भिजिटरको भिडको पछाडि लाग्दा पत्रकारिता फेल हुँदै गएको छ : प्रतीक प्रधान

'विचारको नेतृत्व गर्ने पत्रकारिताका संस्था कन्टेन्ट क्रिएसनमा मात्र लागेर असफल हुँदै गएका छन् ।'

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Journalism is failing as it chases after the crowds of visitors: Prateek Pradhan

What you should know

काठमाडौँ — बाह्रखरी अनलाइनका प्रधानसम्पादक प्रतीक प्रधानले भिजिटरको भिडको पछाडि लागेर पत्रकारिता फेल हुँदै गएको बताएका छन् ।

कान्तिपुर कन्क्लेभ २०२६ को दोस्रो दिन 'संवादको चौतारी : अल्गोरिदमको उल्झन' विषयक प्यानलमा बोल्दै उनले पत्रकारिताले भिडको पछाडि कुद्नेभन्दा पनि जनताको आवाज मुखरित गर्न सक्नुपर्ने बताए । ‘अल्गोरिदमले मिडियामा पनि परिवर्तन भएर आएको छ । प्रिन्ट, रेडियो, टेलिभिजन, अनलाइन हुँदै पत्रकारिता अघि बढेको छ,’ उनले भने, ‘पत्रकारिता जनताको आवाज मुखरित गर्ने थियो । अभिव्यक्ति स्वतन्त्रताको माध्यम पत्रकारिता हो ।’

तर पछिल्लो समय विचारको नेतृत्व गर्ने पत्रकारिताका संस्था कन्टेन्ट क्रिएसनमा मात्र लागेर असफल हुँदै गएको प्रधानसम्पादक प्रधानले औंल्याए । ‘संसारभरिको पत्रकारिता कन्टेन्ट क्रिएसन जस्तो मात्र भएको छ । यो पेसामा जिम्मेवारी धेरै छ,’ उनले थपे, ‘समाजले खोजेका विषय दिनुपर्छ । समाजलाई कस्ता सामग्री दिने र कस्ता सामग्री नदिने प्रष्ट हुनुपर्छ । विचारको नेतृत्वको गर्ने संस्था पत्रकारिता हुनुपर्छ ।’

भिडको पछाडि लागेर पत्रकारिता फेल भएको उनले जनाए । ‘हिजो जनतामा समाचार पस्कियो । त्यसको प्रतिक्रिया बुझेर अघि बढ्दै आएको थियो । आज अल्गोरिदममा फसेको छ । जेजे देख्यो त्यसैलाई समाचार बनाइदिने हो ?' उनले प्रश्न गरे । 

यसरी नै अघि बढे पत्रकारिता पेसा र व्यवसाय समाप्त हुने उनले जनाए । ‘मिडिया फस्दै गएको छ । कस्ता विषयवस्तु नागरिकलाई दिने बोर्डर लाइन बनाउनुपर्छ । मिडिया भनेको के हो प्रष्ट हुनुपर्छ । प्रेस स्वतन्त्रता हुनुपर्छ । पत्रकारिताले गर्ने समाज परिवर्तन हो,’ उनले भने । जथाभावी विषयवस्तु पस्कँदा पत्रकारिता कमजोर हुँदै गएको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully