नेपाल राष्ट्र बैंकका पौडेलले विश्वास नबढेसम्म कर्जा प्रभावकारी नहुने बताए ।
काठमाडौँ — नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले अर्थतन्त्रको पुनरुत्थानका लागि कर्जा प्रवाह बढाउनु मात्र पर्याप्त नभई लगानीकर्तामा विश्वास र सुरक्षाको अनुभूति आवश्यक रहेको बताएका छन्।
कान्तिपुर कन्क्लेभ–२०२६ अन्तर्गत 'अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनःस्थापना' विषयक सत्रमा बोल्दै पौडेलले राष्ट्र बैंक उपयुक्त लगानी वातावरण बन्ने पर्खाइमा रहेको स्पष्ट पारे । उनका अनुसार हाल कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन । 'केही समयअघि प्रकाशित निजी संस्थाकाे सर्वेक्षणले करिब ७० प्रतिशत लगानीकर्ता अब के गर्ने भनेर हेरेर बसेको र ७ प्रतिशतले अब लगानी नगर्ने बताएकाे देखेका थिए,' उनले भने, 'कर्जाको माग नबढ्नु लगानीकर्तामा आत्मविश्वास र सुरक्षाको अनुभूति नहुनु तथा उत्पादनबाट प्रतिफल आउँदैन भन्ने धारणाले हुन सक्छ।'
उनका अनुसार विश्वास नबढेसम्म कर्जा प्रभावकारी हुँदैन । यद्यपि, राष्ट्र बैंकले कानुनी तथा नीतिगत सहजीकरणका लागि विभिन्न कदम चालेको पनि उनले जानकारी दिए ।
बैंक तथा वित्तीय संस्थामार्फत १० लाख रुपैयाँसम्मको कर्जा सहज रूपमा दिन सक्ने व्यवस्था, सहुलियतपूर्ण कर्जामा सहजीकरण र मध्यपहाडी लोकमार्ग क्षेत्रका आर्थिक गतिविधि सञ्चालनमा राष्ट्र बैंकले सहयोग गरेको उनले बताए ।
कान्तिपुर कन्क्लेभ–२०२६ मा सोमबारको अन्तिम सत्रमा 'अर्थतन्त्र, लगानी, वित्तीय स्थायित्व र विश्वास पुनःस्थापना'बारे विभिन्न सत्रमार्फत छलफल भइरहेको छ।
