तिहार : चाड एक, तरिका अनेक

आफ्नो मौलिक चाड नभए पनि पछिल्लो समय बसोबासमा आएको विविधता, सञ्चारका माध्यम तथा सामाजिक सञ्जालको प्रभाव, अन्तर समुदाय घुलमिललगायतका कारण अधिकांश समुदायमा तिहारमा भाइटीका लगाउने र देउसी-भैलो खेल्ने चलन भित्रिन थालेको छ ।

कार्तिक ४, २०८२

इकान्तिपुर टिम

Tihar: One festival, many ways

What you should know

काठमाडौँ — उज्यालोको पर्वका रूपमा लिइने चाड तिहारलाई समुदाय अनुसार फरक फरक तरिकाले मनाइने गरिन्छ । यमपञ्चकका रुपमा पाच दिनसम्म मनाइने यो चाडको मुख्य र अन्तिम दिन भाइटीका हो ।

कात्तिक कृष्ण त्रयोदशीदेखि काग, कुकुर, गाई, गोरुको पूजा सकेर शुल्क दितियाका दिन भाइटीका गरेर सकिने यो चाडमा औंसीको दिन लक्ष्मीपूजाबाट झनै उल्लासमय हुने गरेका छ । 

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास भएका समुदायले आआफ्नै तरिकाले तिहार मनाउने गरेका छन् । अधिकांश समुदायमा लक्ष्मीपूजासँगै सुरु हुने देउसी–भैलोको भाकामा बालबालिकादेखि बयस्कसम्म रमाउने चलन छ । केही समुदायले लक्ष्मीपूजाको दिनमात्रै मान्ने गरेका छन् भने केहीले बेग्लै तरिकाले देउसी-भैलो जस्तै मौलिक खेल खेल्ने गर्छन् । अधिकांश ठाउँमा भने देउसी भैलो खेल्ने परम्परागत शैली फेरिएको छ ।   

आफ्नो मौलिक चाड नभए पनि पछिल्लो समय बसोबासमा आएको विविधता, संचारका माध्यम तथा सामाजिक संजालको प्रभाव, अन्तर समुदाय घुलमिललगायतका कारण अधिकांश समुदायमा तिहारमा भाइटीका लगाउने र देउसी-भैलो खेल्ने चलन भित्रिन थालेको छ ।  

पूर्वको झापामा बसोबास गर्ने मुन्डा समुदायमा तिहारमा ढौसी खेल्ने चलन छ । लक्ष्मीपूजाबाट जसरी भैली भट्याउन थाल्छन् त्यसैगरी यो समुदायमा ‘लख्खी’ पूजा गर्छन् । यसदिन हरेक परिवारले आफ्ना खेतबारी, गोरु, अन्न र घरको पूजा गर्छन् । त्यसको भोलिपल्ट ‘गोरिया पूजा’ अर्थात् हली तिहारमा गोरुको पूजा सकेर ढौसी खेल्न जुट्छन् । 

कोशी प्रदेशका लिम्बू समुदायले तिहारमा देउसी–भैलो जस्तै बलिहाङ तङ्नामका रुपमा मनाउाछन् । उनीहरु देउसी–भैलो जस्तै एक जनाले भट्याउने र समूहका सदस्यहरुले नाम्लिङ्गेक, लारिङ्गेक भन्दै देउसी जस्तै खेल्ने गर्छन् ।

उता सुदूरपश्चिममा विषेशगरी तिहारमा दिदीबहिनीले दाजुभाई र दाजुभाईले दिदीबहिनीलाई सम्झेर देउडाका भाकामा भैली गाउने चलन थियो । पछिल्लो समय आधुनिक गीत भित्रिएपछि परदेसिएका दाजुभाई, दिदीबहिनी बीचको प्रेम देखाउने तिहारको त्यो रौनक लोप हुदै गएको छ । गाउँका सबै जना जम्मा भएर दाजुभाई र दिदीबहिनीको सम्बन्धको महत्व झल्काउने गरी खेलिने देउसी–भैलोका गीत अहिले सुनिन छाडेका छन् ।

केही वर्षअघिसम्म तिहारलाई खासै महत्व नदिने थारु समुदायमा पनि अचेल तिहारकाे राैनक हुने गरेकाे छ ।  थारू समुदायमा तिहार ठूलो पर्व नभए पनि लक्ष्मीपूजा भने वर्षभरको एक विशेष क्षणका रूपमा मनाउँछन् । पश्चिम तराइमा मात्रै बसाेबास रहेकाे रानाथारूले देउसी-भैलाे खेल्ने र भाइटीकालाई महत्वका साथ मनाउने गरेका छन् ।

मुगु, जुम्ला, कालीकोट, हुम्लालगायत कर्णालीका हिमाली गाउँमा भने अहिले तिहारको रौनक छैन । ती क्षेत्रमा पुसे भैली मनाउने चलन छ । स्थानीयहरू धान भित्र्याउने र जौ लगाउने काम सकेर पुस महिनाको पूर्णिमादेखि औंसीसम्म भैली खेल्ने गर्छन् । त्यस बेला घरघरमा गएर चामल, पैसा, तेल, नुन, दाल संकलन गर्ने र वनभोज गर्ने परम्परा छ ।

सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार गाउँतिर तिहारमा भैली खेल्ने चलन छैन । पुसे भैलीमै देउसी खेलिन्छ र त्यसमा बाजा पनि बजाइँदैन । महिलाले सुती फरिया र उचला, पुरुषले दौरासुरुवाल र ताखु कात्ने पोसाक लगाउने गर्छन् ।

संस्कृतिविद्हरूका भनाइ अनुसार, जुम्ला र आसपासका जिल्लामा तिहारको महत्त्व अघिल्लो दशकसम्म न्यून थियो । भाइटीकामा दही–चामलको टिका लगाउने चलनमात्र थियो । पछिल्ला वर्षहरूमा मात्र सप्तरंगी टिका र देउसीभैलोको संस्कृति सदरमुकामतिर फैलिएको हो ।

हाल काठमाडौं, नेपालगञ्ज, सुर्खेतमा बसोबास गर्ने कर्णालीवासीहरूले पनि पुसे भैली मनाउने चलन फैलाएका छन् । कर्णालीको मौलिक संस्कृति तिहार होइन, पुसेभैली भएको उनीहरु बताउँछन् ।

सम्बन्धित समाचारहरु :

इकान्तिपुर

Link copied successfully