सामाजिक सञ्जाल प्रतिबन्धको असर केके हुन सक्छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सरकारले फेसबुकसहित सामाजिक सञ्जाल बन्द गर्ने अप्रिय निर्णय किन लियो ? यसको पृष्ठभूमि के हो र यसको असर कहाँकहाँसम्म पुग्नेछ ?

भाद्र १९, २०८२

सजना बराल

What can be the effect of social media ban? 6 Find out in the Q&A

What you should know

काठमाडौँ — सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएलगत्तै सरकारले बिहीबार यस्तो निर्णय लिएको हो ।

सरकारले किन यस्तो अप्रिय निर्णय किन लियो त ? यो निर्णयको असर कहाँ-कहाँसम्म पुग्नेछ ? अनि के यस्तै अवस्था अरु देशमा पनि आएको थियो ? यी र यस्तै जिज्ञासालाई हामीले पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

यसअघि सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकले नेपालका सर्तहरू मान्न तयार रहेको व्यहोरासहितको पत्र सञ्चार मन्त्रालयमा बुझाएछि मात्रै ९ महिनापछि ६ भदौ २०८१ मा सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गर्‍यो । टिकटकजस्तै अरु सामाजिक सञ्जालले पनि सरकारका सर्त मानेर नेपालमा सूचीकृत हुन आउन भन्ने सरकारको मनसाय थियो । त्यसैले सरकारले प्लाटफर्महरूलाई सूचीकृत हुन आग्रह गर्दै पाँचपटकसम्म सूचना निकालिसकेको थियो ।

१५ मंसिर २०८० मा सरकारले सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुन अनुरोध गरेको थियो । यसपछि यस्तै सूचना मन्त्रालयले पटक-पटक निकालिसकेको छ । यहीबीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित नौ न्यायाधीशको बृहत् पूर्ण इजलासले ‘सिधाकुरा डटकम’ विरुद्धको अदालतको अवहेलना मुद्दामा भदौ २ गते फैसलाको पूर्णपाठ सार्वजनिक गर्‍यो । जसमा सर्वोच्चले सामाजिक सञ्जाल दर्ता गरेर मात्र चलाउन सरकारको नाममा आदेश जारी गर्‍यो । यो सबै पृष्ठभूमिमा सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अप्रिय निर्णय लिएको हो । 

सरकारले २०८० मंसिरयता सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाका नाममा पाँचपटक सूचना निकालिसकेको छ । सरकारले २०८० मंसिरमा नेपालमा मुख्य सामाजिक सञ्जालहरुलाई  पत्राचार पनि गरेको थियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले १३ वैशाखमा एक कार्यक्रममा बोल्दै फेसबुकको माउ कम्पनी मेटालाई तीन पटकसम्म लगातार अवसर दिँदा र प्रतिनिधिमार्फत आग्रह गर्दासमेत अटेर गरेको आरोप लगाएका थिए । उनले मेटासँगै एक्स, लिंक्डइनलगायत अन्य सामाजिक सञ्जाल प्लाटर्फमलाई पनि मन्त्रालयमा सूचीकृत अनुरोध गरेको बताएका थिए । सरकारले अन्तिम पटक २०८१ चैत ७ मा अन्तिम पटक सूचीकरणका लागि ३० दिनको समय दिएर पुनः सूचना प्रकाशित गरेको थियो । त्यसपछि सरकारले ०८२ भदौ १२ मा ७ दिनको अन्तिम म्याद दिएको थियो । 

अहिलेलाई सूचीकृत भएका ५ र सूचीकृत हुने प्रक्रियामा रहेका २ गरी ७ वटा एप्लिकेसन चल्छन् । टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका छन् । टेलिग्राम र ग्लोबल डायरीले सूचीकृत हुन निवेदन दिएका छन् । यसबाहेक सबै प्लाटफर्म निष्क्रिय बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । ‘नेपालमा अहिले २५/२६ वटा सामाजिक सञ्जाल एप बढी प्रयोगमा छन्,’ मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, ‘कुन-कुन, कतिवटा बन्द हुन्छन् भन्ने यकिन विवरण छैन, हजारौं एप बन्द हुन सक्छन् ।’ 

नेपालमा १ करोड ४३ लाख प्रयोगकर्ता रहेको फेसबुक, १ करोड ९० हजार प्रयोगकर्ता रहेको म्यासेन्जरदेखि इन्स्टाग्राम, एक्स, लिंक्डइन, रेडिट, थ्रेड्स, युट्युब, ह्वाट्सएप, स्न्याप च्याट, पिन्ट्रेस्ट, सिग्नल, क्लब हाउस, रम्बल लगायत छन् । ‘ह्वाट्सएप र जिमेलचाहिँ सामाजिक सञ्जाल हुन् कि होइनन् भन्नेमा द्विविधा भयो,’ बिहीबार मन्त्रीस्तरीय बैठकमा सहभागी एकले भने, ‘सञ्चार सुविधा विच्छेद नगर्ने भन्ने हो ।’ बैठकमा सामाजिक सञ्जालभित्र केके पर्छन् भन्नेमा लामै छलफल भएको उनले सुनाए । तर सरकारले अहिलेसम्म ह्वाट्सएप र जिमेल बन्द हुन्छ कि हुँदैन भनेर स्पष्ट पारिसकेको छैन । 

पक्कै पर्छ । फेसबुकले हालै मात्र नेपालमा कन्टेन्ट मनिटाइजेनस प्रोग्राम सुरु गरेको थियो । यसले कन्टेन्ट क्रिएटरहरूलाई फेसबुक पोस्ट, तस्बिर, रिल, भिडियोमार्फत आम्दानी गर्ने अवसर प्रदान गर्छ । क्रिएटरहरूले नेपालकै बैंक खातामा भुक्तानी पाउने सुविधा पाएका थिए । मनिटाइजेनसका लागि योग्य हुन केही क्राइटेरिया भने तोकिएको छ । कम्तीमा ५ हजार फलोअर हुनुपर्ने, दुई महिनामा ६० हजार मिनेटको वाच टाइम हुनुपर्नेजस्ता मापदण्ड थिए । नेपालको डिजटल अर्थतन्त्रका लागि फेसबुकको कन्टेन्ट मनिटाइजेसनलाई सकारात्मक मानिएको थियो । 

यसअघि सरकारले टिकटक बन्द गरेपछि प्रयोगकर्ताले भने भीपीएन र ओपन डीएनएसको सहयोगमा टिकटक चलाएका थिए । यसले अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गरेको र नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीको आम्दानीमा नकारात्मक प्रभाव परेको चर्चा भएको थियो । त्यतिबेला एनसेलका प्रतिनिधिले त सार्वजनिक रूपमै टिकटक बन्द हुँदा प्रतिमहिना झन्डै ६० करोड रुपैयाँ बराबरको आम्दानी गुमेको अभिव्यक्ति दिएका थिए ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १४ वटा छुट्टाछुट्टै रिट दायर भएका थिए । गुगल, एप्पल, मेटा, अमेजन, याहु, लिंक्डइन, राकुटेन, स्पटिफाइजस्ता सामाजिक सञ्जाल कम्पनीका प्रतिनिधि संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले उचित कानुनी प्रावधानबिना टिकटकमा प्रतिबन्ध लगाउनु र अन्य एपमा पनि निगरानीको तयारी थाल्नु अन्तर्राष्ट्रिय अभ्यासविपरीत भएको भन्दै दुईपटक सरकारलाई पत्र पठाएको थियो । पछिल्लो निर्णयको असर अभिव्यक्ति स्वतन्त्रतामा कसरी पर्छ र मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रतामा काम गर्ने संघ संस्थाहरुले यसमा कसको प्रतिक्रिया जनाउँछन् भनेर हेर्नै बाँकी छ । 

सजना बराल बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully