मुन्डा समुदायमा ढौसी खेल्ने समय लक्ष्मीपूजासँगै सुरु हुन्छ । लक्ष्मीपूजाबाट जसरी भैली भट्याउन थाल्छन् , यो समुदायमा ‘लख्खी’ पूजा गर्छन् ।
What you should know
झापा — लक्ष्मीपूजाको साँझदेखि मेचीनगर–७ मुन्डा बस्तीको आँगनमा ढोलको ताल गुन्जिन थाल्छ । परम्परागत बाजाको तालसँगै कुर्ता, धोती र पगरीमा सजिएका पुरुषहरुले लय मिलाउँदै नाच्छन् । आँगन गोबरले लिपेर चामलको पिठोले कोरिएको रेखी बनाएर सुरु हुन्छ, मुन्डा समुदायको मौलिक सांस्कृतिक पहिचान ‘ढौसी’ ।
झापाका सीमान्तकृत आदिवासी मुन्डा समुदाय भने भिन्न शैलीमा देउसी खेल्छन् । जसलाई उनीहरु ‘ढौसी’ भन्छन् । ढौसी उनीहरुका लागि तिहारको रमाइलो मात्रै होइन, सांस्कृतिक अस्तित्वसँग गाँसिएको परम्परा हो ।
लक्ष्मीपूजादेखि भाइटीकासम्म ढोल, नगारा, मादल र झ्याम्टाको तालमा रमाउँछन् । ‘हामी कहाँ ढौसी भनेको नाचगान सँगै पुर्खाले सुरु गरेको सांस्कृतिक आस्था हो,’ मुन्डा समुदायका अगुवा बन्धनकुमार भन्छन्, ‘अहिलेसम्म यो परम्परालाई हामीले जोगाइराखेका छौ ।’
लख्खी र गोरिया पूजासँग जोडिएको ढौसी
मुन्डा समुदायमा ढौसी खेल्ने समय लक्ष्मीपूजासँगै सुरु हुन्छ । लक्ष्मीपूजाबाट जसरी भैली भट्याउन थाल्छन् त्यसैगरी यो समुदायमा ‘लख्खी’ पूजा गर्छन् । यसदिन हरेक परिवारले आफ्ना खेतबारी, गोरु, अन्न र घरको पूजा गर्छन् । त्यसको भोलिपल्ट ‘गोरिया पूजा’ अर्थात् हली तिहारमा गोरुको पूजा सकेर ढौसी खेल्न जुट्छन् ।
तीन दिनसम्म चल्ने ढौसीमा पुरुष टोलीले बाजा बजाउँछन्, महिलाहरु एकै पंक्तिमा उभिएर नाच्छन् । गीतको शब्द पनि उनीहरूकै मौलिक बोलीमा हुन्छ । आफ्नो समुदायका घरैपिच्छे ढौसी भट्याउँदै हिड्छन् । ‘पहाडे समुदायको चाहीँ हामी हत्तपत्त ढौसी खेल्न जाँदैनौ’, मुण्डा समुदायकी अगुवा जमुनादेवीले सुनाइन्,‘पहाडेहरुको आफ्नै देउसी छ, हाम्रो ढौसी हाम्रामा मात्रै खेल्छौं ।’
गोबरले लिपेको आँगन, चामलको रेखी र जाँडको थाल
ढौसीसँग जोडिएको अर्को रोचक परम्परा हो, ‘जाँडको थाल र ढकको खेल’ । गोबरले लिपिएको आँगनमा चामलको पिठोले रेखी कोरिन्छ । त्यसको बीचमा एक पाथी धान राखिन्छ । धानमाथि जाँडले भरिएको झर्के थाल राखिन्छ । थालभित्र तामाको पैसा (ढक) राखिन्छ । त्यो पैसा लिन चाहनेले एउटा खेलमा भाग लिनुपर्छ । खेल सरल तर रमाइलो हुन्छ । सहभागीले सुतेकै अवस्थामा झर्के थालको जाँड पिउनुपर्छ । त्यसपछि दाँतले च्यापेर थालभित्रको पैसा निकाल्नुपर्ने हुन्छ । ‘यो हाम्रो पुर्खाले बनाएको परम्परा हो,’ बन्धनकुमार भन्छन्, ‘यसमा मनोरञ्जनसँगै प्रतीकात्मक अर्थ पनि छ, मेहनत र धैर्यताले मात्रै फल पाउन सकिन्छ भन्ने ।’
