काठमाडौँ — जेन–जी अभियन्ता माजिद अन्सारीले भुईमान्छेको आवाज नसुन्ने र नगन्ने नेताहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा हुन नसक्ने बताएका छन् ।
कान्तिपुर कन्क्लेभको दोस्रो दिन ‘गणतन्त्रका नयाँ आवाज’ विषयक सत्रमा धारणा राख्दै उनले नयाँ–पुराना राजनीतिक दलका नेताहरूमा आम सर्वसाधारणको आवाज नसुन्ने र उनीहरूलाई नगन्ने प्रवृत्ति रहेको औंल्याए । ‘मुकुलुङ र पाथीभरा गएर मात्र त्यहाँको जनताको सम्मान हुँदैन । भुईमान्छेलाई नगन्ने हो भने लोकतन्त्र टिक्दैन,’ उनले भने ।
अन्सारीले ‘न्यु पिपल’ भन्दा पनि ‘न्यु भ्यालु’ आवश्यक रहेको बताए । ‘लोकतन्त्रलाई केवल संख्याका रूपमा मात्र हेर्नु हुँदैन । सत्ताले बहुसंख्यकको आवाज कसरी सुनेको छ, अल्पसंख्यकको आवाजको रक्षा कसरी गरेको छ भन्ने पनि हेर्नुपर्छ,’ उनले जोड दिए ।
एमालेको महाधिवेशन, कांग्रेसको विशेष महाधिवेशन र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी बनाएको देखिए पनि लोकतन्त्र सुदृढीकरण गर्ने काम हुन नसकेको उनले औंल्याए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण हुनुपर्छ । तर संविधानसभाबाट बनेको संविधानले दिएको अधिकार कटौती गरेर कानुनहरू बनाइए,’ उनले भने । सूचना प्रविधि, प्रहरी तथा कर्मचारीसम्बन्धी विधेयक ल्याउँदा पश्चगमनतर्फ फर्किन खोजिएको उनको आरोप थियो । ‘महेन्द्रकालभन्दा पनि पश्चगामी कानुन गणतन्त्रमा बनाउन खोजियो,’ अन्सारीले भने ।