'फेक सामग्रीलाई चिर्न नसकेर मिडिया पनि लाइक, कमेन्ट र भ्युजको पछाडि लागे ।'
काठमाडौँ — बाह्रखरी अनलाइनका प्रधानसम्पादक प्रतीक प्रधानले 'डिप फेक' बढेको भन्दै त्यसबाट सचेत हुनुपर्ने बताएका छन् ।
‘अहिलेको समस्या नागरिकलाई मिडियाभन्दा समाजिक सञ्जालले गाइड गरेको छ । त्यसमा कति वटा लाइक आयो, कति वटा कमेन्ट आयो, कति वटा सेयर भयो भनेर गन्ती हुन थाल्यो । त्यसमा पनि फेक हुन थाल्यो,’ कान्तिपुर कन्क्लेभ-२०२६ को दोस्रो दिनको पहिलो सत्र 'संवादको चौतारी : अल्गोरिदमको उल्झन' विषयमा बोल्दै उनले भने, ‘कसैले समाजिक सञ्जालमा लेखेको ५ मिनेटमा ५ लाख लाइक आउँछ भने त्यो फेक हो । भनेर बुझाउन सक्नुपर्छ ।’ फेक लाइन, कमेन्ट र सेयरबाट जोगिनुपर्ने उनले बताए ।
एजेन्डा सेटिङ र विचारको नेतृत्व जनताको विश्वास जित्नेले गर्नुपर्ने भए पनि त्यसको दुरुपयोग भएको उनले बताए । अहिले सामाजिक सञ्जालको सहायतामा जसले पनि एजेन्डा र विचार निर्माण गर्ने गरेको उनले औंल्याए । ‘एआई जेनेरेट डिप फेकसँग डराउनुपर्छ । पत्रकारले एजेन्डा सेटिङ गर्ने नागरिकका लागि हो । पत्रकारिताले गर्ने भनेको सूचना दिने हो,’ उनले भने ।
फेक सामग्रीलाई चिर्न नसकेर मिडिया पनि लाइक, कमेन्ट, सेयर र भ्युजको पछाडि लागेको उनको भनाइ थियो । ‘मिडियाले आफ्नो सामर्थ्य गुमाउँदै गए । जनता र देशको स्वार्थमा एजेन्डा र विचार सेटिङ हेर्नुपर्छ । त्यसमा मिडियाले नै लिड गर्नुपर्छ,’ प्रधानसम्पादक प्रधानले भने ।
