बाटुलेचौर जग्गा प्रकरण : बयान दिन अख्तियार पुगिन् नाउपा अध्यक्ष श्रेष्ठ*

आवाज परीक्षणका लागि ‘रेकर्ड’ गराइँदै

श्रावण ७, २०८२

कान्तिपुर संवाददाता

Batulechaur land case: Authority came to give statement Naupa Chairman Shrestha*

What you should know

काठमाडौँ — पूर्वभूमि व्यवस्थामन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बयानका लागि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेकी छिन् । कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा मुछिएकी मन्त्री श्रेष्ठलाई अख्तियारले बयानका लागि बोलाएको हो । 

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबीच भएको घूस ‘डिल’ प्रकरणमाथि आयोगले अनुसन्धान गर्ने क्रममा सांसदसमेत रहेकी श्रेष्ठको पनि संलग्नता देखिएको भन्दै बयानका लागि बोलाइएको हो । अख्तियार स्रोतका अनुसार श्रेष्ठको 'भ्वाइस टेस्ट' पनि लिइँदै छ । घूस प्रकरणमा सार्वजनिक भएको अडियोसँग मेल खान्छ कि खाँदैन भन्ने जाँच गर्नलाई उनको 'भ्वाइस टेस्ट' लिइने भएको हो । 

 मालपोत कार्यालय र भूमि समस्या समाधान आयोग प्रमुखमा अनुकूलका व्यक्तिलाई पदस्थापन गराएर लिची बगानको जग्गा हडप्ने प्रपञ्च रचेको गिरोहका लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग गरेको घूस ‘डिल’ को अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

पूर्वमन्त्री गुप्ता र उनीसँग घूस ‘डिल’ गर्ने लामासँग अख्तियारले मंगलबार बयान थालेको छ । दुवै जनाको आवाज पनि परीक्षणका लागि ‘रेकर्ड’ गराइएको अख्तियारले जनाएको छ । केही दिनअघि सार्वजनिक भएको अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँदा सक्कली पुष्टि भएको अख्तियारका एक अधिकारीले जानकारी दिए ।

पूर्वमन्त्री श्रेष्ठलाई पनि अडियोमा सुनिएको आवाजसँग मेल खान्छ/खाँदैन भनेर दोहोरो परीक्षणका लागि बोलाइएको ती अधिकारीले बताए ।

*यसअघि यो समाचारमा प्रकाशित तस्विर प्रतिलिपि अधिकार ऐन विपरित भएकाले परिवर्तन गरिएको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully