हिमाली गाउँमा छैन तिहारको रौनक, पुसे भैलीकै चलन धेरै

कर्णालीका हिमाली जिल्लाहरू जुम्ला, कालीकोट, मुगु र तल्लो हुम्लाका गाउँहरुमा अझै पनि पुसे भैलीकै चलन छ ।

कार्तिक ४, २०८२

कृष्णप्रसाद गौतम

There is no Tihar splendor in the Himalayan villages, the customs of Puse Bhaili are more prevalent

What you should know

सुर्खेत — मुगुको सोरु गाउँपालिका–३ की सुशीला रावललाई अहिले मार्सीधान भित्र्याउने चटारो छ । ‘गाउँभरि नै बाली थन्क्याउने काममा छौँ,’उनले भनिन्,‘धान भित्र्याएर जौ लगाएपछि पुसतिर मात्र भैली मनाउँछौ ।’

उनका अनुसार मुन्दु, कोटिला, भीई, झ्यारी, नार्थपु, बामलगायत बस्तीमा तिहारभन्दा पुसे भैलीकै चलन बढी छ । पुस महिनामा पूर्णिमादेखि औंसीसम्म घरघरमा गई भैली खेलेर चामल, पैसा, तेल, नुन, दाल संकलन गर्ने गरिएको र वनभोज जाने चलन उनी बताउँछिन् । 

उनकी छिमेकी नौरता बुढा पनि खेतबारीको काम सकेपछि पुसे भैलीको तयारीमा लाग्ने सुरमा छिन् । ‘हिमालका लागि तिहार मनाउन पुसकै समय उत्तम छ,’ उनले भनिन्, ‘हिउँको मौसममा छरछिमेकी र आफन्तसँग नाचगान गर्दै रमाइलो गर्छौँ, त्यसले चिसो कटाउन पनि मद्दत पुग्छ ।’ 

कर्णालीका हिमाली जिल्लाहरू जुम्ला, कालीकोट, मुगु र तल्लो हुम्लाका गाउँहरुमा अझै पनि पुसे भैलीकै चलन छ । ‘सदरमुकामतिर भारततिरबाट फर्किएका स्थानीय, सरकारी कर्मचारी र सेना—प्रहरीले तिहारको माहोल भित्र्याएका हुन्, गाउँतिर त कसैले तिहारमा भैली खेल्दैनन्,’ सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले भने, ‘तिहारमा भाइटीकाको परम्परा त सामान्य रुपमा हुन्छ, पुसे भैलीमा देउसी खेल्ने हो ।’ उनका अनुसार पुसे भैलीमा बाजाको प्रयोग गरिँदैन । यो भैलो खेल्दा महिलाले सुती कपडाको फरिया धोतीको रूपमा र पिठ्यूँमा उचला लगाउँछन् । पुरुषहरुले पाखाको दौरासुरुवाल र हातमा ताखु कात्ने चलन रहिआएको छ । 

जुम्लाका संस्कृतिविद् रमानन्द आचार्यका अनुसार २०३२ सालमा जुम्लाबाट कालीकोटलगायत जिल्ला नछुट्टिँदासम्म तिहारको महत्त्व थिएन । ‘त्यसबेलासम्म भाइटीकामा दही–चामलको टिका लगाउने गरिन्थ्यो,’ उनले भने, ‘सप्तरंगी टिकाको चलन १०/१२ वर्षदेखि मात्र हुन थालेको हो ।’ अहिले सदरमुकाममा देउसीभैलो खेल्न र रोटीलगायत अनेक मिष्ठान्न परिकार पाक्न थालेको उनले बताए । 

कर्णालीका हिमाली जिल्लाहरुमा अधिकांश चाडबाड र मेलाहरु पूर्णिमा केन्द्रित छन् । अधिकांश बस्तीपिच्छे देउताका मठ (मष्ट) छन् । ती मष्ट–थानलाई खुसी पार्न हरेक पूर्णिमामा मेला पर्व लाग्छन् । ‘मष्ट पूजा नै हाम्रा लागि दसैं—तिहारभन्दा ठूला पर्व हुन्,’ कालीकोटको पचालझरना गाउँपालिकाका अगुवा पूर्णबहादुर शाहीले भने, ‘वर्षभरिमा पर्ने १२ वटै पूर्णिमामा कुनै न कुनै मेला र पर्व परिरहेका हुन्छन्, तीमध्येको एक पुसे पूर्णिमामा भैलो पनि हो ।’ 

अहिले काठमाडौं, नेपालगन्ज, सुर्खेतलगायत सहरहरूमा बसाई सरी गएका जुम्ला, मुगु र हुम्लाका बासिन्दाले पुसे भैली खेल्ने गरेका छन् । जुम्लामा कल्याल राज्यको पालादेखि पुसे (ठूली) भैलो खेल्ने चलन रही आएको स्थानीय जानकार राजुशरण न्यौपानेले बताए । ‘काठमाडौँमा बस्ने जुम्लीले काठमाडौंतिर पुसे भैलो खेल्न थालेपछि देशैभरि पुसे भैली फैलिन थालेको छ,’ उनले भने, ‘तिहारमा खेलिने भैलो कर्णालीको इतिहास होइन, कर्णालीको संस्कृति पुसे भैलो हो ।’ उनका अनुसार पुसको पूर्णिमादेखि औंसीसम्म भैली खेल्ने गरिएको छ । कर्णालीमा अन्नबाली भित्र्याएर भकारी भरीभराउ भएपछि थकाइ मार्ने मेलोका रूपमा पुसे (ठूली) भैलो खेल्ने गरिएको छ । 

गाउँहरुमा अत्यधिक हिमपात हुने भएकाले पनि स्थानीयले चिसो कटाउँदै रमाइलो गर्ने मेलोको रूपमा पुसे भैली खेल्ने गरेको उनले जानकारी दिए । 

डोल्पामा भने स्थानीयले छोरा तिहार पनि मनाउने गरेका छन् । पुस शुक्ल द्वितीयाका दिन छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ । ‘भाइटीकामा दाजुभाइ—दिदीबहिनीले टिका लगाएजस्तै छोरा तिहारमा आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकार दिने चलन छ,’ त्रिपुरासुन्दरी नगरपालिका–१ का अगुवा रमानन्द उपाध्यायले भने, ‘टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ ।’ छोराले पनि आमालाई दक्षिणाको रूपमा नगदसहित विभिन्न कपडा उपहार दिने चलन रहिआएको उनले बताए । आमाको हातबाट टिका लगाएपछि युवाहरू जम्मा भई भैलो खेल्ने प्रचलन रहेको उनको भनाइ छ । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully