आयोगलाई रवि लामिछानेले सुनाएका मुख्य ३ गुनासा

लामिछानेले स्वच्छ हावामा हिँडडुल गर्न नपाएको, ठाउँसारी हुन नसकेको र भेटघाटमा सहजता नभएको विषय मुख्य रुपमा उठाएका थिए ।

श्रावण २६, २०८२

दीपेन्द्र बडुवाल

The main 3 complaints made by Ravi Lamichhane to the commission

What you should know

भैरहवा — कारागार र कैदीबन्दीको अवस्था निरीक्षण गर्न पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीसित रास्वपा सभापति रवि लामिछानेले प्रमुख तीन गुनासा व्यक्त गरेका छन् ।

सोमबार आयोगकी आयुक्त लिली थापा, आयोगका लुम्बिनी कार्यालय प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बीसीसहितले कारागार निरीक्षण गरेका थिए । उनीहरूले कारागारमा रहेका लामिछानेसँग समेत कुराकानी गरेका थिए ।

लामिछाने कारागारको ४ नम्बर ब्लकमा छन् । कुराकानीका क्रममा लामिछानेले बसोबास र खानाको व्यवस्था राम्रो भए पनि एक सय दिनसम्म स्वच्छ हावामा हिँडडुल गर्न नपाएको बताएका थिए । लामिछानेले अदालतले अनुमति प्रदान गरिसकेको कारागार स्थानान्तरणको विषय रोकिएकामा आयोगको ध्यानाकर्षण गराएका थिए । यसबारे आयुक्त थापाले पनि चासो दिइन् । 

लामिछानेलाई ठाउँसारी नगर्नुको कारणबारे आयोगको गम्भीर ध्यानाकर्षण भएको थापाको भनाइ थियो । काठमाडौं गएपछि कारागार व्यवस्थापन विभागमा पुगेर यसबारे छलफल गर्ने थापाले प्रतिबद्धता जनाइन् ।

लामिछानेलाई राखिएको ब्लकका झ्याल प्लाइउडले टालिएका छन् । ती झ्यालका प्लाइउड हटाएर हावा छिर्ने वातावरण बनाउनुपर्ने आयुक्त थापाको भनाइ छ । आफूले ध्यानाकर्षण गराएपछि कारागार प्रमुख सुरेश भण्डारीले झ्यालबाट प्लाइउड हटाउने बताएको उनले जानकारी दिइन् । 

यसबाहेक लामिछानेले कानुनी प्रक्रियाका लागि आफूलाई भेट्न आउने व्यक्ति, शुभेच्छुक र कार्यकर्तासित भेटघाटमा सहजता नभएको बताएका थिए । कारागारमा दैनिक पत्रपत्रिका नआउने भएकाले नियमित पढ्न नपाएको लामिछानेले गुनासो गरेका थिए ।

दीपेन्द्र बडुवाल

Link copied successfully