नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नीतिगत रूपमा आजैदेखि नेपालमा टिकटक बन्द भएको बताइन् । 'नीतिगत रूपमा आजदैखि बन्द भयो । प्राविधिक रूपमा कति समय लाग्छ भन्ने कुरा हो । प्राविधिक रूपमा आवश्यक पर्ने व्यवस्था सञ्चार मन्त्रालयले मिलाउनेछ,' सञ्चारमन्त्री शर्माले इकान्तिपुरसँग भनिन् । लगातार सामाजिक सञ्जाल टिकटकबाट लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको पनि मन्त्री शर्माले बताइन् ।

अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश टिकटकसँग सम्बन्धित भएको तथ्यांक छ ।

फेक एकाउन्ट खोलेर जसले जसलाई जे पनि गर्न सक्ने र बदनाम गराउने सामग्रीलाई स्वतः हटाउने कुनै संयन्त्र टिकटकमा छैन । केही देशले टिकटकलाई प्रतिबन्ध नै लगाएका छन् भने अमेरिका, फ्रान्ससहित ५० भन्दा बढी विकसित देशले यसको नियमनका लागि कदमहरू चालेका छन् ।

सम्पादकीय : टिकटकले फैलाएको उन्माद नियमन कहिले ?

बच्चादेखि वृद्धवृद्धासम्म जुनसुकै उमेर र पेसाकाले सर्वाधिक प्रयोग गर्ने टिकटकले नेपालमा पनि मनोसामाजिक समस्या ल्याएको देखिएपछि गृह मन्त्रालय कुनै न कुनै हिसाबले टिकटकको नियमन गर्ने अवस्थामा पुगेको हो । साइबर ब्युरो, गृह मन्त्रालय र टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच गत हप्ता पनि यस विषयमा छलफल भएको थियो ।

प्रकाशित : कार्तिक २७, २०८० १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?