What you should know
काठमाडौँ — घूस प्रकरणमा मुछिएपछि सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्ताले आफूलाई मुछेको विषय भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले थाहा नभएको बताएका छन् । मन्त्री अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा गुप्ताले आफ्नै हिसाबले बोलेको प्रतिक्रिया दिएका छन् ।
बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्ति गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन मन्त्री गुप्तासँग आग्रह गरेको यसअघि सार्वजनिक अडियोमा थियो ।
उक्त अडियोमा बिचौलिया भन्छन्, ‘मन्त्रीज्यू, त्यो बलराम (भूमि व्यवस्थामन्त्री) लाई भनिदिनू न २० म बुझाइदिउँला खेमका लागि ।’ मन्त्री गुप्ताले जवाफ दिन्छन्, ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन ।’ यसै सन्दर्भमा सोधिएको प्रश्नमा मन्त्री अधिकारीले भने, 'पूर्वमन्त्री मसम्म आउनु भएको पनि छैन । उहाँले हाम्रा कर्मचारीहरू सार्दा हामीसँग सोध्नुपर्छ भनेर भनेको होला । पूर्वमन्त्रीले आफ्नै इच्छाले बोल्नुभयो होला । मसँग आउनु पनि भएको छैन । यो गर्दे पनि भन्नु भएको छैन ।'
मन्त्री अधिकारीले आफ्नो चरित्र हत्या गर्न आफूलाई विवादमा तानिएको दाबी गरे ।
पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि तत्कालीन मन्त्री गुप्ता, बिचौलिया पुरुष र एक महिलाबीच कुरा भएको ९ मिनेट १३ सेकेन्डको अडियो सार्वजनिक भएको थियो । गुप्ताले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।
