प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक, घूस संवाद गर्ने मन्त्री गुप्ता पनि सहभागी

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Cabinet meeting at the Prime Minister's residence, Minister Gupta who discussed bribes also participated

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार साँझ साढे ७ बजेपछि मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । 

बैठकमा बिचौलियासँग घूसको संवाद गर्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि सहभागी छन् । उनलाई प्रधानमन्त्री ओलीले सोमबार बिहान बालुवाटार बोलाएर घूस संवादबारे सोधपुछ गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको थियो । 

मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ताको विषय घूस संवादको विषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् । 

ओलीले घूस संवादबारे स्पष्ट विषय राख्नका लागि मन्त्री गुप्तालाई निर्देशन दिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । तर, प्रधानमन्त्रीले घूसको संवाद गरेको मन्त्री गुप्ताको अडियो सार्वजनिक भएको तीन दिन बित्दासमेत बर्खास्त गरेका छैनन् । 

मन्त्री गुप्ता, बिचौलिया पुरुष र एक महिलाबीच कुरा भएको ९ मिनेट १३ सेकेन्डको अडियो सार्वजनिक भएको थियो । बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्ति गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन मन्त्री गुप्तासँग आग्रह गरेको अडियोमा सुनिन्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully