भोटेकोशी बाढी : उद्धार र राहतमा जुट्न नेता-कार्यकर्तालाई माओवादी अध्यक्ष दाहालको निर्देशन

असार २४, २०८२

कान्तिपुर संवाददाता

Bhotekoshi Flood: Maoist Chairman Dahal instructs leaders-activists to join rescue and relief efforts

काठमाडौँ — भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनामा पुर्‍याएको क्षतिप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहालले दु:ख व्यक्त गर्दै उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् ।

'प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार, राहत  र बेपत्ताको खोजीका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु। साथै, हाम्रो पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशित गर्दछु,' दाहालले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकतामा उनले जोड दिएका छन् । 'म सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघसंस्था र नागरिकहरूलाई यो संकटको घडीमा एकजुट भएर कार्य गर्न अपिल गर्दछु,' उनले भनेका छन् ।

कान्तिपुर

Link copied successfully