सामाजिक सञ्जाल बन्द गर्ने निर्यणप्रति पत्रकार महासंघको आपत्ति

महासंघले नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ ।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

Journalist Federation's objection to the decision to close social media

काठमाडौँ — सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । बिहीबार सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि महासंघले विज्ञप्ति निकाल्दै जनताको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न नहुने बताएको हो । 

महासंघले सरकारको यो निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै असहमति जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, 'कुनै विकल्पबिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउनेमात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकामा महासंघ आश्चर्य प्रकट गर्दछ ।' 

महासंघले सामाजिक सञ्जाल नियमनको पक्षमा रहेको स्पष्ट पारेको छ । तर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई कदापि स्वीकार नगर्ने अडान लिएको छ । महासंघले नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ ।

कान्तिपुर

Link copied successfully