बैरेनी र बेल्खुस्थित त्रिशूली किनारमा दुइटा शव फेला

असार २४, २०८२

पोषनाथ अधिकारी

Two dead bodies were found on the banks of Trishuli in Baireni and Belkhu

मलेखु — धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन्। दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाइँदै गरिएको एउटा शव पनि नदीले बगाएको छ। शव दाहको बेला अकस्मात् आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा यही असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरिएको छ।

पोषनाथ अधिकारी

Link copied successfully