अनुमति दिए एनसेल २०० देखि २५० मिलियन डलर लगानी गर्न तयार छ : सीईओ फोले

‘हामी नेपालमै रहिरहन चाहन्छौँ, हामीसँग लगानी गर्ने ठूलो क्षमता पनि छ,’ उनले भने, ‘कम्पनीको ब्यालेन्स सिटमा कर्जा छैन ।’

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Ncell is ready to invest $200 to $250 million if given permission: CEO Foley

What you should know

काठमाडौँ — नेपालको दूरसञ्चार पूर्वाधार छिमेकी देशका तुलनामा निकै पछाडि रहेको एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले बताएका छन् ।

सोमबार ‘कान्तिपुर कन्क्लेभ-२०२६’ अन्तर्गत ‘अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुन: स्थापना’ सत्रमा बोल्दै उनले नेपालको दूरसञ्चार प्रविधि छिमेकी देशहरूभन्दा करिब ५ देखि ८ वर्ष र बाँकी विश्वभन्दा अझ धेरै पछाडि रहेको औंल्याएका हुन् ।

सरकारले सेवा सञ्चालनको अनुमती र उचित वातावरण उपलब्ध गराए एनसेलले आगामी दिनमा नेपालको दूरसञ्चार क्षेत्रमा २०० देखि २५० मिलियन अमेरिकी डलरसम्म लगानी गर्न तयार रहेको फोलेले बताए । ‘हामी नेपालमै रहिरहन चाहन्छौँ, हामीसँग लगानी गर्ने ठूलो क्षमता पनि छ,’ उनले भने, ‘कम्पनीको ब्यालेन्स सिटमा कर्जा छैन । हामी यहाँको दूरसञ्चार पूर्वाधार विस्तारका लागि २०० देखि २५० मिलियन डलर लगानी गर्न तयार छौँ ।’

विगत २२ वर्षदेखि सञ्चालनमा रहेको विदेशी लगानीको सेवा प्रदायक, एनसेलको अनुमतीपत्रको म्याद २०८६ सालको भदौमा समाप्त हुँदै छ । दूरसञ्चार ऐनअनुसार अनुमतीपत्रको अवधि सकिएपछि ५० प्रतिशतभन्दा बढी विदेशी लागनी भएको सेवा प्रदायक कम्पनीको पूर्वाधार (जस्तै टावर, उपकरण आदि) सरकारको स्वामित्वमा जाने प्रावधान छ । 

नेपालमा फाइभ-जी सेवा, प्रतिगिगाबिट स्तरको उच्च गतिको इन्टरनेट र डेटा सेन्टरहरू निर्माण गर्ने एनसेलको लक्ष्य रहेको फोलेले बताए । उनका अनुसार दूरसञ्चार सञ्जाललाई व्यवस्थित बनाउन सकियो भने यसले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलताका क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्छ । 

उनले नेपालमा हालै भएका केही अस्थिर घटनाक्रमले नेपालको परिचय नदिने बताउँदै आगामी दिनमा समाज र राज्यले यी चुनौतीहरूलाई कसरी सम्बोधन गर्छ भन्ने कुराले लगानीको भविष्य सुनिश्चित गर्ने स्पष्ट धारणा राखे ।

कान्तिपुर

Link copied successfully