तिहारमा गुन्जिन छाड्यो मादलको ताल र देउडाको स्वर

गाउँभरिका सबैजना जम्मा भएर दाजुभाइ र दिदीबहिनीको सम्बन्धको महत्त्व झल्काउने गरी खेलिने देउसी-भैलाेका गीत अहिले सुनिन छाडेका छन् ।

कार्तिक ४, २०८२

मेनुका ढुंगाना

The rhythm of the Madal and the voice of the Deuda ceased to resonate during Tihar.

What you should know

अछाम — करनाली पुल, नसुक्यै हजारी फूलबहिनी : आइगयो भाइटीका तिहार, हजारी फूल फूलीदाजुभाई बम्बैका कुना, माइतीघर म डुली ।

दाजु : फोटो हेरी टिका लाउनु , यो साल अवाइ छैन
     न रो बहीनी तिहार सम्झी, साहु बिदा दिँदैन ।
बहिनी : सप्तरंगी फूलका माला, उनी राखेकी छु
         दाजु आउने मूल बाटोमा, कुरी थाकेकी छु ।
दाजु  : वनजंगल रमाइलो होला, वाइ बासन्ना न्याउला
       यै साल यत्तिकै भयो, अर्को साला आउँला ।

दशकअघिका हरेक तिहारमा सुदूरपश्चिम र कर्णालीका गाउँबेस्तीमा घन्किने  विनोद बाजुरेली र विष्णु माझीको स्वर रहेको ‘करनाली पुल, नसुक्यै हजारी फूल’ बाेलकाे याे देउडा भाका अचेल सुनिन छाडेकाे छ । कामको खोजीमा भारतका विभिन्न सहर पुगेका दाजुभाई र घरमा भएका दिदीबहिनीले भाइटीकाकाे सम्झनामा गाएकाे याे गीत सुदूरपश्चिम र कर्णालीका अधिका‌ंश परिवारसित अहिले सान्दर्भिक छ । यहाँका अधिकांश पुरुष अहिले पनि भारत गएर कमाउने र महिलाले घर धान्नु बाध्यता जस्तै छ । पहिले विषेशगरी तिहारमा दिदीबहिनीले दाजुभाई र दाजुभाईले दिदीबहिनीलाई सम्झेर देउडा गाउने पनि गरिन्थ्यो । गायक–गायिकाले गाए जस्तै परदेसिएका दाजुभाई सम्झिँदै देउसी खेल्ने चलन थियो । दिदीबहीनी, दाजुभाईको प्रेम, बिछोडको पीडा समेटेर यस्तै भाकामार्फत देउसी खेलिन्थ्यो । 

पछिल्लो समय भने दाजुभाई, दिदीबहिनी बीचको प्रेम देखाउने तिहारको त्यो रौनक लोप हुँदै गएको छ । गाउँभरीका सबै जना जम्मा भएर दाजुभाई र दिदीबहिनीको सम्बन्धको महत्व झल्काउने गरी खेलिने देउसी-भैलाेका गीत अहिले सुनिन छाडेकाे मंगलसेन नगरपालिका–५ की ५५ वर्षीया गोमा जैशी बताउँछिन् । ‘पहिले गाउँका सबै मिलेर देउसी खेल्थे, देउडाबाट दाइभाई, दिदीबहिनीलाई सम्झिन्थे, अहिले त बजारमा आएका देउसीका गीत बजाउँदै हिँड्छन् । पहिले देउसी खेल्न आएकालाई चामल दिने चलन थियो । अहिले पैसा मात्रै भए पुग्छ भन्छन्,’ उनले भनिन्,‘देउसीको भाका हरायो, दाजुभाई, दिदीबहिनीलाई सम्झिने ती देउडा नसुनिदा पूरै मौलिकता गए जस्तो लाग्दै छ ।’ देउसी-भैलोमा गाउँभरी गुन्जिने मादल र थरीथरी देउडा भाकाका देउसी-भैलोका गीत लाेप हुने अवस्थामा पुगेको मंगलसेन नगरपालिका–५ का ७१ वर्षीय उदयराम सुवेदीले बताए । ‘पहिले देउसी भनेपछि सारा गाउँमा रौनक छाउँथ्यो । अहिले त खाली हल्ला मात्र भएको महशुष हुन्छ,’ सुवेदीले भने  । 

The rhythm of the Madal and the voice of the Deuda ceased to resonate during Tihar.

युवा पुस्ता चाँडपर्वका बेला समेत विदेशी गीत, नाचमा रमाउन थालेपछि स्थानीय लोकभाका, भेषभुषा र संस्कृति ओझेलमा परेको पाकाहरु बताउँछन् । पहिले दसैंतिहार आउँदा गाउँमा भुवो नाच हुड्के नाच, देउडालगायतका गीत तथा नाच र पञ्चेबाजाका स्वर गुञ्जिने गरेको मंगलसेन नगरपालिका–५ का ७० वर्षीय मानबहादुर बोहराले बताए । उनका अनुसार सामाजिक सद्भाव कायम गर्न र संस्कारको जर्गेना गर्ने उद्देश्यले तिहारमा खेलिने देउसी-भैलाेकाे संस्कार हराउन थालेको हो । उनले भने,‘तिहारको बेला देउसी–भैलो खेलेर रमाईलो गर्ने परम्परागत हाे । तुर्माखाँद, जयगढ, कमलबजार साँफेबगरलगायतका क्षेत्रबाट युवा समूहमा देउसी भैलो खेल्दै सदरमुकाम मंगलसेनसम्म आउने गर्थे  । अहिले त्याे चलन हटे जस्तै भएकाे छ ।’ देउसी-भैलो मौलिकता जर्गेना गर्नका लागि खेल्ने भन्दा चन्दा उठाए जस्तो गरिरहेको उनले बताए । 

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully