लिम्बू समुदायले बलिहाङ तङ्नाम मनाउने क्रममा च्याब्रुङसहितका मौलिक बाजा बजाँउदै समूहमा नाच्ने चलन छ । नाम्लिङ्गेक लारिङ्गेक खेल्न टोलभरका महिला, पुरुष एउटै समूहमा भेला भएर गाउँघर घुम्ने गर्छन् ।
What you should know
पाँचथर — कोशी प्रदेशका लिम्बू समुदायले तिहारमा देउसी–भैलो जस्तै बलिहाङ तङ्नामका रुपमा मनाउँछन् । उनीहरु देउसी–भैलो जस्तै एक जनाले भट्याउने र समूहका सदस्यहरुले नाम्लिङ्गेक, लारिङ्गेक भन्दै देउसी जस्तै खेल्ने गर्छन् ।
लिम्बू समुदायले बलिहाङ तङ्नाम मनाउने क्रममा च्याब्रुङसहितका मौलिक बाजा बजाँउदै समूहमा नाच्ने चलन छ । नाम्लिङ्गेक लारिङ्गेक खेल्न टोलभरका महिला, पुरुष एउटै समूहमा भेला भएर गाउँघर घुम्ने गर्छन् ।
बलिहाङ तङ्नाम मनाउन समुदायमा निस्केका मध्ये एक जना टोली नेताले लिम्बू भाषामै भट्याउँछन् भने आशिष पनि आफ्नै भाषाबाटै दिन्छन् । त्योबेला समूहका सदस्यहरु मौलिक पोशाकमा आँगन ढाकेर देउसी खेल्दाको दृश्य निकै रमाइलो र आकर्षक हुन्छ । राजा बलिहाङको प्रसिद्धि गाउँदै गाउँघर घुमेर उनीहरुले रमाइलो गर्छन् । यसरी समूहमा देउसी खेल्नेलाई दानदक्षिणाका रुपमा नाङ्लोभरी चामल, सेलरोटी, पैसा र सगुनका रुपमा जाँडरक्सी टक्र्याउने गर्छन् ।
किराँत इतिहासका जानकार याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगूले देउसी–भैलोका रुपमा नाम्लिङ्गेक लारिङ्गेक भनेर खेलनिे लिम्बू समुदायमा भाइटीका लगाउनु अनिवार्य नरहेको बताए । ‘लिम्बू संस्कृतिमा चेलीले माइती र माइतीले चेलीलाई फूल दिन हुँदैन भन्ने विश्वास छ । यद्यपि पछिल्लो समय लिम्बू समुदायमा पनि भाइटिका लगाउन थालेका छन्,’ उनले भने ।
लिम्बू समुदायले यो पर्वलाई याक्थुङ (लिम्बू) पात्रोअनुसार वलिहाङ तङ्नाम मनाउने गरेका हुन् । वलिहाङ तङ्नाम कृतिका लेखक तथा लिम्बू भाषा, संस्कृतिका अध्ययेता हरिचन्द्र लावती बलिहाङ तङनाम चार दिनसम्म मनाइने बताउँछन् । लिम्बू समुदायले औंसीका दिन दियो बालेर मन्दिरमा पृथ्वी, सूर्यलगायत ब्रम्हाण्डका सबै ग्रहको शान्ति पूजा गर्छन् ।
पूर्वका मगर, राई र तामाङ समुदायले पनि तिहारलाई मौलिकता जोगाउने पर्वका रुपमा मनाउने गरेका छन् । मगरले मौलिक पोशाक र भेषभुषामा सजिएर हुर्रा नाच्छन् भने राई समुदायमा साकेला र तामाङ समुदायले डम्फु बजाएर तामाङ सेलो नाँच्दै देउसी–भैलो खेल्छन् ।
