हरेक आन्दोलनमा पहिलो टार्गेट निजी क्षेत्र हुनु दु:खद : चन्द्र ढकाल

सुशासन र भ्रष्टाचारमुक्ति आन्दोलनमा गलत घुसपैठका कारण निजी क्षेत्र र नागरिकले ठूलो क्षति बेहोर्नुपरेको उनले बताए ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

It is sad that the private sector is the first target in every movement: Chandra Dhakal

What you should know

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८६ प्रतिशत योगदान दिए पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक नै रहेको बताएका छन् ।

यस्तो द‌ृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको भन्दै उनले निजी क्षेत्रको संरक्षण एवं प्रवर्धन गर्ने नीति नै बनाएर प्रधानमन्त्रीलाई बुझाएको उनको भनाइ छ । 

‘हरेक आन्दोलनमा पहिलो टार्गेट निजी क्षेत्र नै हुने गरेको छ । जेनजी आन्दोलनको मुख्य एजेन्डा सुशासन, भ्रष्टाचारमुक्त लगायत थियो,' कान्तिपुर कन्क्लेभको पहिलो दिनको अन्तिम सत्र ‘अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनःस्थापना’मा बोल्दै उनले भने, ‘यो उद्देश्य राम्रो हुँदाहुँदै पनि गलत घुसपैठका कारण निजी उद्योग तथा प्रतिष्ठानसहित व्यक्तिका घर तोडफोड-आगजनी भयो ।’ त्यसले निजी क्षेत्रकाे मात्र नभई आम मानिसकै आत्मविश्वास गुमाएको अवस्था रहेको ढकालले बताए ।

यसभन्दा अघिका आन्दोलनमा यस किसिमका घटना भएको उनले स्मरण गरे । रोजगारी, सुशासन र भ्रष्टाचारमुक्त समाजको माग आम मानिसको माग भए पनि रोजगारी सिर्जना गर्ने उद्योग प्रतिष्ठानमै आगजनी र तोडफोड भएको ढकालको भनाइ छ । ‘सुशासनको कुरा गर्छौं । सिहंदरबारमै आगलागी, न्यायलमै आगलागी, भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्दा अख्तियारमै आगो लगाएको छ,’ उनले भने, ‘जेनजी आन्दोलनको उद्देश्यभन्दा फरक किसिमका घटना भए । त्यसले निजी क्षेत्रको आत्मबलसहित व्यावसायिक गतिविधिमा नराम्रो असर परेको छ ।’

क्षति पुगेका कतिपय निजी क्षेत्रका उद्योग प्रतिष्ठान फेरि सञ्चालनमा आइसकेको उनले सुनाए । 'अझ पनि सरकारी उद्योगहरु भने पाल टाँगेर बसिरहेको अवस्था छ । निजी क्षेत्रमा छाएको दु:ख कम हुन समय लागे पनि हरेस खाएका छैनौं,' उनले भने, 'नेपालमा जति अवसर र सम्भावना अन्य ठाउँमा छैन ।'

कान्तिपुर संवाददाता

Link copied successfully