काठमाडौँ — भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूस बुझेको दाबी गरिएको अर्को अडियो सार्वजनिक भएको छ ।
बुधबार सार्वजनिक भएको उक्त अडियोमा एमालेका स्थानीय नेतासमेत रहेका बिचौलिया सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घूस रकम लिएको दाबी गरिएको छ । अडियोमा घूस लेनदेन र ‘सेटिङ’ मा मन्त्री अधिकारीका छोरा मनोज, भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलसमेत संलग्न रहेको भनिएको छ ।
बिचौलिया लामाले विभिन्न व्यक्तिसँग गरेको संवादको अडियोमा तत्कालीन सचिव पोखरेलले पाँच लाख घूस बुझेको उल्लेख गरिएको छ । घूस बुझेका भनिएका व्यक्तिहरूको आवाज भने अडियोमा सुनिँदैन । अडियोमा बिचौलिया लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्थामन्त्री अधिकारी, सचिव पोखरेललगायतले लिएको घूस, मन्त्री र सचिवको पोखरा भ्रमण व्यवस्थापन र अन्य गरेर डेढ करोड खर्च भएको पनि बताएका छन् ।
अडियोमा मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीमार्फत भूमि व्यवस्थामन्त्री अधिकारीले जेब्राको झोलामा पैसा बुझेको लामाको भनाइ सुनिन्छ । लामाले अडियोमा भनेको सुनिन्छ , ‘रामचन्द्रलाई जेब्रा झोलामा ३२ लाख रुपैयाँ दिएको हो, नोट नम्बर सबै टिपेर । उसले लगेर बुझायो । मैले ट्रस्ट मनोजलाई गर्ने हो । मनोज साथी हो, मनोजले पुष्टि गर्यो, हो भन्यो । रामचन्द्रले बुझाएकै हो भन्ने थाहा छ किनकि म आफैं बाइकमा थिएँ । उसलाई भित्र पठाएँ, म बाहिर थिएँ । ऊ मन्त्री क्वार्टरबाट खाली आयो । उसले मन्त्री क्वार्टरको दुलोमा लुकाएन होला,’
न्युजिल्यान्डमा बस्ने मनोज हाल नेपालमा नै रहेको र घूसको ‘सेटिङ’ मा संलग्न भएको आरोप अडियोमा लगाइएको छ । बुबा मन्त्री बनेपछि उनी नेपाल आएको भनिएको छ । प्रकाश दाहाल, आर्यन शर्मालगायतका बिचौलिया समूहले मन्त्री अधिकारी र उनका छोरा मनोज पोखरा पुगेको बेला प्रभावमा पारेर पैसाको चलखेल गरी मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा गरेको अडियोमा भनिएको छ । रामचन्द्रलाई कास्कीबाट लमजुङ सरुवा गरिएको थियो ।
अडियोमा बिचौलिया लामाले मन्त्री अधिकारीसँग भेट भएको दाबी गरेका छन् । ‘हिजो भूमिमन्त्रीसँग भेटघाट भएको थियो मेरो । तपाईं किन पहिल्यै नआएको ? तपाईंको नाममात्रै सुनेको हो मैले सुजन भाइ, तपाईं त मेरा सबै भाइहरूसँग नजिक, तपाईं त मेरो परिवार जस्तै रहेछ, तपाईं पहिला किन मसँग भेट्न आउनुभएन ? तपाईंले खेम पुन कि खेम पुन भनी अडान लिएको भए, यै कुरा पाँच दिन अगाडि भनेको भए म खेम पुनलाई गरिदिन्थें भनेर मन्त्रीले अनिल मरासिनीका अगाडि भन्नुभयो मलाई,’ अडियोमा लामाले भनेका छन् ।
