देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ — मौसमजन्य विपद्को उद्धारका लागि सरकार हाई अलर्टमा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपद् व्यवस्थापन विभागलाई हाई अलर्टमा राखेको बताएका छन् ।
उनले सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवक र उद्धार उपकरणसहित तैनाथी अवस्थामा रहेको जानकारी गराएका छन् ।
विपद् सम्भावित क्षेत्रमा खटिएका सुरक्षा निकायका सम्पर्क नम्बरहरु सार्वजनिक गरिएकाले सूचना समन्वयका लागि सम्पर्क गर्न अनुरोधसमेत गरेका छन् ।
यस्तै उनले सामाजिक सञ्जालमार्फत् त्रिशूलीलगायत देशका विभिन्न नदीहरूको जलसतह बढेको भन्दै आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेकाले सबैलाई सुरक्षित रहन उनले अपिल गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, 'त्रिशूली नदी लगायत केही नदीहरूको जलसतह बढेका समाचारहरू आएका छन्। जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔँ।'
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको चीन सीमाको मितेरी पुल बगाएको छ भने कैयौं सवारीसाधन पनि बगेका छन् । यस्तै नुवाकोटको त्रिशूली नदीको बाढीमा फसेका २ जनाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
भोटेकोशीको बाढीमा परी अहिलेसम्म ६ जना चिनियाँ नागरिकसहित ३ जना प्रहरीलगायत १८ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी छ ।
