नागरिक उन्मुक्ति विवाद : अनुशासन समितिद्वारा अध्यक्ष रञ्जितालाई कारबाही गर्ने निर्णय

बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्ष श्रेष्ठ चौधरीलाई स्पष्टीकरण माग्दै कारबाहीको चेतावनी दिएका छन्।

श्रावण १४, २०८२

अर्जुन शाह

Civil Immunity Controversy: Decision to take action against Chairman Ranjita by Disciplinary Committee

What you should know

धनगढी — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई अनुशासन समितिले कारबाही गर्ने निर्णय गरेको छ। मंगलबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको एक जना संस्थापक केन्द्रीय सदस्यले बताए।

आइतबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष श्रेष्ठ चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। अध्यक्ष श्रेष्ठ चौधरीले स्पष्टीकरण नबुझाएपछि कारबाही गर्ने निर्णय गरिएको ती सदस्यले बताए। स्पष्टीकरण सोध्नुअघि पनि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएकी अध्यक्ष श्रेष्ठ चौधरीलाई केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यहरूले ९ गते शुक्रबार २४ घण्टे ‘अल्टिमेटम’ दिएका थिए। तर अध्यक्ष श्रेष्ठ चौधरीले भने सुनुवाइ गरेकी थिइनन्।

पार्टी नेताहरूका अनुसार तीन सदस्यीय अनुशासन समितिमा रामलाल डगौरा थारु संयोजक, पुन्नबहादुर बुढा र सुनिता चौधरी सदस्य छन्। सुनिता चौधरी भने आर्थिक अनियमितता प्रकरणमा हाल कञ्चनपुरमा थुनामा छिन्।

आइतबारकै बैठकले आज बुधबारका लागि राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको थियो। सोही अनुसार यति बेला नागरिक उन्मुक्ति पार्टीको भेला चलिरहेको संस्थापक केन्द्रीय सदस्य आलोक चौधरीले बताए। उनका अनुसार संस्थापक केन्द्रीय सदस्य र निर्वाचित जनप्रतिनिधिहरू भेलाका सदस्य हुन्छन्। ‘भेलामा कारबाहीबारे छलफल हुने र कार्यकारी अध्यक्ष कसलाई तोक्ने भन्ने निर्क्योल हुन्छ होला,’ चौधरीले भने।

अध्यक्ष श्रेष्ठ चौधरी पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिना प्रपञ्चमा मुछिएकी छन्। उनले शनिबार शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्। कार्यवाहकको जिम्मेवारी बास्तोलालाई दिइएपछि पार्टीको आन्तरिक विवाद झनै चुलिएको थियो।

नागरिक उन्मुक्ति गठन हुँदा निर्वाचन आयोगमा पेस गरिएको विधानअनुसार बनेको अध्यक्षसहित २१ सदस्यीय केन्द्रीय समितिमा भने बास्तोलाको नाम छैन। बास्तोलाले पार्टीको विधानअनुसार तीन जनालाई अध्यक्षले वरिष्ठ नेता मनोनयन गर्ने प्रावधानअनुरूप २४ असार ०८१ मा आफू वरिष्ठ नेता मनोनीत भएको बताए। विधानको धारा २० मा वरिष्ठ नेतासम्बन्धी व्यवस्था छ।

पार्टीका संरक्षक रेशम चौधरी र उनकी श्रीमती अध्यक्ष श्रेष्ठबीच लामो समयदेखि टकराब छ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully