रवि लामिछानेलाई शनिबार अपराह्न साढे ४ बजेको बुद्ध एयरको उडानबाट काठमाडौं पठाइएको छ ।
भैरहवा — सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शनिबार अपराह्न साढे ४ बजेको बुद्ध एयरको उडानबाट काठमाडौं पठाइएको छ । कडा सुरक्षाबीच रुपन्देही जिल्ला कारागारबाट भैरहवास्थित गौतमबुद्ध विमानस्थलसम्म पुर्याइएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने गत चैत २५ देखि पुर्पक्षका लागि रुपन्देही कारगारको ब्लक नम्बर ४ मा थिए । कारागार स्थानान्तरण माग गर्दै लामिछानेले जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो । त्यसको ७९ दिनपछि शुक्रबार कारागार व्यवस्थापन विभागले स्थानान्तरणको निर्णय गरेको थियो ।
लामिछानेलाई कारागारबाट विमानस्थलतर्फ लैजाने क्रममा आइपुगेका रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले अदालतले समेत कारागार सार्न अनुमति दिइसकेको अवस्थामा सरकारले ढिलाई गरे पनि चौतर्फी दबाबका कारण अहिले सम्भव भएको प्रतिक्रिया दिए ।
लामिछानेलाई स्थानान्तरण गर्ने भएपछि भैरहवा कारागारअगाडि शनिबार दिउँसो कार्यकर्ताको भीड लागेको थियो ।
