काठमाडौँ — कांग्रेस नेता आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिन सुरु, संसद्मा रास्वपाको अवरोध, राप्रपाको बहिष्कार, बैठकमै सांसदले च्याते बजेट पुस्तिका, पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश, समाचार हटाउन दिइएको आदेश खारेज, इजरायली अस्पतालमा इरानले गर्यो आक्रमणदेखि सोह्र वर्षमुनिको राष्ट्रिय क्रिकेट टोली घोषणासम्मका खबर आज चर्चामा रहे ।
०००
बम विस्फोट भएको प्रमाण मेटाउन घाइतेलाई जिउँदै इँटाभट्टामा फालेको कसुरमा जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद आफताब आलमलगायतलाई दिएको जन्मकैदको फैसलालाई उल्ट्याउने न्यायाधीशहरु खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन सुरु भएको छ । परिषद् स्रोतका अनुसार न्यायाधीशद्वयलाई बिहीबारदेखि इजलासमा बस्नबाट रोक लगाउँदै उनीहरुलाई सर्वोच्चमा हाजिर हुन बोलाइएको हो ।
०००
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाले विरोध जारी राखेका छन् । भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै उनीहरूले संसद्मा विरोध जारी राखेका हुन् । त्यसैगरी आज बिहीबार प्रतिनिधिसभा बैठकमै सांसद अम्मरबहादुर थापाले बजेट पुस्तिका च्यातेका छन् । नेकपा एसका सांसद थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन पुस्तक च्यातेका हुन् ।
०००
पत्रकार दिलभूषण पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ । न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले उक्त आदेश दिएको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर डटकम र विजमाण्डु डटकमविरुद्ध दायर गरेको निषेधाज्ञाको निवेदन पनि काठमाडौँ जिल्ला अदालतले खारेज गरिदिएको छ । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले निषेधाज्ञाको निवेदन खारेज गरेको हो ।
०००
इरानले इजरायली अस्पतालमा मिसाइल आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार अस्पतालमा ठूलो क्षति हुनुका साथै कैयौं घाइते भएका छन् । इरानले आफ्ना मिसाइलद्वारा सिधै अस्पताललाई नै निशाना बनाएको इजरायलको आरोप छ ।
०००
मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताका लागि बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । यही असार ८ देखि २१ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
