परराष्ट्र मन्त्रालयमा फाराम दर्ता गरेका ८ सय ४५ नेपालीमध्ये ३५ जना स्वदेश फर्कन इच्छुक
काठमाडौँ — इजरायलमा रहेका नेपाली स्थलमार्ग हुँदै आउन चाहेमा जोर्डन र इजिप्टले प्रवेश अनुमति दिने भएका छन् ।
जोर्डन मामिलासमेत हेर्ने जिम्मेवारी पाएका इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले इजरायलमा रहेका नेपाली पूर्वअनुमति लिएर तोकिएको बिन्दुबाट प्रवेश गर्न सक्ने बताए ।
इरान र इजरायलबीचको युद्ध चर्किएपछि उद्धार खोजेका नेपालीलाई प्रवेश दिन नेपालले इजिप्ट र जोर्डन सरकारसँग अनुरोध गरेको थियो । ‘हामीले सबै प्रबन्ध मिलाइसकेका छौं,’ राजदूत लम्सालले भने, ‘जो नेपाली इजरायल छोड्न चाहनुहुन्छ । उहाँको पूरा विवरण सम्बन्धित देशलाई पठाउँछौं । त्यो देशले अनुमति दिएपछि सीमा क्षेत्रमा जान सकिनेछ ।’
लम्सालका अनुसार इजिप्ट बोर्डरबाट प्रवेशका लागि एक नेपाली चिकित्सकले प्रवेश अनुमति पाइसकेका छन् । ‘उहाँलाई इजिप्ट प्रवेशका लागि अनुमति दिइसकेको छ । अब छिट्टै इजिप्ट आएर नेपाल जाँदै हुनुहुन्छ ।’ इजरायलबाट जोर्डनको सेश हुसेन ब्रिज र वादी अरवा बोर्डरलाई खुला गरिएको छ । जसमध्ये सबैभन्दा बढी वादी अरवाको बिन्दुबाट गइरहेका छन् । इजिप्टतर्फ भने इलात–तावा नाका खुला गरिएको छ ।
राजदूत लम्साल इजरायल र इजिप्टको सीमा बिन्दु इलात–तावा नाकाबाट आउन सक्ने नेपालीको व्यवस्थापन गर्न इजिप्टको सर्म अलि शेख सहरमा पुगेका छन् । यहाँ सर्म अली शेख अन्तर्राष्ट्रिय विमानस्थल छ । यो राजधानी कायरोबाट करिब ५ सय किलोमिटर पूर्वमा पर्छ । यो विमानस्थलमा पुग्न इजरायलको सीमाबाट झन्डै ५ सय ५३ किमि टाढा पर्छ । ‘अहिले हामी यहाँ स्थानीय व्यवस्थापन गर्न सर्म अली शेख सहरमा छौं । यो सम्भावित उद्धारका लागि पूर्वतयारी हो,’ लम्सालले भने,‘यस्तै तयारी जोर्डनमा पनि भइरहेको छ ।’
इजरायलमा झन्डै ५ हजार ५ सय नेपाली कार्यरत छन् । परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इजरायलबाट उद्धार चाहिने नेपालीका लागि सम्भव भएसम्म सबै तयारी भइरहेको बताए । ‘इजरायलमा रहेकामध्ये ८ सय ४५ नेपालीले परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको फाराम दर्ता गरेका छन् । त्यसमध्ये ३५ जनाले मात्रै नेपाल फर्कने चासो राखेका छन्,’ प्रवक्ता क्षेत्रीले भने, ‘परराष्ट्रमा २४ सै घण्टा सेवा दिने गरी र्यापिड रेस्पोन्स टिम छ । यसले घटनालाई नियालिरहेको छ ।’ परराष्ट्रले नेतृत्व गरेको यो टिममा श्रम, कानुन, पर्यटन र गृह मन्त्रालयका सहसचिव छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार इजरायलमा रहेका नेपाली पहिचान गर्न श्रम संसार पोर्टल लागू गरिएको छ । उनले उद्धारका लागि नेपाल र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखिएको बताए । ‘सरकार इजरायलमा रहेका नेपालीको सुरक्षामा सचेत र गम्भीर छ । यसका लागि सबै विकल्प खुला गरिएको छ । नेपालीलाई पठाउनुपरे इजरायलले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ,’ उनले भने, ‘इजरायलमा काम गर्ने नेपालीले सहयोग माग्नासाथ सरकारले उद्धार अप्रेसन कार्यान्वयनमा ल्याउनेछ ।’
गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले नेपाली दूतावास र नेपाली श्रमिकबीच समन्वय भइरहेको बताए । ‘यहाँको अवस्था पहिलाको तुलनामा धेरै गुणा संवेदनशील छ । सबै अलि बढी होसियार भएर बस्नुपर्ने अवस्था छ,’ उनले भने । उनका अनुसार तुरुन्तै उद्धार भएर नेपाल फर्कन चाहिने नेपाली कोही पनि सम्पर्कमा आएका छैनन् । ‘यहाँ काम गर्ने नेपाली सबै एकअर्कासँग नियमित सम्पर्कमा छन् । सबै सचेत देखिन्छन् । तर, डराएर तुरुन्तै फर्किने पक्षमा देखिँदैनन्,’ उनले भने, ‘हामी अझै पर्ख र हेरको अवस्थामा छौं ।’
