नागरिक उन्मुक्तिमा विवाद : रञ्जिताले कार्यवाहक तोकिन्, बहुमत केन्द्रीय सदस्यले मागे २४ घण्टे स्पष्टीकरण

घूस ‘डिल’ प्रकरणमा अख्तियारको अनुसन्धानमा तानिएकै बेला केन्द्रीय समिति बैठक बोलाउन दबाब बढेपछि अध्यक्ष श्रेष्ठले शिव बास्तोलालाई दिइन् कार्यवाहक अध्यक्षको जिम्मेवारी

श्रावण १२, २०८२

अर्जुन शाह

Controversy on Civil Immunity: Ranjita appoints caretaker, majority central members ask for 24-hour explanation

What you should know

धनगढी — पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिना प्रपञ्चमा मुछिएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि आन्तरिक विवाद चर्किएको छ । पार्टीका संरक्षक एवं रेशम चौधरीको अगुवाइमा बहुमत पार्टी संस्थापकहरूको बैठकले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएकी अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यहरूले शुक्रबार २४ घण्टे ‘अल्टिमेटम’ दिएका थिए । श्रेष्ठले भने आफ्नो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म भन्दै आइतबार बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी छन् । ‘यस विषम परिस्थितिमा, हाम्रो नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा ९ बमोजिम तपार्इं वरिष्ठ नेता शिव बास्तोलालाई मेरो अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नका लागि यो पत्रमार्फत तोकिएको छ,’ बास्तोलालाई दिएको पत्रमा उनले भनेकी छन् । 

पार्टीको विधानको धारा १९ मा अध्यक्षको अधिकार र कर्तव्यसम्बन्धी व्यवस्था छ । त्यसको उपधारा ६ मा ‘आफूमा निहित अधिकार अन्य पदाधिकारीलाई प्रत्यायोजन गर्ने’ भनिएको छ । संरक्षक चौधरी पक्षका नेताहरू संस्थापक केन्द्रीय सदस्यलाई नै कार्यवाहकको जिम्मेवारी दिनुपर्ने तर्क गरिरहेका छन् । श्रेष्ठ पक्षधर नेताहरू भने कार्यवाहक तोक्ने अधिकार अध्यक्षको भएको दाबी गरिरहेका छन् । अध्यक्ष श्रेष्ठ पक्षधर संस्थापक केन्द्रीय सदस्य कोमल ज्ञवालीले भनिन्, ‘कसलाई कार्यवाहक तोक्ने भन्ने कुरा अध्यक्षको अधिकार क्षेत्रमा पर्छ । विधानले कार्यवाहक प्राप्त गर्ने कुनै मापदण्ड तोकेको छैन ।’

नागरिक उन्मुक्ति गठन हुँदा निर्वाचन आयोगमा पेस गरिएको विधानअनुसार बनेको अध्यक्षसहित २१ सदस्यीय केन्द्रीय समितिमा भने बास्तोलाको नाम छैन । बास्तोलाले पार्टीको विधानअनुसार तीन जनालाई अध्यक्षले वरिष्ठ नेता मनोनयन गर्ने प्रावधानअनुरूप २४ असार ०८१ मा आफू वरिष्ठ नेता मनोनीत भएको बताए । विधानको धारा २० मा वरिष्ठ नेतासम्बन्धी व्यवस्था छ । 

बास्तोलालाई कार्यवाहक तोकिएपछि बहुमत संस्थापकले श्रेष्ठलाई ‘पार्टीको अहित हुने गतिविधि गरेको, बैठक नबोलाएको, पार्टीलाई अनिर्णयको बन्दी बनाएको लगायत सवालमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरेको छ । नागरिक उन्मुक्तिका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा १३ जनाको उपस्थिति थियो । दामोदर पण्डितको अध्यक्षतामा बसेको बैठकमा रामलाल डगौरा थारू, लक्ष्मणकिशोर चौधरी, लालवीर चौधरी, बलवीर चौधरी, लक्ष्यबहादुर चौधरी, बिना थारू, पुन्नबहादुर बुढा, योगेन्द्र घिसिङ, गंगाराम चौधरी डगौरा, विपतराम चौधरी, आलोक चौधरी र ओशिनकुमारी चौधरी उपस्थित थिए । नागरिक उन्मुक्तिको संस्थापक केन्द्रीय समितिमा एक अध्यक्ष र २० सदस्य छन् । 

नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले बास्तोलालाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय केन्द्रीय समितिको नभएको बताए । ‘अहिलेको केन्द्रीय समितिले बास्तोलाजीलाई चिन्दैन । विधानको कुन आधारमा उहाँ (श्रेष्ठ) ले जिम्मेवारी दिनुभयो भन्नेबारेमा केन्द्रीय समितिले स्पष्टीकरण सोधेको छ,’ उनले भने । 

पोखराको बाटुलेचौरमा रहेको १३४ रोपनी जग्गा हडप्न तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, बिचौलिया सुजन लामा र पूर्वभूमि व्यवस्थामन्त्रीसमेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठबीच ‘घूस डिल’ भएको अडियो केही साताअघि सार्वजनिक भएको थियो । त्यो अडियो सक्कली रहेको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भइसकेको छ । अडियो थप पुष्टिका लागि अख्तियारले श्रेष्ठको स्वर परीक्षण पनि गरेको छ । 

