रसुवा बाढी : ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

असार २४, २०८२

उपेन्द्रराज पाण्डेय

Rasuwa flood: 18 people missing including 3 policemen and 6 Chinese nationals

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । 

नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । साथै भन्सार यार्डमा रहेका केही मालवाहक कन्टेनर डिब्बा बगाएको प्रहरीले जनाएको छ । त्यस्तै  टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । त्यहाँ रहेका केही ईभीहरूसमेत बगाएको छ । रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको प्रहरीको भनाइ छ । 

नदीमा पानीको बहाव भएकाले स्थानीय नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

उपेन्द्रराज पाण्डेय १० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल इकान्तिपुरमा सहायक वरिष्ठ उप-सम्पादकका रूपमा कार्यरत छन् ।

Link copied successfully