काठमाडौँ — प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाले विरोध जारी राखेका छन् । भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै उनीहरूले संसद्मा विरोध जारी राखेका हुन् ।
रास्वपा सांसदहरू बिहीबारको बैठकमा वेल घेराउमा रहे पनि नाराबाजी भने गरेका छैनन् । यसअघि बैठकमा भने उनीहरूले नाराबाजीसमेत गरेका थिए । मंगलबारको बैठकमा रास्वपा सांसद निलो रिबन भिरेर विरोधमा उत्रिएका थिए । राप्रपाले भने बिहीबार पनि संसद् बैठक बहिष्कार गरेको छ ।
बिहीबारको बैठकमा रास्वपा सांसद हरि ढकालले मानव तस्करविरुद्धको आफूहरूको आन्दोलन जारी रहेको बताए । उनले सरकारले लाखौँ नेपाली ठगिएको विषयमा आन्दोलित हुँदा पनि नजरअन्दाज गरेको उनको आरोप छ । उनले संसद्मा गृहमन्त्रीले जवाफ दिनेक्रममा आफूमाथि लागेका आरोपको खण्डन र जवाफ दिने नभई भुइँमान्छेका आवाजमाथि कटाक्ष गरेको समेत आरोप लगाए ।
विरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभालाई कार्यसूचीमा लगेका छन् । मंगलबारको बैठक भने अवरोध भएको भन्दै उनले कार्यसूचीमा लगेका थिएनन् ।
