माई खोला किनारमा फेरि संघर्षको सुरुआत

गत शनिबार मध्यरातमा माई खोलामा अचानक आएको बाढीले ३५ परिवार रहेको राजदुवाली बस्ती नामेट भएको छ, ५७ वर्षअघि पनि यस्तै विपद्को सामना गर्नुपरेको इलामले यस पटकको बाढीपहिरोमा ३९ जनालाई गुमाइसकेको छ।

आश्विन २२, २०८२

पर्वत पोर्तेल

On the banks of the Mai River, the struggle begins again

What you should know

इलाम — इलाम नगरपालिका–१०, राजदुवालीस्थित माईखोलाको किनारमा रहेको सानो बस्ती त्यो रात गहिरो निद्रामा थियो । नजिकै शान्तसँग बगिरहेको माईखोला एक्कासि उर्लिएर बस्ती नै बगाउला भन्ने कसैले कल्पनासम्म पनि गरेका थिएनन् । तर क्षणभरमै सिंगो बस्ती बाढीले बगायो । गत शनिबार राति आएको उक्त बाढीले राजदुवाली बस्तीका सबै ३५ घर पूर्णरूपमा बगायो । 

१८ असोजको त्यो रात सम्झिँदा राजदुवालीकी कञ्चन मेचे अझै पनि झस्किन्छिन् । अनौठो आवाजसहित गड्गडाउँदै आएको माईखोलाको बाढीबाट उनको परिवार बालबाल जोगिएको थियो । ‘राति साढे १२ बजेतिर बाहिर अनौठो आवाज सुनें,’ कञ्चन सम्झिन्छिन्, ‘के रहेछ भनेर हेर्न निस्केको त बाढी घरसम्मै आइपुगिसकेको रहेछ । बच्चा च्यापेर ज्यान जोगाउन भाग्यौं ।’

इलामका अगुवा धर्म गौतमका अनुसार २००७ अघि हालको राजदुवालीमा माईखोला बग्थ्यो । तत्कालीन बडा हाकिम राजशमशेरले खोलाको धार फर्काएर दुवाली थापेका कारण यस क्षेत्रको नाम ‘राजदुवाली’ रहन गएको हो । खोलाले धार परिवर्तन गरेपछि लामो समयसम्म यो ठाउँ टापुजस्तै रह्यो । तर, २०५० को दशकपछि क्रमशः यहाँ बस्ती बस्न थालेको गौतम बताउँछन् । गिट्टी कुटेर जीविका चलाउने श्रमिक समुदायहरूका कारण बस्ती विस्तार हुँदै गयो । ‘पहिले थोरै परिवार थिए, बिस्तारैबिस्तारै सानो गाउँ नै बन्यो,’ गौतम भन्छन्, ‘तर, अब माईखोला पुरानै धारमा फर्किंदा सबै बगायो ।’

राजदुवालीवासीमा अहिले बचेको छ त मात्रै बाढीको त्रास र असहाय वेदना । ‘सामान केही झिक्न पाइएन,’ माईखोला बाढीका पीडित लाक्पा शेर्पाले चिन्तित हुँदै भने, ‘यस्तो बिजोग होला भनेर त कहिल्यै सोचेकै थिएनौं ।’ विगत १५ वर्षदेखि यो बस्तीमा बस्दै आएका गर्जमान मगरले पनि यस्तो विपत्ति पहिलो पटक भोगेको बताए । उनका छिमेकी अमित रुम्दाली राईको पीडा पनि उस्तै छ । उनको घरमा त अझ बिहेको तयारी चलिरहेको थियो । दसैंको मौकामा टीकोटालो गरेर बिहेको तयारीमा जुटेका राईले सुनाए, ‘त्यही रात बाढीले घर सोरेर लग्यो, जंगलतिर भागेर ज्यान बचायौं ।’

On the banks of the Mai River, the struggle begins again

खासमा राईले घरमा बाढी पसेको भेउ नै पाएका थिएनन् । छिमेकीहरूले तारन्तार फोन गरे पनि मस्त निद्रामा रहेका उनी नउठेपछि ढोका नै ढक्ढकाउँदै पुगेपछि बल्ल थाहा पाए । ‘छिमेकीले ढोका नढक्ढकाएको भए ज्यानै जाने रहेछ,’ राई सुनाउँछन्, ‘धेरै जिन्सी सामानहरू बगेर गयो ।’ ३३ वर्षदेखि यहाँ बसोबास गर्दै आएका उनले यसअघि त्यस्तो बाढी कहिल्यै नभोगेको बताए । राजदुवालीकै डुक्पा विश्वकर्माले पनि बाढीले बगाउनुअघि घरबाट केही पनि सामान झिक्न पाएनन् । ‘धन्न ज्यान बच्यो,’ विश्वकर्माले सुनाए, ‘गाउँलेले उद्धार नगरेको भए त ज्यानै जाने रहेछ ।’ 

वडा अध्यक्ष दिलीप प्रधानका अनुसार दिपेन राई, धनपति दुलाल, डुक्पा विश्वकर्मा, पदम राई, धनराज सुब्वा, सुक्रे तामाङ, तारामणि दर्जी, दावा शेर्पा, सुरेश गुरुङ, हिमाल मेचे, तारा थापा, अमृत राई, डम्बर राई, यामबहादुर बराइली, जंगबहादुर नेपाली, अम्बर तामाङ, मीनबहादुर थापा, विनोद पाँचकोटी, हेमराज दमाईलगायतका ३५ घर माईखोलाको बाढीमा बगे ।