पार्टीका संरक्षक रेशम चौधरी र उनकी श्रीमती अध्यक्ष श्रेष्ठबीच लामो समयदेखि टकराव रहँदै आए पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेको विषयमा भने एउटै स्वर सुनिएको थियो । उनीहरू दुवैको समझदारीमा पार्टीले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो । फिर्ता हुने निर्णय भए पनि संघमा राज्यमन्त्री अरुण चौधरी बहाल नै छन्, संसद्मा भने नागरिक उन्मुक्ति प्रतिपक्षमा छ । 

केही दिनयता भने संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबीच दूरी बढेको थियो । रेशम चौधरीले बिहीबार श्रेष्ठका लागि एउटा भिडियो सन्देश जारी गरेका थिए, जसमा उनले भनेका थिए, ‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन, तपाईंका कारण सिर्जना भयो । तर पनि हामीले तपाईंसँग सम्पर्क राख्ने प्रयास गरेकै छौं । तपाईं केन्द्रीय समितिको बैठकमा आउनुपर्छ । स्पष्ट रूपमा आफूमाथि लागेका आरोपहरूको जवाफ दिनुपर्छ ।’

नागरिक उन्मुक्तिलाई नजिकबाट नियाल्दै आएका कृष्ण सर्वहारीका अनुसार पछिल्ला दिनमा संरक्षक चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद बढाएको देखिन्छ । ‘त्यसबाट अध्यक्ष श्रेष्ठको मनमा चिसो पसेको र टकराव पुरानै अवस्थामा पुगेको देखिन्छ,’ उनी भन्छन् ।

०००

‘अध्यक्षले मनपरी कार्यवाहक तोक्न मिल्दैन’

- रेशम चौधरी, संरक्षक, नागरिक उन्मुक्ति

Controversy on Civil Immunity: Ranjita appoints caretaker, majority central members ask for 24-hour explanation

अध्यक्ष रञ्जिता श्रेष्ठले किन शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोक्नुभयो ?

बास्तोलाजीलाई कार्यवाहक तोकेको जानकारी मैले सामाजिक सञ्जालबाट पाएँ । पार्टी केन्द्रीय समितिको निर्णयबिनै कार्यवाहक तोकेकाले रञ्जिताजीलाई स्पष्टीकरण सोधिएको छ । २१ सदस्यीय संस्थापक केन्द्रीय समितिमा बास्तोलाजी हुनुहुन्न । यस विषयमा रञ्जिताले स्पष्टीकरण दिएपछि थाहा होला ।

कार्यवाहक तोक्ने अधिकार अध्यक्षलाई विधानले दिएको छैन र ? 

अध्यक्षले मनपरी कार्यवाहक तोक्न मिल्दैन । पार्टी विधानमा अध्यक्षले निरंकुश भएर मनपरी गर्न पाइँदैन भन्ने लेखिएको छ । पार्टीमा कुरै नगरी कार्यवाहक अध्यक्ष तोकेको विषयलाई बहुमत केन्द्रीय सदस्यले अस्वीकार गरिसकेका छन् । 

पोखराको लिची बगान जग्गा प्रकरणमा मुछिएको विषयमा अध्यक्ष श्रेष्ठले पार्टीमा जवाफ दिनुभयो ? 

अध्यक्षले आफूमाथि आरोप लागेपछि पार्टीभित्र जवाफ दिनुपर्छ । उहाँ निर्दोष हो भने जवाफ दिनुपर्‍यो । निर्दोष हो भने पार्टीले पनि आरोपको प्रतिवाद गर्ला । के कति कारणले उहाँ यो प्रकरणमा मुछिनुभयो ? जवाफ दिनुपर्‍यो नि । तर उहाँले पार्टीमा जवाफ दिन चाहनुभएन । बहुमत केन्द्रीय सदस्यले बैठक बोलाउन आग्रह गर्नुभयो । तर केन्द्रीय समिति बैठक पनि बोलाउनुभएन । बैठक बोलाएर आफूमाथि लागेको आरोपको जवाफ दिन किन गाह्रो ? 

अध्यक्ष रञ्जितालाई कारबाही गर्नुहुन्छ ?

पार्टीको बहुमत केन्द्रीय सदस्यको आग्रहलाई नमानेपछि पार्टी अनुशासन आयोग सक्रिय हुन्छ । पार्टी अनुशासन आयोगले यसबारे स्पष्ट गर्नेछ । 

पार्टी विधानअनुसार अघि बढेको अध्यक्ष रञ्जिताको दाबी छ नि ?

केन्द्रीय समिति र संसदीय दलको बहुमतको निर्णयलाई नमान्नुलाई कसरी विधानअनुसार भन्न मिल्छ ? केन्द्रीय समिति बैठक बोलाउने दायित्व अध्यक्षकै हो । तर चासो राख्नुभएन । हुन त रञ्जिता मेरी धर्मपत्नी हो । पार्टी एउटा कुरा हो, धर्मपत्नी अर्को कुरा हो । पार्टी निर्णय सबैले मान्नैपर्छ । पार्टी अध्यक्षलाई गम्भीर आरोप लागेपछि उन्मुक्ति पार्टीलाई गाली आएको छ ।

रञ्जिताले आफ्नो कुरा स्पष्ट गर्न नसक्दा नेता–कार्यकर्ताले अध्यक्षमाथि लागेको आरोपको प्रतिवाद गर्न सकेका छैनन् । उन्मुक्ति पार्टी रेशम चौधरी जेलनेल परेर बनेको हो । पश्चिम नेपालका थारूको त्याग, संघर्षबाट बनेको पार्टी हो । के आधारमा रञ्जिताले पार्टीलाई फेवातालको किनार (बास्तोलालाई कार्यवहाक अध्यक्ष) पुर्‍याउनुभयो ? जवाफ दिनुपर्छ ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully