काठमाडौँ — चालु आर्थिक वर्षको १० महिनामा १४ खर्ब ७४ अर्बको आयात, २ खर्ब १७ अर्बको निर्यात, एमाले मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा दायर, सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिको सिफारिस, टोखामा प्रहरीले गोली चलायो, २ जना लागूऔषध कारोबारी नियन्त्रणमादेखि टिकटक स्टार खाबी लामेलाई भिसा विवादबीच अमेरिकाले गर्यो देशनिकालासम्मका खबर आज चर्चामा रहे ।
0000
चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिमा करिब ६।७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८१र८२ को दश महिनामा कुल वस्तु निर्यात ७२।७ प्रतिशतले वृद्धि भई २ खर्ब १७ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३।६ प्रतिशतले कमी आएको थियो ।
0000
भवन निर्माणमा अनियमितताको आरोपमा सत्तारुढ एमाले मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीसहितलाई प्रतिवादी बनाएर मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ठाकुरसहित १७ जनाविरुद्ध सजाय माग दाबी गरिएको छ । ठाकुर धनुषा ३९२० बाट निर्वाचित सांसद हुन् ।
0000
न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । परिषद्को मंगलबारको बैठकले सर्वोच्चमा रिक्त चार न्यायाधीशमध्ये तीन जनाको सिफारिस गरेको हो । परिषद्ले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सिफारिस गरेको छ । सिफारिसमा परेकाहरुलाई संवैधानिक परिषद्ले नियुक्तिको अनुमोदनका लागि संसदीय सुनवाइ समितिमा लेखी पठाउनेछ । समितिले अनुमोदन गरेपछि उनीहरु नियुक्त हुनेछन् ।
0000
लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले टोखामा दुई जना लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको हो । ब्युरोका सूचना अधिकारी एसपी जनकबहादुर शाहीका अनुसार गोली लागेका दुवै जना भारतीय नागरिक हुन् । दुवै जनालाई उपचारका लागि प्रहरी अस्पताल लगिएको छ ।
0000
विश्वमै सबैभन्दा धेरै फलोअर्स भएका टिकटक स्टार खाबी लामेलाई अमेरिकी सरकारले 'स्वेच्छिक देशनिकाला' अर्थात् 'भोलुन्टरी डिपोर्टेसन'मा पठाएको छ । नेभाडाको लास भेगासमा रहेका बेला २५ वर्षीय लामेलाई अमेरिकी अध्यागमन तथा भिसासम्बन्धी समस्याका कारण तत्काल अमेरिका छाड्न लगाइएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
