तेहरान — इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागअनुसार इरानले कहिल्यै आत्मसमर्पण नगर्ने बताएका छन् ।
ट्रम्पले संयुक्त राज्य अमेरिकाले खामेनी कहाँ लुकेका छन् भन्ने अमेरिकालाई थाहा भएको र चाहेमा उनको हत्या गर्न सक्ने दाबी गर्दै इरानले तत्काल ‘बिनासर्त आत्मसमर्पण’ गर्नुपर्ने बताएको केही घन्टापछि इरानी सवोच्च नेता खामेनीको उक्त प्रतिक्रिया आएको हो ।
इजरायलले शुक्रबार ठूलो बम बारी अभियान चलाएपछि इरानले क्षेप्यास्त्र र ड्रोनमार्फत जवाफी कारबाही सुरु गरेको थियो ।
'यो राष्ट्रले कहिल्यै आत्मसमर्पण गर्ने छैन,' खामेनीले सरकारी टेलिभिजनमा गरेको लिखित सम्बोधनमा ट्रम्पको अल्टिमेटमलाई ‘अस्वीकार्य’ सर्त भनेको छ ।
'कुनै पनि सैन्य हस्तक्षेपले अपूरणीय क्षति पुर्याउँछ भन्ने कुरा अमेरिकाले बुझ्नुपर्छ,' उनले भने ।
सन् १९८९ देखि सत्तामा रहेका र इरानका सबै राज्यका मामिलाका अन्तिम मध्यस्थ खामेनीले यसअघि नै इरानले इजरायली नेताहरूप्रति कुनै दया नदेखाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
तेहरान नजिकै इरानको आणविक कार्यक्रमका लागि ‘सेन्ट्रिफ्युज कम्पोनेन्ट’ बनाउने दुई वटा भवनलाई इजरायली आक्रमणले ध्वस्त पारेको संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकाय आइएइएले पुष्टि गरेपछि खामेनीले इरान अमेरिकासँग नझुक्ने बताएका हुन् ।
