इजरायलबाट नेपाली डाक्टरको उद्धार

असार ९, २०८२

होम कार्की

Rescue of Nepali doctor from Israel

काठमाडौँ — इजरालयमा छोटो समयको लागि अध्ययन गर्न पुगेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. प्रेनित पोखरेललाई सोमबार उद्धार गरिएको छ ।

इजरायल र इजिप्टस्थित नेपाली दूतावासको समन्वयमा डा. पोखरेललाई उद्धार गरी इजिप्ट ल्याइएको हो । उनलाई लिन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल इजरायल र इजिप्टको इलात–तावा नाकामा पुगेका थिए । यो नाका इजिप्टको राजधानी कायरोबाट करिब ४२० किमी टाढा छ । 

उनलाई इजिप्टको सर्म अलि शेख सहरस्थित सर्म अलि शेख अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार काठमाडौं पठाइने भएको छ ।

‘म बिहान ७:३० बजे तेलअभिभबाट बसबाट यात्रा गरेको हो । इजिप्टको बोर्डरमा आउन ५ घण्टा लाग्यो । बोर्डर पार गर्न एक घण्टा लाग्यो । मलाई इजिप्टको सीमा पार गर्न समस्या भएन । दूतावासको समन्वयले सहजै एक्जिट र प्रवेश पाइयो,’ डा. पोखरेलले कान्तिपुरलाई भने,‘मलाई कुनै असहज भएन ।’

उनले उद्धारको लागि भूमिका खेल्ने इजरायल र इजिप्टस्थित नेपाली दूतावासलाई धन्यवाद दिएका छन् ।

इजिप्टका नेपाली राजदूत लम्सालले यो उद्धारबाट सिकाइ भएको बताए । ‘यो पहिलो उद्धार हो । यसले हामीलाई इजरायलबाट आउने नेपालीलाई उद्धारमा सहजीकरण गर्न सक्ने बाटो खुलेको छ,’ राजदूत लम्सालले भने,‘जो नेपाली उद्धार चाहनुहुन्छ, हामीलाई पूर्वजानकारी हुनुपर्छ ।’ 

इरान-इजराइल युद्ध

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully