नेपाल डेटा नेटवर्क विकासमा ५-८ वर्ष पछाडि छ, स्पष्ट नीतिबिना लगानी सम्भव छैन : माइकल फोले

‘हाम्रा युवाहरूले क्यानडा र अस्ट्रेलियाका दूतावास अगाडि वा राहदानी कार्यालयमा लाम लाग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ । उनीहरू यहीँ काम गर्न, यहीँ फस्टाउन सक्ने वातावरण बनाउनु आजको आवश्यकता हो ।’

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Nepal is 5-8 years behind in data network development, investment is not possible without a clear policy: Michael Foley

What you should know

काठमाडौँ — एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले नेपाल डेटा नेटवर्क र डिजिटल पूर्वाधार विकासमा ५ देखि ८ वर्षसम्म पछाडि रहेको बताएका छन् ।

कान्तिपुर कन्क्लेभको छैटौं सत्र 'अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनःस्थापना' मा बोल्दै उनले समान अवस्थाका देशहरूले यसअघि नै फाइभ-जी प्रविधि अपनाइसकेको उल्लेख गरे ।

फोलेका अनुसार फाइभ-जी प्रविधिले कम लागतमा उच्च ब्यान्डविथ उपलब्ध गराउँछ, जसले सामग्री निर्माण (कन्टेन्ट क्रिएटर), विद्यालय, विश्वविद्यालय, स्वास्थ्य सेवा, सुरक्षा प्रणाली तथा स्मार्ट सिटी सञ्चालनलाई सहज र प्रभावकारी बनाउँछ । ‘यी सेवा गुणस्तरीय रूपमा प्रदान गर्न नेपाल अझै ३ देखि ५ वर्ष पछाडि छ,’ उनले भने ।

नेपालमा लगानीका लागि इच्छुक भए पनि स्पष्ट नीति र दीर्घकालीन दिशानिर्देश नहुँदा निजी क्षेत्र पछि हट्न बाध्य भएको फोलेको भनाइ छ । ‘हामी लगानी गर्न तयार छौँ, तर तीन वर्षे लाइसेन्स बाँकी रहँदा ठूलो पुँजी बजारमा हाल्न सकिँदैन,’ उनले स्पष्ट पारे । दीर्घकालीन सुनिश्चितता भएमा बजारमा प्रतिस्पर्धा बढ्ने, सेवा सुधार हुने र लागत घट्ने उनको भनाइ छ ।

यसले स्वदेशी तथा विदेशी प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सक्ने सम्भावना रहेको पनि उनले औँल्याए । नेपालले डिजिटल पूर्वाधारमा सुधार गरेमा सेवा क्षेत्रमा नयाँ अवसर सिर्जना हुने फोलेको विश्वास छ ।

नेपालको भौगोलिक अवस्थालाई अवसरका रूपमा उपयोग गर्न सकिने उल्लेख गर्दै उनले भारत र चीनबीच रहेको नेपालले दुवै देशलाई सेवा दिने ‘गेटवे’को भूमिका निर्वाह गर्न सक्ने बताए । ‘सही नीति यो सरकार वा आगामी सरकारले ल्याउन सके युवालाई आवश्यक उपकरण र सीप यहीँ उपलब्ध गराउन सकिन्छ,’ उनले भने ।

यसले युवालाई स्वदेशमै रोजगारी, उद्यम र भविष्य निर्माणको अवसर दिने उल्लेख गर्दै फोलेले अन्त्यमा युवाको पलायनप्रति संकेत गरे । ‘हाम्रा युवाहरूले क्यानडा र अस्ट्रेलियाका दूतावास अगाडि वा राहदानी कार्यालयमा लाम लाग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘उनीहरू यहीँ काम गर्न, यहीँ फस्टाउन सक्ने वातावरण बनाउनु आजको आवश्यकता हो ।’

कान्तिपुर कन्क्लेभ–२०२६

कान्तिपुर

Link copied successfully