ढौसी सकिएपछि टोलीले घरधनीलाई चामल र फूल आशिष दिन्छन् । मुन्डा उत्थान समिति झापाका अध्यक्ष विश्वदेव मुन्डाका अनुसार ढौसी टोलीले दिएको चामल र फूललाई घरमा राख्नाले सम्पत्ति बढ्ने विश्वास छ । त्यसैले सबै घरले यो आशिष अनिवार्य रूपमा लिन्छन् ।
७२ वर्षीय फागु मुण्डाका अनुसार पहिला झापाका मुण्डा बस्तीहरू ढौसीको तालमा रातभर झुम्थे । अहिले त्यो रौनक देखिन्न । ‘हाम्रा सबै परम्परा र संस्कृति क्रमशः हराउँदै गए’, यो समुदायकै जेष्ठ व्यक्ति फागुले दुखेसो पोखे, ‘पुरानो पुस्ता सकिदै गए, नयाँ पुस्ताले चासो दिनै छाडे ।’ उनका अनुसार सानो छँदा देउसी भन्दा ढौसीकै गुन्जन ठूलो सुनिन्थ्यो । सम्झिन्छन्, ‘अहिले त ढोल मादल बजाउने हातै भेट्न गाह्रो छ ।’ समाजमा परम्परागत संस्कृतिभन्दा आधुनिक मनोरञ्जनको प्रभाव बढ्दै गएको उनले उनी बताउँछन् । ‘पहिले गाउँका हरेक घरमा ढोल हुन्थे । तिहार भित्रिनु महिना दिन अघि देखि ढोलको आवाज गुन्जिन थाल्थ्यो’, उनी थप्छन्, ‘तर, अहिले मोबाइलले त्यो ठाउँ लियो ।’
मुन्डा समुदायमा ढौसी नाचगान सँगै सामाजिक एकताको प्रतीक रहेको उनी बताउँछन् । तर, यो परम्परा बिस्तारै हराउँदै जाँदा उनी जस्ता अगुवाहरू चिन्तित छन् । मुन्डा उत्थान समिति झापाले पछिल्ला वर्षमा ढौसीलाई पुनर्जीवित गर्न विभिन्न प्रयास गरिरहेको छ । समुदायका युवालाई बाजा बजाउने तालिम, गीतको शब्द संकलन र पोशाक संरक्षणका काम भइरहेको छ । ‘हामीले हरेक वर्ष लक्ष्मीपूजाको अघिल्लो दिन सामूहिक अभ्यास गर्छौं,’ समिति अध्यक्ष विश्वदेव मुन्डा भन्छन्, ‘बालबालिकालाई पनि सिकाइरहेका छौं ताकी यो परम्परा उनीहरूले अगाडि बढाउन सकून् ।’ उनका अनुसार अहिले मुन्डा बस्तीमा ढोल, नगारा र मादल बजाउन जान्ने ज्यादै कम छन् । पहिले सयभन्दा बढी थिए ।
ढौसीको लय र गीत मनोरञ्जनका लागि होइन । यसमा मुन्डा समुदायको जीवन, श्रम र विश्वास झल्किन्छ । गीतका शब्दमा खेतीपाती, पशुपालन, प्रेम र प्रकृतिप्रतिको आस्था मिसिएको हुन्छ । ढौसीको अन्त्यमा टोलीले गाउँका सबै घर पुगेर आशीर्वाद बाँड्छ । घरधनीले ढौसी टोलीलाई चामल, पैसा र जाँड दिँदै सम्मान गर्छन् । त्यो लेनदेनले आर्थिक भन्दा बढी सामाजिक सम्बन्ध बलियो बनाउने उनीहरु बताउँछन् । ‘ढौसी खेल्दा मात्र हाम्रो गाउँ एउटै परिवारजस्तो लाग्छ,’ फूलकुमारी मुण्डा भन्छिन्, ‘सबै उमेरका मानिस नाच्दा, हाँस्दा गाउँ नै रमाइलो हुन्छ ।’ ढौसी समाप्त भएपछि गाउँको मुख्य चोकमा सामूहिक भोज गरिन्छ । त्यहीबेला गीत, नृत्य र हाँसो–ठट्टाबीच तिहार समाप्तिको उद्घोष गरिन्छ ।
