'तत्काल लोकप्रियताभन्दा निरन्तरता, जिम्मेवारी र दीर्घकालीन प्रभावलाई प्राथमिकता दिन जरुरी छ ।'
काठमाडौँ — पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यातले सामाजिक सञ्जालमा भ्युज र भावनात्मक प्रतिक्रिया कमाउने होडमा लाग्नु गलत भएको बताएका छन् ।
‘कान्तिपुर कन्क्लेभ–२०२६’ अन्तर्गत ‘संवादको चौतारी : अल्गोरिदमको उल्झन’ सत्रमा बोल्दै बस्न्यातले तत्काल भ्युज र सेन्टिमेन्ट कमाउने प्रवृत्तिले पछि आफैलाई पनि समस्या निम्ताउन सक्नेसमेत बताए । 'हामी आफ्नो प्रस्तुतिअघि सार्दा आज भ्युज कमाउँछु, आज सेन्टिमेन्ट कमाउँछु भन्ने सोच राख्छौँ भने त्यसले आफैँलाई समस्या पार्छ,' उनले भने, 'फन्डा बनाएर भ्युज कमाउन सजिलो हुन्छ । तर पहिले के भनेर चर्चा र भ्युज पाए भनेर पछि त्यो कुरा व्यवहारिक भएन भने के गर्ने ?'
आउँदो निर्वाचनको उम्मेदवार समेत रहेका बस्न्यातले आफू अल्पकालीन भ्युजभन्दा दीर्घकालीन यात्रामा विश्वास गर्ने समेत बताए । उनका अनुसार सार्वजनिक बहस र डिजिटल प्लेटफर्महरूमा तत्काल लोकप्रियताभन्दा निरन्तरता, जिम्मेवारी र दीर्घकालीन प्रभावलाई प्राथमिकता दिन जरुरी छ।
