नाउपामा किचलो : रेशमले पत्नीलाई हटाएर बुवालाई बनाए अध्यक्ष

बर्दिया-२ बाट संघीय सांसद निर्वाचित लालवीर रेशमकै बुवा हुन् । रेशमले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर अध्यक्षमा बुवालाई ल्याएका हुन् ।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Naupama Kichlo: Resham removed his wife and made his father the president

What you should know

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशमलाल चौधरी पक्षले केन्द्रीय समितिको अध्यक्षको जिम्मा लालवीर चौधरीलाई दिएको छ । बुधबार र बिहीबार बसेको रेशम पक्षको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष तोकेको संसदीय दलका नेता गंगाराम चौधरीले बताए । 

बर्दिया-२ बाट संघीय सांसद निर्वाचित लालवीर रेशमकै बुवा हुन् । रेशमले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर अध्यक्षमा बुवालाई ल्याएका हुन् ।

रञ्जितालाई आफूमाथि लागेको आरोपबारे राष्ट्रिय भेलामा आएर स्पष्ट पार्न आग्रह गरिए पनि त्यसको बेवास्ता गरेको रेशमको भनाइ छ । 'हामीले पटक-पटक उहाँमाथि लागेको आरोपबारे भेलामै आएर स्पष्ट पार्न भन्यौँ,' उनले भने, 'रञ्जिताजी भेलामा नआएपछि पार्टीले नयाँ नेतृत्व चयन गरी निकास दिएको हो ।'

यसअघि रेशम पक्षको भेलाले अध्यक्ष रञ्जितालाई पार्टीबाट निष्कासन गरेको थियो। काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको हो । रञ्जिता पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने बिचौलियाको प्रपञ्चमा समेत मुछिएपछि नाउपाभित्र विवाद देखिएको हो ।

पार्टीको विवाद चर्किँदै गएको अवस्थामा रञ्जिताले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् । पार्टी हितविपरीत, विधान र राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानविपरीत कार्य गरेकाले कारबाही किन नगर्ने ? भने अध्यक्ष श्रेष्ठले दलका नेता चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् । 

कान्तिपुर

Link copied successfully