भूमिमन्त्री अधिकारीले पनि ३२ लाख घूस बुझेको दाबीसहितको अडियो सार्वजनिक

एमालेका नेतासमेत रहेका बिचौलिया सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घूस रकम लिएको दाबी

श्रावण १, २०८२

कान्तिपुर संवाददाता

Land Minister Adhikari also released an audio claiming to have received a bribe of 32 lakhs

काठमाडौँ — भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूस बुझेको दाबी गरिएको अर्को अडियो सार्वजनिक भएको छ । एमालेका स्थानीय नेतासमेत रहेका बिचौलिया सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घूस रकम लिएको दाबी अडियोमा गरिएको छ । 

बुधबार सार्वजनिक भएको अडियोमा घूस लेनदेन र ‘सेटिङ’ मा मन्त्री अधिकारीका छोरा मनोज, भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलसमेत संलग्न रहेको भनिएको छ । बिचौलिया लामाले विभिन्न व्यक्तिसँग गरेको संवादको अडियोमा तत्कालीन सचिव पोखरेलले पाँच लाख घूस बुझेको उल्लेख गरिएको छ । घूस बुझेका भनिएका व्यक्तिहरूको आवाज भने अडियोमा सुनिँदैन । 

अडियोमा बिचौलिया लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्थामन्त्री अधिकारी, सचिव पोखरेललगायतले लिएको घूस, मन्त्री र सचिवको पोखरा भ्रमण व्यवस्थापन र अन्य गरेर डेढ करोड खर्च भएको भनेका छन् । मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीमार्फत भूमि व्यवस्थामन्त्री अधिकारीले जेब्राको झोलामा पैसा बुझेको लामाको भनाइ अडियोमा सुनिन्छ । 

‘रामचन्द्रलाई जेब्रा झोलामा ३२ लाख रुपैयाँ दिएको हो, नोट नम्बर सबै टिपेर । उसले लगेर बुझायो । मैले ट्रस्ट मनोजलाई गर्ने हो । मनोज साथी हो, मनोजले पुष्टि गर्‍यो, हो भन्यो । रामचन्द्रले बुझाएकै हो भन्ने थाहा छ किनकि म आफैं बाइकमा थिएँ । उसलाई भित्र पठाएँ, म बाहिर थिएँ । ऊ मन्त्री क्वार्टरबाट खाली आयो । उसले मन्त्री क्वार्टरको दुलोमा लुकाएन होला,’ लामाले अडियोमा भनेको सुनिन्छ । 

न्युजिल्यान्डमा बस्ने मनोज हाल नेपालमा नै रहेको र घूसको ‘सेटिङ’ मा संलग्न भएको आरोप अडियोमा लगाइएको छ । बुबा मन्त्री बनेपछि उनी नेपाल आएको भनिएको छ । प्रकाश दाहाल, आर्यन शर्मालगायतका बिचौलिया समूहले मन्त्री अधिकारी र उनका छोरा मनोज पोखरा पुगेको बेला प्रभावमा पारेर पैसाको चलखेल गरी मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा गरेको अडियोमा भनिएको छ । रामचन्द्रलाई कास्कीबाट लमजुङ सरुवा गरिएको थियो । 

अडियोमा बिचौलिया लामाले मन्त्री अधिकारीसँग भेट भएको दाबी गरेका छन् । ‘हिजो भूमिमन्त्रीसँग भेटघाट भएको थियो मेरो । तपाईं किन पहिल्यै नआएको ? तपाईंको नाममात्रै सुनेको हो मैले सुजन भाइ, तपाईं त मेरा सबै भाइहरूसँग नजिक, तपाईं त मेरो परिवार जस्तै रहेछ, तपाईं पहिला किन मसँग भेट्न आउनुभएन ? तपाईंले खेम पुन कि खेम पुन भनी अडान लिएको भए, यै कुरा पाँच दिन अगाडि भनेको भए म खेम पुनलाई गरिदिन्थें भनेर मन्त्रीले अनिल मरासिनीका अगाडि भन्नुभयो मलाई,’ अडियोमा लामाले भनेका छन् । 

एमालेका स्थानीय नेता खेमबहादुर पुनलाई भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्ष नियुक्त गर्नका लागि बिचौलिया लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग कुरा गरेका थिए । त्यति बेलाको छलफलमा पूर्वभूमि व्यवस्थामन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी सांसद रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन् ।

यसअघि सार्वजनिक अडियोमा भूमि व्यवस्थामन्त्री अधिकारीले अर्कैबाट पैसा खाइसकेकाले कास्की भूमि आयोगको अध्यक्षमा खेम पुनलाई नियुक्त नगर्ने गुप्ताले भनेको सुनिन्छ । ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन,’ गुप्ताले अडियोमा भनेका थिए । बिचौलिया लामाले भने पुनलाई नियुक्ति गर्नका लागि भूमि व्यवस्थामन्त्री अधिकारीलाई २० लाख बुझाइदिने प्रतिबद्धता गरेका थिए । 

घूस ‘डिल’ को अडियो सार्वजनिक भएपछि गुप्ताले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्री अधिकारीमाथि भने अनुसन्धान तथा छानबिन केही भएको छैन । घूस लेनदेनको उजुरी परेको २० दिनपछि अख्तियारले अघिल्लो अडियो परीक्षणका लागि भन्दै अख्तियारले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाएको छ । मन्त्री अधिकारीले भने घूस लेनदेनमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । उनले प्रतिनिधिसभा बैठकमा सोमबार भनेका थिए, ‘जुन औंलामा विष लाग्छ, त्यही औंलो झर्छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully