंगेजमेन्ट आउँछ भनेर फर्मुला बनाएर पस्किरहेको छ । जानीजानी प्रवर्द्धन गरिरहेको छ ।’
मानवसभ्यता अन्योलको स्थितिमा रहेकाले यो प्रविधिको मात्र समस्या नरहेको उनको भनाइ छ । अल्गोरिदमबाहेक दुरगामी भएर सोच्नेभन्दा पनि मानिसमा झगडा गर्ने, भाग्ने मनोविज्ञान रहेको भन्दै राईले अहिले सामाजिक सञ्जालको विद्रुप अवस्था देखिरहेको बताइन् । आर्थिक मोडल, विश्वको अवस्था र मनोविज्ञानको सीमितताको प्रस्फुटन देखिइरहेको उनको भनाइ छ ।