बाढीपीडितहरू यतिबेला छिमेकी, आफन्त र विद्यालय, सार्वजनिक भवनमा आश्रय लिएर बसेका छन् । केही भने वडा कार्यालयले उपलब्ध गराएको त्रिपाल टाँगेर गुजारा गरिरहेका छन् । ‘खानाको प्रबन्ध वडा कार्यालयले गरेको छ,’ विश्वकर्माले भने, ‘सरकारले अहिलेसम्म कुनै राहत उपलब्ध गराएको छैन ।’ जाडोका कारण बच्चा तथा वृद्धवृद्धाहरू बढी प्रभावित भएका छन् । एकसरो लुगाका भरमा उनीहरू चिसो रात काट्न बाध्य छन् । ‘बिरामी थिएँ, घर बगाएर झनै बिजोग भयो,’ मुटुकी बिरामी जुनिया मेचेले भनिन् । 

On the banks of the Mai River, the struggle begins again

५७ वर्षपछि दोहोरिएको विपत्ति

इलामका अगुवा गौतमका अनुसार, २०२५ तिर पनि इलामले यस्तै प्राकृतिक विपत्ति बेहोरेको थियो । त्यो बेला पनि माईखोला उर्लिएर आउँदा धेरै घरहरू बगाएको थियो । त्यो वर्षको बाढी र पहिरो इलाममा मात्रै नभई भारतको दार्जिलिङ र सिक्किममा पनि आएको थियो । ‘यस पटक इलाममा ३९ जनाको मृत्यु भयो, दार्जिलिङमा २० जनाको,’ गौतम भन्छन्, ‘त्यो बेला पनि सयौंको निधन भएको थियो । धेरै भौतिक सम्पत्तिमा क्षति पुगेको थियो ।’ ५७ वर्षपछि दोहोरिएको उस्तै प्रकृतिको बाढीपहिरोबारे गौतम थप्छन्, ‘इतिहास फेरि दोहोरिएको छ ।’ 

३९ को मृत्यु, राजमार्ग बग्यो 

बाढीपहिरोले इलाममा ३९ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार इलामको सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिकामा ७, सन्दकपुर गाउँपालिकामा ७, माङसेबुङ गाउँपालिकामा ३, माई जोगमाई गाउँपालिकामा ८, देउमाई नगरपालिकामा ८, फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको थियो । 

मेची राजमार्गका धेरै ठाउँ पहिरोले भासिएका छन् । प्रहरीका अनुसार बाढीले इलामस्थित माईखोलाको बेलिब्रिजमा क्षति पुगेको छ । मेची राजमार्गको विकल्पका रूपमा उपभोग गरिँदै आएको कञ्चनजंघा केचना सडकको पक्की पुलमा पनि बाढीले क्षति पुर्‍याएको छ । यस्तै, इलाम र पाँचथरका भित्री सडकहरूको दर्जनौं ठाउँमा पहिरो गएको छ ।

On the banks of the Mai River, the struggle begins again

इलामको माईखोला पारिको सडक पनि पहिरोले पुरिएको छ । जसका कारण सर्वसाधारणले कष्टपूर्ण यात्रा गरिरहेका छन् । सुरक्षाकर्मीले बनाएको वैकल्पिक बाटो प्रयोग गरेर उनीहरू गन्तव्यमा गइरहेका छन् । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार मेची राजमार्गको बन्चरे गोलाइबाट बिब्ल्याटे हुँदै नेपालटार जोड्ने राजमार्ग पूर्ण रूपमा भत्किएको छ । ती राजमार्गलाई चाँडो मर्मत गरी सञ्चालनमा ल्याउनका लागि तीव्र गतिमा काम भइरहेको प्रजिअ नेपालले बताइन् । ‘राजमार्ग सुचारु गर्न हामी लागिपरेका छौं,’ उनले भनिन् । 

प्रदेश सरकारद्वारा राहत

कोशी प्रदेश सरकारले इलामका पहिरोपीडितलाई हेलिकोप्टरमार्फत राहत वितरण गरेको छ । मंगलबार इलाम नगरपालिका–१० का २६ र माङसेबुङका १३ परिवारलाई म्याट्रेस, ब्ल्यांकेट, सिरानी, चामल, दाल, आलु, तेल, नुन र मसलासहितका सामग्री वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिए । हेलिकोप्टरमार्फत ल्याइएका राहत सामग्री दुई पालिकामा वितरण भइसकेका छन् भने इलामका अन्य क्षेत्र र झापाका लागि थप राहत पठाउने तयारी भइरहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की आफैं राहत बोकेर प्रभावित क्षेत्र पुगेका थिए ।  

On the banks of the Mai River, the struggle begins again

प्रजिअ नेपालका अनुसार सांसद सुहाङ नेम्वाङले समेत माईखोलाका बाढीपीडितलाई ओछ्यान र खाद्यान्नलगायतका राहत उपलब्ध गराएका छन् । यस्तै, इन्द्रेणी समूहले इलामका ५ मृतक परिवारलाई १०/१० हजार राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासनले सामाजिक सञ्जालमार्फत राहतका लागि आह्वान गरेको छ । प्रजिअ नेपालले भनिन्, ‘एकद्वार प्रणालीअनुसार राहत उपलब्ध गराउने हाम्रो लक्ष्य छ ।’ x

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully